
अभिनेता सलिनमान बनियाँले फिल्ममा कमब्याक गर्ने भएका छन् ।
फिल्म ‘यात्रा’ रिलिजको करिब ५ वर्षपछि उनले ठूलो पर्दामा कमब्याक गर्ने भएका हुन् । मंगलबार सलिनमानको मुख्य भूमिका रहने फिल्म युओजी (युनिभर्सिटी अफ गुण्डाज)को निर्माण घोषणा गरिएको छ ।
फिल्मको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिनमान र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ । ब्याग्राउण्डमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्व विद्यालयमा हुने गुण्डाराजलाई उठान गर्ने बुझ्न सकिन्छ ।
फिल्मको मुख्य भुमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भइसकेका छन् । यो फिल्म सलोनको होम प्रोडक्सन सलोन–सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ । सलिनमान र सलोनले ‘ए मेरो हजुर २’ र ‘यात्रा’पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।
फिल्म आगामी वैशाख वा जेठबाट फ्लोरमा जानेछ । फिल्मको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी बिस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ । फिल्ममा नाम चलेका निर्देशक नै रहने दाबी टिमको छ ।
पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिनमान र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा रहेको जनाएको छ ।