२८ जेठ २०८३, बिहीबार
सिरियलका चर्चित पात्र

‘काकु’ले मेरा अरु परिचय छोपिदियो

पुस २१, २०८०
काठमाडौं
‘काकु’ले मेरा अरु परिचय छोपिदियो

दीपक आचार्य भनेर सोध्यो भने कतिपयलाई अन्यौल हुन सक्छ । ‘काकु’ भनेपछि उनलाई नचिन्ने भने कमै होलान् । चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’का चर्चित पात्र हुन् ‘काकु’ । यो पात्रको लोकप्रियताले दीपकका अन्य परिचयलाई भने छोपिदिएको छ ।

जस्तो कि, उनी ‘सक्किगोनि’का श्रृङ्खला निर्देशकसमेत हुन् । चलचित्रमा समेत अभिनय गरेका दीपकले विभिन्न जनचेतनामूलक भिडियोहरू लेखन एवं निर्देशन गर्दै आएका छन् । म्युजिक भिडियो निर्देशकका रूपमा त उनको अलग्गै पहिचान छ । 

दुई दशकअघिदेखि निर्देशनमा होमिएका उनले दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका छन् । 

उनलाई भिडियो निर्देशकका रूपमा पहिलोपटक चिनाउने काम भने प्रमोद खरेलको गीत ‘चल बतास चल’ले गरेको थियो । आशिष सचिनको सुपरहिट गीत ‘एक कान दुई कान मैदान’को भिडियो पनि दीपककै निर्देशनमा तयार भएको हो । 

यो भिडियोलाई झण्डै ५ करोडले हेरेका छन् । ३ वर्षअगाडि रमेश प्रसाइँको स्वरमा सार्वजनिक ‘रिङ्की बुङको राँगोलाई’ गीतको भिडियो दीपककै निर्देशनमा बनेको हो । 

एक समय जनजिब्रोमा झुण्डिएको तर पछिल्लो पुस्ताले बिर्सिएको गीतलाई फेरि ल्याइएको थियो । गीत हिट भएसँगै यसको दोस्रो भागसमेत सार्वजनिक भइसकेको छ । 

प्रमोद खरेलको ‘झुमा झुमा’, बसन्त सापकोटाको ‘पोखरेली झापाली’लगायत उनले निर्देशन गरेका​अरु पनि थुप्रै म्युजिक भिडियोहरू चर्चित छन् । उनी कथा बोकेका भिडियो निर्देशनमा समेत रुचाइएका निर्देशकमा पर्छन् ।

null

यद्यपि, आफ्ना अनेक परिचयलाई ‘काकु’को लोकप्रियताले छोपेको दीपक स्वयंम स्वीकार्छन् । भन्छन् – ‘म भद्रगोलबाट काकु पात्रका रूपमा देखिन थालेका हुँ । त्यसअघि मैले धेरै काम गरे पनि मलाई दर्शकमाझ चिरपरिचित बनाएको यही क्यारेक्टरले हो । मेरा अरु परिचयलाई यसले छोपिदिएको छ ।’ 

‘भद्रगोल’मा रहँदा जन्मिएको ‘काकु’ पात्रलाई ‘सक्किगोनि’मा निरन्तरता दिइएको छ । त्यसअघि दीपकले ‘हिजो आजका कुरा’, ‘मेरी बास्सै’लगायत सिरियलमा काम गरिसकेका थिए । ‘काकु’ पात्र अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’लगायत टिमसँग धेरै छलफलपश्चात जन्मिएको दीपक बताउँछन् । पात्रमार्फत् चिनिन पाउँदा खुसी व्यक्त गर्ने उनी  ‘भद्रगोल’ र हालको ‘सक्किगोनि’ टिमलाई धन्यवाद दिन्छन् ।

आफूहरू टिममा छलफल गरेर काम गर्दै आएको उनले बताए । टिमवर्कका कारण नै ‘सक्किगोनि’ सिरियल दर्शकमाझ प्रिय बनेको उनको बुझाइ छ । सिरियलमा दीपक आफ्नो वास्तविक उमेरभन्दा पाको उमेरको भूमिकामा देखिँदै आएका छन् । 

‘काकु’ गाउँको एउटा चल्तापुर्जा पात्र हो । गाउँलेले गन्ने मान्ने पात्र हो । कथाअनुसार उसको पात्रले एकातर्फ गाउँको फटाहा ‘पाँडे’को फट्याइँ रोक्नु परिरहेको देखिन्छ । अर्कोतर्फ, ‘जिग्री’जस्तो गाउँको बेकामे पात्रले छोरी उठाइदेला कि भन्ने चिन्ता पनि छ । हालसालै पात्रको गेटअपमा भेटिएका उनले ‘काकु’ बन्दा कहिलेकाहीँ आफूलाई चौकीदार जस्तो महसुस हुने गरेको सुनाए । 

पात्रको ड्रेस लगाइसकेपछि सोही पात्रकै महसुस हुनुपर्ने उनी बताउँछन् । उनले आफ्नो मात्र नभइ सिरियलका अधिकांश पात्र समाज भित्रकै प्रतिनिधि पात्र भएको बताए । ‘यी हाम्रो समाजकै पात्र हुन्’ उनले भने, ‘हरेक समाजमा फटाहा पनि हुनसक्छन् । त्यहाँ जिग्रीजस्ता प्रतिनिधि पात्र पनि हुनसक्छन् । सिरियल हेर्दा दर्शकहरूले पनि आफ्नो गाउँ–ठाउँका कुनै न कुनै पात्रहरूसँग रिलेट गर्नुहुन्छ जस्तो लाग्छ ।’

salt training

कमेन्ट गर्नुहोस्