
सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो लेखन, निर्माण तथा निर्देशनमा चलचित्र ‘पार्वती’ बनाउने भएका छन् ।
जन्म दिनको अवसर पारेर शनिवार उनले चलचित्रको घोषणा गरेका हुन् ।
सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । यो चलचित्रमा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले ‘पार्वती’मा सामाजिक प्रेमकथालाई उठान गर्ने बताए ।
चलचित्रको टाइटल डिजाइनमा दुई युवतीको छायाँलाई देखाइएको छ । यो कथासँग मेल खाने र अर्थपूर्ण रहेको सुवेदीले बताए ।
चलचित्रको छायाँकन जेठ महिनामा गर्ने तयारी छ । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ ।
चलचित्रको वितरण श्रीराम बालाजी फिल्मका सुनील मानन्धरले लिएका छन् । नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने खुलाइएको छैन । ‘गाउँले केटी मो...’ स्लोगन दिइएको चलचित्र ‘पार्वती’ नारी प्रधान हुनेछ ।
चलचित्रमा गीत र निर्माण समेत सुवेदीकै रहनेछ । चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टरबाट तारिफ पाएका सुवेदीले उक्त चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने योजना रहेको बताए ।