११ साउन २०८३, सोमबार

ठूला सहकारीको अनुसन्धान गर्न सहकारी विभागले गुहार्‍यो राष्ट्र बैंक

माघ ११, २०८०
काठमाडौं
ठूला सहकारीको अनुसन्धान गर्न सहकारी विभागले गुहार्‍यो राष्ट्र बैंक

सहकारी विभागले ठूला सहकारीको अनुसन्धान गर्न नसक्ने भएपछि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।  

संघअन्तर्गत रहेका ९ वटा सहकारीका बचतकर्ता धेरै भएपछि वित्तीय अनुसन्धान र विश्लेषणका लागि राष्ट्र बैंकलाई लेखेर पठाएको विभागका प्रवक्ता टोलराज उपाध्यायले बताए । 

‘हामीले ठूला सहकारीको अनुसन्धान गर्नका लागि राष्ट्र बैंकलाई पत्रचार गरेका छौं,’ प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने, ‘५० करोडभन्दा माथि कारोबार हुने सहकारीको अनुसन्धान राष्ट्र बैंकले गर्न पाउने सहकारी ऐनमा व्यवस्था छ ।’

विभागले पशुपति सहकारी, शिवशिखर सहकारी, गौतमश्री सहकारी, लालीगुँरास सहकारी, कान्तिपुर सहकारी, हाम्रो कृषि सहकारी, यमुना आइडल सहकारी लगायतको अनुसन्धान गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । उनीहरूका सदस्यको संख्या र कारोबार रकम धेरै भएपछि त्यसको अनुसन्धान गर्न विभागले नसक्ने भएको हो । 

कतिपय सहकारीको बैंकभन्दा पनि धेरै कारोबार हुने भएकाले विभागलाई अनुसन्धान गर्न अप्ठ्यारो परेको हो । विभागले एक साताअगाडि पत्रचार गरेको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार सहकारी ऐन–२०७४ अनुसार पत्र पठाइएको हो । 

विभागका प्रवक्ता उपाध्यायका अनुसार राष्ट्र बैंकले ५० करोडभन्दा माथिका सहकारीलाई स्वतः नियमन गर्नुपर्ने कानूनी आधार हुँदाहुँदै पनि सो काम नगरेकाले पत्र लेखेको दाबी गरे ।

‘राष्ट्र बैंकलाई ५० करोडभन्दा माथिका सहकारीलाई स्वतः नियमन गर्न पाउने अधिकार छ, तर राष्ट्र बैंकले नगरेपछि लेखेर पठाएका हौं,’ प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने । 

उनका अनुसार राष्ट्र बैंकले ती ९ वटा सहकारीको वित्तीय अवस्थाको अनुसन्धान र विश्लेषण गरेर विभागलाई पठाउने छ । त्यसको आधारमा विभागले थप प्रक्रिया चाल्नेछ । अहिले विभागले दैनिक ३० देखि ४० वटा सहकारीको उजुरी प्रदेश र स्थानीय तहमा पठाउने गरेको छ । 

‘हामीले दैनिक ४० वटासम्म सहकारीका उजुरी प्रदेश र स्थानीय तहमा पठाउने गरेका छौं । सहकारीको सबै अधिकार विभागलाई भएको बुझाइका कारणले जिल्लाबाट पनि यहाँ आउने गर्नुहुन्छ । ती सबै उजुरी उहाँहरूलाई बुझाएर सम्बन्धित निकायमा पठाउने गरेका छौं,’ प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने । 

उनकाअनुसार अहिले विभागले संघअन्तर्गतका सहकारीको गुनासो सुन्ने र त्यसका लागि छलफल गर्ने/गराउने काम गरिरहेको दाबी छ ।​

salt training

कमेन्ट गर्नुहोस्