
मोडल नीति शाहले आफ्नो डेब्यु फिल्म ‘खजुरे ब्रो’को छायाँकन सकेकी छन् ।
फिल्मको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको यसका कार्यकारी निर्माता डायमन्ड उप्रेतीले जानकारी दिए । ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक फिल्म हो । फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ । फिल्मको छायाँकन तोकिएकै समयमा सहज वातावरणमा सम्पन्न भएको निर्माण पक्षले जानकारी दियो । छायाँकनको क्रममा स्थानीयले ठूलो सहयोग गरेको निर्माता नवीन मानन्धरले बताए ।
दिव्यदृश्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा रहेको फिल्म ‘खजुरे ब्रो’को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । कमेडी जनराको फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन् । फिल्ममा नीतिसँगै रेयर राई, महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका छ ।
फिल्ममा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय छ । धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको फिल्ममा काम गरेका छन् । फिल्मलाई शिशिर बिसंखेको छायाँकन गरेका हुन् ।
जेठ महिनामा फिल्म प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।