
साहित्यका विभिन्न विधामा विशिष्ट योगदान गरेका स्रष्टाहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार अर्पण गरिएको छ ।
शनिवार आयोजित एक कार्यक्रमका बिच सुरभि साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार अर्पण गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले सभापतित्व गरेको कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्याएबापत प्रा डा ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको छ ।
यस्तै नेपाली आख्यान शिरोमणि रमेश विकलमाथि अन्वेषण, विश्लेषण र समालोचना गरेकोमा वरिष्ठ साहित्यकार गोपी मैनाली तथा हास्यसम्राट भैरव अर्यालका कृतिहरूको समग्र मूल्याङ्कन तथा विश्लेषणका लागि वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीलाई सम्मान अर्पण गरिएको छ ।
साथै विभिन्न विधामा विशिष्ट योगदान गर्ने स्रष्टाहरू वरिष्ठ कथाकार एवम् समालोचक प्रा डा गोविन्दराज भट्टराई, वरिष्ठ निबन्धकार प्रा डा माधव पोखरेल, वरिष्ठ कथाकार ध्रुव सापकोटा, वरिष्ठ कथाकार महेश प्रसाईँ, वरिष्ठ लघुकथाकार इन्द्रकुमार श्रेष्ठ सरित र वरिष्ठ महिला हस्ताक्षर ललिता दोषी एवम् वरिष्ठ साहित्यकार लीलाराज दाहाललाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तिको व्यक्तित्व तथा कृतित्वमाथि वरिष्ठ समालोचक युवराज मैनालीले प्रकाश पार्दै विशिष्ट साधकलाई सम्मान गर्दा सम्मानित व्यक्तिहरूमाथि न्याय गरिनुको साथै सुरभि साहित्य प्रतिष्ठानको गरिमा पनि बढेको कुरा उल्लेख गरे ।
यससैगरी गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले रमेश विकल तथा भैरव अर्यालको साहित्य भूमिमा उदाहरणीय काम गर्दै आएको र आउने दिनहरुमा पनि नगरमा रहेका सात वटै प्रतिष्ठानहरूलाई साहित्य सेवाका लागि सहयोग गर्दै जाने बताए । उनले छिटै राष्ट्रव्यापी साहित्य सम्मेलन गर्ने घोषणा पनि गरे ।
सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसेले सम्मानित एवम् पुरस्कृत स्रष्टाहरूको योगदानमाथि छोटो प्रकाश पार्दै आफूले वाङ्मय पुरस्कार स्थापनार्थ अक्षय कोष स्थापना गर्न आफ्ना तर्फबाट रु ७ लाख सुरभि साहित्य प्रतिष्ठानलाई प्रदान गरेको बताए ।

कार्यक्रममा अभिनन्दित प्रा डा ऋषिराम पोखरेल, सम्मानित गोपी मैनाली, प्रा डा माधव पोखरेल, प्रतिष्ठानका संरक्षक गोविन्द घिमिरे बेदमणिले पनि आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले यस प्रकारको पवित्र सेवा गर्न पाएकोमा प्रतिष्ठान गौरव महसुस गर्छ भन्दै अभिनन्दित, सम्मानित र पुरस्कृत वरिष्ठ स्रष्टाहरूलाई शुभकामना दिए ।
प्रतिष्ठानका सचिव साहित्यकार अच्युत घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरू नरेन्द्रराज पौडेल, कलानिधि दाहाल, हरिभक्त सिग्देल, वसन्त रिजाल, रामबहादुर पहाडी, मुना खनाल, रामकुमार पण्डित क्षेत्री, मेनुका पोखरेल, माधव दाहाल, रेशमबहावुर पाण्डे लगायत करिब दुई सय भन्दा बढी साहित्यकार र साहित्य प्रेमीको उपस्थिति थियो ।