
फाइल खोल्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाट विपक्षीलाई धम्की दिएकोमा एमालेले खेद व्यक्ति गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीको धम्की आपत्तिपूर्ण भएको बताएकी हुन् ।
‘अर्थमन्त्रीले कसलाई फाइल खोल्ने धम्की दिनुभएको छ ? पहिलो नम्बरमा गिरिबन्धु टी स्टेटको फाइल खोल्नुस्, ओम्नी, यति र वाइडवडीको फाइल खोल्नुस्,’ अर्यालले भनिन्, ‘धम्क्याउने कुरा खेदजनक छ ।’
अर्यालले विगतको बोझ नबोक्ने भनेर परराष्ट्रमन्त्रीले भारतमा दिएको अभिव्यक्ति पनि आपत्तिजनक रहेको बताइन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिका कारण हामीले आन्दोलन गरिरहेका छौं, बजेटका कारण संघर्षको रूप परिवर्तन गरेका हौं,’ अर्यालले भनिन्, परराष्ट्रमन्त्रीले भारतमा गएर इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्नुभएको छ । अतीतको बोझ बोक्न सक्दैनौं भनेर के भन्न खोज्नु भएको हो ?’
सरकार परिवर्तन हुँदैमा राष्ट्रको परराष्ट्र नीति परिवर्तन नहुने भन्दै उनले सरकारका मन्त्रीहरूको भनाइमा आपत्ति जनाइन् ।