२४ असार २०८३, बुधबार

सीमा सुरक्षा र तस्करी नियन्त्रणमा गृहमन्त्रीको चासो, विराटनगरमा स्थलगत अनुगमन

असार २०, २०८३
काठमाडौं
सीमा सुरक्षा र तस्करी नियन्त्रणमा गृहमन्त्रीको चासो, विराटनगरमा स्थलगत अनुगमन

गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था, तस्करी नियन्त्रण तथा प्रशासनिक सेवा प्रवाहको अवस्था बुझ्न शनिबार मोरङका विभिन्न सरकारी कार्यालय र सीमा नाकाको स्थलगत अनुगमन गरेका छन्।

गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय, एकीकृत जाँच चौकी (आईसीपी) तथा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै सुरक्षा अधिकारीसँग छलफल गरेका हुन्।

निरीक्षणका क्रममा उनले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन अवलोकन गर्दै एकीकृत सेवा सञ्चालनको सम्भावनाबारे सुझाव दिए। साथै, प्रमुख जिल्ला अधिकारी युवराज कटेलबाट जिल्लाको सुरक्षा अवस्था, प्रशासनिक सेवा प्रवाह र समग्र वस्तुस्थितिबारे जानकारी लिए।

प्रदेशस्तरीय सुरक्षा अधिकारीसँगको छलफलमा सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन र समसामयिक सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो। रानी–जोगवनी सीमा नाकामा आवतजावत, निगरानी प्रणाली तथा चोरी–तस्करी नियन्त्रणका उपायबारे पनि उनले सम्बन्धित निकायसँग छलफल गरे।

भन्सार क्षेत्रको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सीमाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले प्रहरी हिरासत, ब्यारेक तथा अन्य भौतिक संरचनाको निरीक्षण गर्दै आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिए।

मोरङको निरीक्षणपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ प्रस्थान गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्