२७ जेठ २०८३, बुधबार
संयमता गुमाउँदै प्रहरी

सीडीओ–प्रहरी समन्वय अभावमा जथाभावी गोली, ढल्दै निहत्था नागरिक

पुस २३, २०८०
काठमाडौं
सीडीओ–प्रहरी समन्वय अभावमा जथाभावी गोली, ढल्दै निहत्था नागरिक

नागरिकलाई सुरक्षा प्रदान गर्ने जिम्मेबारी पाएको नेपाल प्रहरीकै गोलीबाट एक साताको बीचमा ३ जनाको ज्यान गएको छ ।

पछिल्लोपटक शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका– ५ मा स्वस्थ्यचौकी स्तरोन्नतिको विषयमा विवाद भएर तनावको स्थिति आउँदा प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भयो । उनको शव आइतबार बल्ल घटनास्थलबाट उठाइएको छ । अहिले पोस्टमार्टमका लागि लगिएको छ ।

स्थानीय प्रशासनले शुक्रबार साँझ ५ः३० बजेदेखि शनिबार बिहान ८ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । पछि आइतबार बिहानसम्मका लागि थपियो ।

शनिबार गृह मन्त्रालयले घटना छानबिनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

साथै, मृतक परिबारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय समेत भएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तानिएका छन् । 

गोली चलेको विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीबीच समन्वयको अभाव देखिन्छ । जिल्ला प्रशासनले गोली चलाउन आफूहरूले आदेश नदिएको बताउँदै आएको छ ।

‘हामीले गोली चलाउन आदेश दिएका छैनौं, कसरी गोली चलेको हो भन्ने विषयमा अनुसन्धान हुँदैछ,’ सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले लोकान्तरसँग भने ।

घिमिरेका अनुसार मृतक जयशंकरको टाउकोमा गोली लागेको छ । 

सामाजिक सञ्जालहरूमा आएको  भिडिओमा प्रहरीले परैबाट गोली हानेको स्पष्ट देख्न सकिन्छ । तर, प्रहरीले भने हतियार खोस्न आएपछि गोली चलाउनु परेको बताउँदै आएको छ ।

‘थप मद्दत जाँदा बाटो छेकेर हतियार खोस्न लाग्दा प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियार थारूले लोकान्तरसँग भने ।

प्रहरीले भीड नै नभएको ठाउँमा ताकेर गोली हानेको देखिएको भिडियोबारे जिज्ञासा राख्दा पञ्जियारले अर्कै ठाउँको भिडियो हुन सक्ने बताए ।

‘सामाजिक सञ्जालमा आएको भिडिओ प्रहरीले भीडलाई तिरबितर पारेपछिको वा घटनास्थलकै अर्को ठाउँको पनि हुन सक्छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ डीएसपी पञ्जियारले भने ।

टाउकोमै गोली कसरी लाग्यो भन्ने प्रश्नमा उनले प्रहरीले टाउकोमा गोली नै नहान्ने बताए । ‘प्रहरीले टाउकोमा गोली हान्दैन, हाने पनि खुट्टामा हान्छ,’ उनले भने । 

डीएसपी पञ्जियारले यो अनुसन्धानको विषय भएको बताए ।

‘यो अनुसन्धानको विषय हो । प्रहरीले नै हानेको गोलीले मृत्यु भएको भन्ने यकिन भएको छैन र अरू हतियार भेटिएको अवस्था पनि छैन,’ पञ्जियारले लोकान्तरसँग भने ।

****

केही दिनअघि पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा तथा गोली चलाउँदा २ जनाको ज्यान गएको थियो ।

ईपीएस कोरिया भाषा परीक्षाको विषयमा विद्यार्थीहरूले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउनुका साथै अत्यधिक बल प्रयोग गरेको थियो ।

त्यसक्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भयो । 

घटनामा कमजोरी भएको भन्दै गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको थियो । 

प्रहरीका फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएओलाई पनि निलम्बन गरिएको छ । 

तत्कालीन सीडीओले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका थिए । 

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले १६ गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएर गोली चलाउन आदेश नदिइएको बताए ।

सामान्यतया प्रहरीले भीड नियन्त्रण गर्नका लागि पहिले चेतावनी दिने, पानी फोहोरा प्रयोग गर्ने, अश्रुग्यास प्रयोग गर्ने लगायतका प्रक्रिया अवलम्बन गर्नुपर्छ । त्यसपछि मात्र हवाइफायर गर्न सकिन्छ । तर, पछिल्ला दुई घटना हेर्दा प्रहरीले सिधै गोली प्रहार गरेको देखिन्छ ।

प्रहरी भने अवस्था नियन्त्रणभन्दा बाहिर जाँदा गोली चलाउने अधिकार आफूहरूसँग रहेको बताउँछ । 

‘सार्वजनिक सम्पत्ति हानीनोक्सानी हुँदा प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाउनु पर्ने अवस्था आउँछ,’ प्रहरी प्रधान कार्यालयका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने ।

आदेशविना गोली चलाएको विषयमा विभिन्न समितिहरू बनेर अनुसन्धान भइरहेकाले थप बताउन नसक्ने एसएसपी कार्कीको भनाइ छ ।

प्रहरीले संयमता अपनाएनः विज्ञ 

प्रहरीले घटनाको आकलन गर्न नसक्दा गोली चलाउनुपर्ने अवस्था आएको विज्ञहरू बताउँछन् ।

पूर्व एआईजी नवराज ढकालले पछिल्लो समय प्रहरीले संयमता गुमाउन थालेको टिप्पणी गरे । 

‘नागरिकको ज्यान गएको छ । प्रहरीले भीडमा संयमता गुमाएको देखिन्छ । त्यसरी गोली चलाइहाल्ने अवस्था थियो कि थिएन भन्ने अनुसन्धान हुनुपर्छ,’ पूर्वएआईजी ढकालले भने ।

प्रहरीले अहिले छाती ताकेर गोली हान्नुपर्ने परिस्थिति नरहेको पूर्व गृहसचिव आत्मराम पाण्डे बताउँछन् । प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच समन्वय अभाव देखिएको उनले बताए ।

‘गोली नै हाल्नु पर्ने अवस्था होइन, यहाँ प्रहरी र प्रशासनबीच समन्वयको अभाव देखिएको छ,’ पूर्व गृहसचिव पाण्डेले लोकान्तरसँग भने । पछिल्ला दुई घटनाको सूक्ष्म अध्ययन गरेर त्यस्ता घटना दोहोरिन नदिनेतर्फ लाग्नुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्