
संसारभर सयौँ थरिका च्याउ पाइन्छन् । सब्जीको राजा भनेर चिनिएको च्याउ धेरैको प्रिय तरकारी पनि हो । घरमा मात्र होइन होटल र रेस्टुरेन्टमा पनि च्याउका थरिथरिका परिकार पाक्ने गर्छन् । च्याउबाट मासुका भन्दा धेरै परिकार बनाउन सकिन्छ । यसैले शाकाहारीका लागि च्याउ एक उत्तम विकल्प हुन्छ । यहाँ चर्चा गर्न लागिएको चाहिँ च्याउहरूको राजा मानिने ‘किङ ओएस्टर’को हो । यो च्याउ नेपालमा पछिल्लो समय रुचाइएको छ । लामो समय भण्डारण गर्न सकिने हुँदा यो च्याउ अन्य सब्जीको तुलनामा सबै हिसाबले राजा मानिएको विज्ञहरूको तर्क छ ।
च्याउ स्वास्थ्यका हिसाबले पनि अत्यधिक स्वास्थ्यबद्र्धक मानिन्छ । यसको व्यवसायिकता पनि उत्तिकै फैलिएको छ । पाँचतारे होटलदेखि रेस्टुरेन्ट र घर–घरमा यो च्याउको माग बढ्दो छ । पूर्णरुपमा अर्गानिक तबरबाट खेती गरी उत्पादन गरिने च्याउ शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन उपयोगी मानिन्छ ।

ब्रेस्ट र पोस्टेट क्यान्सरबाट बचाउनदेखि पुरुषको यौन क्षमता बढाउनसमेत किङ ओएस्टर च्याउ उपयोगी रहने विज्ञहरूको भनाइ छ । औषधीय गुणले भरिपूर्ण यो च्याउ मोटोपन घटाउन पनि राम्रो सब्जी मानिन्छ । मधुमेहदेखि मुटुरोग र ट्युमरका रोगीलाई यो च्याउ नियमित रुपमा सेवन राउन सके फाइदा गर्छ ।
प्रोटिन, फाइबर, पोटासियम, आइरन र फस्पोरसदेखि जिन्कसम्म भरिपूर्ण रूपमा रहेको यो च्याउका सयौँ परिकार बनाएर पस्कन सकिन्छ ।
के–के परिकार ?
किङ ओएस्टर च्याउबाट सयौँ स्थानीय स्वाद र अन्तर्राष्ट्रिय स्वादमा समेत परिकार तयार गरेर पस्कन सकिन्छ । लोकल स्वादमा यो च्याउको छोइला सबैभन्दा मन पराइएको परिकारमध्ये एक हो । यो परिकार होटल–रेस्टुरेन्टको शाकाहारी मेनूको उपल्लो दर्जामा राखिए धेरैको प्रिय परिकार हो ।
यो च्याउबाट साधेको च्याउ, डामेको च्याउ, झानेको च्याउ, तरकारी, टिमुरे च्याउ, च्याउको मःम, च्याउको थुप्पा, च्याउको चाउमिन, च्याउको सुप, च्याउ सेकुवालगायत कयौँ परिकार बनाउन सकिन्छ ।
यस्तै अन्तर्राष्ट्रिय स्वादमा मटर पनिर, खुम्बका सोर्बा, हट गार्लिक च्याउ, सते च्याउ पाकचोय, ओएस्टर गार्लिक च्याउ, हुनान तोफु च्याउ, सेज्वाना च्याउ,
त्यस्तै साम्बल च्याउ, ब्लेकबिन च्याउ, च्याउ मन्चुरियन, च्याउ डिमसम, च्याउ स्टप बाओ र च्याउ कोङपाउ बनाउन सकिन्छ ।
यसैगरी केन्टुनिज च्याउ, मंगोेलियन च्याउ, हङकङ स्टाइल च्याउ, क्रिमी च्याउ सुप, फ्रेन्च च्याउ प्राउन थर्मिडोर, च्याउको क्यानपी, च्याउ टिक्की, च्याउ टिक्का, चिज च्याउ क्रुकेट, च्याउ पिज्जा, च्याउ पास्ता, चिज स्टप च्याउ, बार्बिक्यू च्याउ, च्याउको सलादलगायत सयौँ आइटम तयार गरेर पस्कन सकिन्छ ।