
पाराग्वेका जादुमयी मिडफिल्डर मिगुएल आल्मिरोनले फिफा विश्वकपअन्तर्गत शनिबार बिहान इतिहासमै एउटा नचाहिँदो कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । खेलका दौरान मैदानभित्र गुडिरहेको बलबीच आफ्नो मुख छोपेकै कारण सिधै 'रेड कार्ड' (रातो कार्ड) पाएर मैदानबाट बाहिरिने उनी विश्व फुटबल इतिहासकै पहिलो खेलाडी बनेका हुन् ।
विश्वकपको समूह 'डी' अन्तर्गत टर्कीविरुद्ध क्यालिफोर्नियाको सान्टा क्लारामा भइरहेको खेलको पहिलो हाफको इन्जुरी समयमा आल्मिरोनले यो रातो कार्ड पाएका हुन् । फिफाको नयाँ नियमअनुसार मैदानभित्र कुनै पनि विवाद वा असमझदारीका बेला मुख छोपेर कुरा गरेमा सिधै रेड कार्ड दिने व्यवस्था गरिएको छ।
खेलमा पाराग्वे १–० ले अगाडि रहेको अवस्थामा आल्मिरोनले टर्कीका खेलाडी मर्ट मुल्दुरसँग कुरा गर्ने क्रममा केही बेरका लागि आफ्नो हातले मुख छोपेका थिए । मुल्दुरले तुरुन्तै आल्मिरोनले नियम उल्लङ्घन गरेको भन्दै रेफ्रीतर्फ इसारा गरे । त्यसपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको मोनिटरमा गएर संक्षेपमा भिडियो समीक्षा गरे र आल्मिरोनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। निष्कासनका कारण अग्रता लिइरहेको पाराग्वे पहिलो हाफको अन्त्यतिरै १० खेलाडीमा सीमित हुन पुग्यो ।
यसअघि खेलाडीहरूले आफ्नो हातले मुख छोपेर रंगभेदी वा समलिङ्गी विरोधी अपमानजनक टिप्पणीहरू गर्ने र प्रमाण नहुँदा सजिलै उम्किने गरेका थिए। यसै दुर्व्यवहारलाई रोक्न यस विश्वकपदेखि फिफाले यो नयाँ नियम लागू गरेको हो।
यो नियम बन्नुको पछाडि गत फेब्रुअरीमा खेलिएको च्याम्पियन्स लिगको एउटा खेल मुख्य कारण थियो। बेन्फिकाका विङ्गर जियानलुका प्रेस्टियानीले रियल म्याड्रिडका स्टार विनेसियस जुनियरतर्फ लक्षित गर्दै दुर्व्यवहार गर्दा आफ्नो जर्सीले मुख छोपेका थिए, जसले गर्दा अफिसियलहरूलाई उनले के भनेका थिए भन्ने कुरा प्रमाणित गर्न असम्भव भएको थियो।
प्रेस्टियानीले रंगभेदी गाली गरेको कुरा अस्वीकार गरे पनि पछि उनलाई समलिङ्गी विरोधी आचरणका लागि ६ खेलको प्रतिबन्ध (जसमा ३ खेल सस्पेन्डेड थियो) लगाइएको थियो। यसै घटनापछि फिफाले गत अप्रिलमा नयाँ नियम घोषणा गर्दै रेफ्रीहरूलाई मैदानमा विवादका बेला मुख छोप्ने कुनै पनि खेलाडीलाई सिधै रातो कार्ड दिने अधिकार दिएको हो।