२० असार २०८३, शनिबार
एक्सन-कटमा अभिनेता

‘स्टार अभिनेता’को निर्देशकीय यात्रा

माघ २०, २०८०
काठमाडौं
‘स्टार अभिनेता’को निर्देशकीय यात्रा

नेपाली फिल्ममा एक्सन अभिनेताका रुपमा अत्यधिक रुचाइएका निखिल उप्रेतीले ‘भैरव’ फिल्ममार्फत निर्देशनमा डेब्यू गरे ।

८ वर्षअघि प्रदर्शनमा आएको फिल्मको शीर्ष भूमिकामा उनी स्वयंमले अभिनय गरे । फिल्मलाई लिएर चर्चासमेत राम्रो भयो । यद्यपि फिल्मले व्यापार भने औसत मात्रै गर्‍यो ।

त्यसपछि निखिलले आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्म ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’ घोषणा गरे । फिल्मको छायांकन पनि शुरू भयो । तर छायांकन पूरा नहुँदै फिल्म रोकियो ।

नेपाली फिल्म क्षेत्रमा ‘एक्सन किङ’ भनेर चिनिएका निखिलले यतिबेला शिक्षाको विषयवस्तुमा केन्द्रित रहेर नयाँ फिल्म बनाउने तयारी गरेका छन् । 

null

आफ्नै कन्सेप्ट र लेखनमा बन्ने फिल्मलाई उनी स्वयंमले निर्देशन गर्ने सम्भावना बलियो रहेको निखिल बताउँछन् । अहिले फिल्म प्रि–प्रोडक्सनमा रहेको बताउँदै उनले बाँकी कुरा भने खुलाउन चाहेनन् ।

पछिल्लो समय आध्यात्मिक गतिविधिमा व्यस्त उनलाई दर्शकले फिल्ममा नदेखेको भने धेरै भइसकेको छ । ‘राधे’, ‘रुद्र’, ‘पिंजडा ब्याक अगेन’ जस्ता फिल्महरू असफल भएपछि उनी पर्दामा देखिएका छैनन् ।

एक्सन अभिनेताका रुपमा रुचाइएका अर्का अभिनेता विराज भट्टले ४ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’बाट निर्देशनमा डेब्यू गरे । नेपाली मात्र नभएर भोजपुरी फिल्ममा पनि निकै रुचाइएका विराजले आफ्नै शीर्ष भूमिकामा एक्सन जनरामा ‘साङ्लो’ बनाएका थिए । यो फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले समेत नेपाली रजतपटमा डेब्यू गरिन् । फिल्मलाई लिएर प्रदर्शनअघि चर्चा पनि राम्रै भयो । यद्यपि फिल्मले अपेक्षित व्यापार भने गर्न सकेन ।​​​​​

null

त्यसयता अन्य नेपाली फिल्ममा नदेखिएका उनले फेरि आफ्नै निर्माण र निर्देशनमा अर्को फिल्म बनाउने घोषणा गरेका छन् । 

‘१२ गाउँ’ नाममा निर्माण हुन लागेको उक्त फिल्ममार्फत विराजले आफ्नो छोरा समीर भट्टलाई नेपाली रजतपटमा डेब्यू गराउने घोषणा गरिसकेका छन् ।​

यतिबेला यो फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको विराजले बताएका छन् । उनले एक्सन जनरामा बनाउन लागेको यो फिल्मलाई आफ्नो करिअरकै महत्वकांक्षी प्रोजेक्टका रुपमा व्याख्या गरेका छन् ।

एक समय फिल्ममा रुचाइएका अर्का अभिनेता रमित ढुंगाना पनि निर्देशक बन्ने तयारीमा छन् । 

उनले आफ्नो निर्माण एवं निर्देशनमा बनाउन लागेको फिल्म ‘नमेटिने घाउ’को केही दिनअघि मात्रै घोषणा गरिएको छ । एसिड आक्रमण पीडितको कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहने निर्माण टिमले जानकारी दिएको छ । पूर्व प्रधानमन्त्री र सांसदले फिल्म खेल्ने खबरलाई लिएर पनि ‘नमेटिने घाउ’ थप चर्चामा छ ।

null

फिल्ममा रमितले केमियो भूमिकामा अभिनय समेत गर्नेछन् । केही दिनमा फ्लोरमा जाने  तयारीमा रहेको फिल्मको एसिड आक्रमण भएका ठाउँहरूमा नै छायांकन गरिने रमितले जानकारी दिए । 

उसो त निखिल, विराज र रमितभन्दा अघिल्लो पुस्ताका चर्चित अभिनेता भुवन केसी पछिल्ला वर्षमा निर्देशक पनि भए । ‘ड्रिम्स’ उनको निर्देशन रहेको फिल्म हो, जुन सफल मानिन्छ ।

निर्माताका रुपमा भने उनी पहिल्यैदेखि सक्रिय थिए । अर्का चर्चित अभिनेता राजेश हमालले आफ्नो निर्देशनमा फिल्म बनाउने भनेको धेरै वर्ष भइसक्यो । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि फिल्म निर्देशनमा जुट्ने उनको भनाइ थियो ।

null

उनले पहिलोपटक निर्देशनमा हात हाल्न लागेको कारण उक्त फिल्म कस्तो बन्ला भन्ने चासो र चर्चा फिल्मवृत्तमा छ । यद्यपि उनले निर्देशन गर्ने भनिएको फिल्मको काम भने अगाडि बढ्न सकेको छैन ।

निर्देशन आफूलाई अहिले पनि जटिल र जिम्मेवार विधा हो जस्तो लाग्ने राजेशले बताउँदै आएका छन् । सोहीकारण पनि उनले निर्देशनमा होमिइहाल्ने आँट नगरेको हुनसक्ने उनीनिकट रहेकाहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्