२१ असार २०८३, आइतबार

दैलेख बस दुर्घटना: बेपत्ता यात्रुको खोजीमा सोनार क्यामेरासहित गोताखोर परिचालन

असार २०, २०८३
काठमाडौं
दैलेख बस दुर्घटना: बेपत्ता यात्रुको खोजीमा सोनार क्यामेरासहित गोताखोर परिचालन

 दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीको अत्याधुनिक उपकरणसहितको गोताखोर टोली परिचालन गरिएको छ।

असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङगेतडास्थित कर्णाली राजमार्गबाट नदीमा खसेको थियो। दुई दिनसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्दा पनि गाडी र बेपत्ता यात्रु फेला नपरेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रविधियुक्त गोताखोर टोली खटाइएको हो।

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको टोलीले सोनार क्यामेरा, चुम्बक (म्याग्नेट) लगायतका उपकरण प्रयोग गरी खोजी गरिरहेको छ। साथै हेलिकोप्टर, ड्रोन र अर्को गोताखोर टोलीसमेत परिचालन गरिएको छ।

दुर्घटनामा पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवाको मृत्यु भएको पुष्टि भएको छ। मेखे तिरुवा, सिर्जना खड्का, चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी तथा फोर्स गाडी अझै बेपत्ता छन्।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका करिब १०० जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा परिचालित छन्। तीव्र बहाव, बढ्दो जलसतह र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्