
वरदान सैनिक विशेष दिवा विद्यालय सञ्चालनमा आएको छ ।
विद्यालयको प्रधानसेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले बुधवार संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततिहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको विद्यालयको स्थापना गरिएको सेनाले जनाएको छ ।
सैनिक श्रीमती संघको पहल तथा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित विद्यालयको २०७९ मङ्सिर १४ गते प्रधानसेनापति तथा श्रीमती संघकी अध्यक्षले नै शिलान्यास गरेका थिए ।
सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ ।
बुधवार आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलमा निर्मित विद्यालय बहालवाला र अवकाश प्राप्त सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततिहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकासमा महत्त्वपूर्ण साबित हुने बताए ।
विद्यालय सञ्चालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्याउने कलाकारहरूलगायत सम्बद्ध सबैलाई उनले धन्यवाद दिए ।
संघकी अध्यक्ष सुनिता शर्माले विपद् प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा संघले काम गर्दै आएको बताइन् ।
समुद्घाटन समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देलका साथै नेपाली सेना कल्याणकारी वोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अप्रा), रथीबृन्द तथा अधिकृतलगायत सैनिक श्रीमती संघका वर्तमान र पूर्व पदाधिकारीहरू, कलाकारहरू, विभिन्न सैनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका साथै सकल दर्जाको उपस्थिति थियो ।