
समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ ५ वर्षपछि दक्षिण कोरियामा गुञ्जिने भएको छ ।
गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गरेको ब्यान्डले अहिले दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको हो ।
आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले जानकारी दिए ।
नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने गायक राजु लामाको यो ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित र नयाँ गीतहरु प्रस्तुत गर्ने तयारी छ । ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौँ । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ म्यानेजर लामाले भने ।
३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘म माया लाउँदिन’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन् ।
