
पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाइन् । सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिइन् । गोरखापत्रमा खबर छ ।