
सिरहाको लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ ।
सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरेका छन् ।
नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ ।
लहान नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको मोतियाविन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।