
माओवादीको ‘रूपान्तरण अभियान’ र एमालेको ‘संकल्प यात्रा’पछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि ‘समुदायमा कांग्रेस अभियान’अन्तर्गत देश दौडाहामा छ ।
६ हजार ७४३ वडाकेन्द्रित अभियानमा जनताका सुझाव सुन्ने, तीनै तहका सरकारको सेवा प्रवाह र विकास निर्माणको अवस्था बुझ्ने गरी कांग्रेसले माघ १६ देखि २६ गतेसम्मका लागि अभियान थालेको हो ।
जनताको मात्रै कुरा सुन्ने हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू राखिएको छैन । केन्द्रीय पदाधिकारी, केन्द्रीय प्रतिनिधिले जिल्ला पुगेर वडातहसम्मै प्रतिनिधि खटाएर अभियान गरिरहेका छन् ।
अभियानका क्रममा ललितपुरमा केन्द्रीय प्रतिनिधि भएर खटिएका जीवनबहादुर शाहीले ललितपुर नगरपालिका ४ का स्थानीयले पनि विकास र रोजगारी मागेको जानकारी दिए ।
‘शहरी एरिया भए पनि ललितपुरका स्थानीयको गुनासो र माग फरक छैन । ढल, व्यवस्थित बाटो, फूटपाथ र खानेपानीको माग ललितपुरका स्थानीयको देखियो । रोजगारी पाएनौं भन्ने पनि धेरैको गुनासो छ,’ शाहीले लोकान्तरसँग भने, ‘मुख्य गरी पार्टीसँग भन्दा स्थानीय तह र सरकारसँग नागरिकले धेरै अपेक्षा गरिएको देखियो ।’
कांग्रेसमा अन्य ठाउँमा सभापति र वडाध्यक्ष फरक व्यक्ति हुँदा समन्वय नभए पनि ललितपुर– ४ मा फरक व्यक्ति भए पनि मिलेर काम गरेको उनी बताउँछन् ।
खोटाङमा अभियानमा सक्रिय भइरहेका विष्णुकुमार राई आमनागारिकले प्रदेशभन्दा स्थानीय तहका कामलाई रुचाएको बताउँछन् ।
‘कोशी प्रदेशमा हाम्रै कांग्रेसको सरकार छ, तर सदरमुकाम जान क्रमागत बजेट नै कटौती गर्ने र विकासका योजनामा ढिलाइ गर्ने गरेको गुनासा धेरै आएका छन्,’ उनी भन्छन्, ‘स्थानीय तहबाट सोझै सेवा पाउँदा नागरिक खुशी छन् । तर, आफ्नै स्रोत नहुँदा सामान्य काम पनि गर्न पाइएन भन्ने गुनासो स्थानीय तहबाट पाएका छौं ।’
अरू जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइए पनि आग्रह गर्दा समेत खोटाङमा नपठाइएको उनी बताउँछन् ।

म्याग्दीमा केन्द्रीय प्रतिनिधि बनेर खटिएकी सीता देवकोटा पार्टीले प्रभावकारी प्रशिक्षण नराख्दा महिलाबाट गुनासो आएको बताउँछिन् । ‘महिला दिदीबहिनीहरूको मुख्य गुनासोचाहिँ पार्टीले प्रशिक्षण कार्यक्रम नै राखेन भन्ने छ,’ उनी भन्छिन्, ‘अरू पार्टीका नेताहरू फरर्र बोल्छन्, हाम्रो भने बोल्दा हात काम्छन्, प्रशिक्षण नपुगेर बोल्न सकिएन भन्ने छ ।’
धेरै कार्यकर्ताको गुनासो गुटबन्दीले पार्टी थिलथिलो भएको भन्ने रहेको उनी बताउँछन् ।
‘गाउँमा बसेका कार्यकर्ताले काम गरिरहेका छन् । कुनै गुनासो छैन,’ देवकोटा भन्छिन्, ‘तर गुटबन्दी गर्न खोज्नेले माथिदेखि प्रभावित र विभाजित बनाए भन्ने गुनासो धेरैको देखियो ।’
केन्द्रीय प्रतिनिधि बनेर रौतहटमा खटिएका अजयबाबु सिवाकोटी विकास निर्माणमा पक्षपात र भ्रष्टाचारका विषयमा सबैभन्दा धेरै कुरा उठेको बताउँछन् ।
‘तीनै तहका सरकारसँग नागरिकको गुनासा देखिएको छ । सरकारले विकास निर्माणमा पक्षपात गरेको, भ्रष्टाचार भएको, स्थानीय तहमा कांग्रेसले नै जितेको ठाउँमा समेत समन्वय नगरी काम गरेको भन्ने गुनासो उत्तिकै आएको छ,’ सिवाकोटी भन्छन्, ‘प्रदेशको काम लिएर आउने, उपभोक्ता समिति बनाउनेले ५ देखि १० प्रतिशत कमिसन खाने गरेकोसम्म सुनिए । हाम्रो अभियानबाट यस्ता विकृतिप्रति एउटा धारणा बनाएर अघि बढे धेरै ठाउँका यस्ता विकृति रोकिन्छन् ।’
मत मात्र दिनेको सुझाव कस्ता ?
पार्टी कार्यकर्ताभन्दा बाहिरका शुभेच्छुकले पार्टीमा लगाम नभएको तर्क गरेको सिवाकोटी बताउँछन् । ‘जितेर गएपछि ५ वर्ष चलिहाल्छ भन्ने धारणा रहेको पाइयो । पार्टीलाई मत मात्र दिएर सहयोग गर्नेले जितेर गएपछि कुनै लगाम नहुने र जे गरे पनि हुन्छ भन्ने देखिएको मतदाताले बताएका छन्,’ शिवाकोटी भन्छन्, ‘अरूले सत्ताका लागि मिसन– ८४ भनेका छन् । हामीसँग काम गरेर सुधारिने सत्ता आफैंसँग छ । यस्ता सुझावले जे गरे पनि हुन्छ भन्ने भइरहे पार्टी आगामी चुनावमा हार्न सक्छ भन्ने बुझ्नुपर्छ ।’
राम्रो काम गरे मिसन ०८४ भन्नै नपर्ने उनी बताउँछन् ।
‘यहाँ राम्रो भयो भने राम्रो काम गरे मिसन बनाउन पर्दैन । सत्ता जोगाउन मान्छेको अनुहारमा खुशी ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘भ्रष्टाचारमा मुख्य कुरा उठेपछि किन यस्तो भइरहेको छ, असन्तुष्टि र निराशाको कारण के हो भनेर पहिल्याउन सके यो अभियानले कांग्रेसलाई फाइदा गर्छ ।’
समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तततत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने पनि कांग्रेसको भनाइ छ ।
बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा अभियानलाई थप प्रभावकारी बनाउन खटिएकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना अभियानले पार्टीलाई ऊर्जा दिने बताउँछिन् ।

‘पार्टीले अभियान शुरू गरेपछि अहिलेसम्मका प्रतिक्रियाले पार्टीलाई ऊर्जा मिल्ने अवस्था देखिएको छ । यसपटक हामीले व्यवस्थित रूपमा वडा तहसम्मै पुगेर नागरिक सल्लाह, सुझाव र अपेक्षा बुझ्ने प्रयास गरिरहेका छौं,’ डिनाले लोकान्तरसँग भनिन्, ‘पार्टीको अभियानले अहिलेसम्म मान्छेलाई ऊर्जा आइरहेको पाएका छौं । नागरिकका नैराश्यता चिर्ने काम हामीले अभियानबाट गरिरहेका छौं । अभियानबाट फर्किएपछिको महासमिति बैठकपछि एउटा दृष्टिकोण बनाउन र पार्टीका निर्णयदेखि आफू सहभागी सरकारमा काम गर्न हामीलाई सहजता हुन्छ ।’
यस्ता सुझावलाई महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रूपमा लिने कांग्रेसले जनाएको छ । गत भदौ १० देखि २४ सम्म र गर्ने भनेको अभियानलाई शुरूमा पुस १६ देखि माघसम्म गर्ने भनियो । तर यो मितमा पनि नभएपछि कांग्रेसले मंगलबारबाट वडा केन्द्रित १० दिने अभियान शुरू गरेको हो ।
नेतामाथि नेताकै निगरानी, शीर्ष नेता को कहाँ खटे ?
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि कांग्रेसले जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि मात्रै खटाएको छैन, अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउन, समुदायको बीचमा पुग्न र संवाद गर्न शीर्ष नेताको फरक–फरक टोली पनि खटाएको छ । केन्द्रीय नेताले वडातहसम्म समन्वय गरेर काम गरिरहेका छन् कि छैनन् भन्ने बुझ्न कांग्रेसले यसरी प्रतिनिधि खटाएको हो ।
कोशी
कोशी प्रदेशका झापा र सुनसरीमा डा. शेखर कोइराला, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा डा. नारायण खड्का खटिएका छन् । मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुरमा बलबहादुर केसीलाई खटाइएको छ ।
मधेश
नेता प्रकाशमान सिंह मधेश प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा, बागमतीको सिन्धुली र मकवानपुरमा खटिएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा खटिएकी छिन् ।
बागमती प्रदेशका काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा डा. मीनेन्द्र रिजाल तथा ललितपुर, भक्तपुर, रामेछाप र दोलखामा पुष्पा भुसाल खटिएका छन् ।
गण्डकी
सहमहामन्त्री महेन्द्र यादव तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुरमा, प्रदीप पौडेल कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा खटिएका छन् ।
लुम्बिनी
विमलेन्द्र निधि रूपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा, डा. डिला संग्रौला, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासीमा खटिएका छन् ।
कर्णाली
डा. शशांक कोइराला दैलेख, सल्यान र सुर्खेतमा खटिएका छन् ।
सुदूरपश्चिम
सहमहामन्त्री भीष्मराज आङ्देम्बे कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुरमा खटिएका छन् । केही हिमाली र भूकम्प प्रभावित जिल्लामा कांग्रेसले अभियान राखेको छैन ।
झापादेखि कञ्चनपुरसम्म गगन थापाको संवाद यात्रा
समुदायमा कांग्रेस अभियान चलिरहेका बेला महामन्त्री गगन थापाले पनि झापादेखि कञ्चनपुरसम्म संवाद यात्रा गरिरहेका छन् । पार्टीले १६ देखि २६ माघसम्म वडाकेन्द्रित अभियान चलाइरहँदा थापाले दुई दिन अगाडिबाटै संवाद यात्रा शुरू गरेका हुन् ।
झापाको छोटी भन्सारबाट शुरू कार्यक्रम तराईका प्रत्येक जिल्लामा ५/५ वटा कार्यक्रम गर्दै कञ्चनपुरमा पुगेर सकिनेछ । पार्टीको अभियानसँगै जुधाएर थापाले पनि संवाद यात्रा कार्यक्रम राखेपछि पार्टीमा असन्तुष्टि देखिएको छ ।