
ललितपुरको महालक्ष्मी नगरपालिका– ३ इमाडोलमा पाँचौं तल्लाबाट हामफालेकी रविना महर्जनले आफन्तहरूलाई सुसाइड नोट समेत पठाएको खुलेको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार उनले आफ्ना माइती पक्ष र दिदीबहिनीलाई सुसाइड नोट पठाएकी थिइन् ।
‘रविनाले आफ्नो ह्यान्डराइटिङमा माइती पक्ष र दिदीबहिनीहरूलाई सुसाइड नोट पठाएको भेटिएको छ । उनले त्यो कुरा घटनास्थलमा भेटिएको सुसाइड नोटमा पनि लेखेकी छन्,’ ती अनुसन्धान अधिकृतले लोकान्तरसँग भने ।
उनले सुसाइड नोटमा आफूले बच्चाको हत्या गरेका समेत उल्लेख गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
‘मैले बच्चालाई छाडेँ भने झन् धेरै दुःख पाउँछन्, त्यसैले सँगै लिएर गएकी छु,’ सुसाइड नोटमा लेखिएको कुरा उद्धृत गर्दै ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने ।
उनले आफ्ना श्रीमान् लगायत परिवारका कुनै पनि सदस्यको दोष नभएको सुसाइड नोटमा उल्लेख गरेकी छन् । प्रहरीको अनुसन्धानमा रविना धेरै नबोल्ने खालको भएको पाइएको छ ।
‘रविना इन्ट्रोभट टाइपको महिला भएको देखिएको छ । उनी धेरै नबोल्ने र आफ्ना कुरा मनमै गुम्स्याउने खालको रहेको देखियो,’ अर्का एक अनुसन्धान अधिकारीले भने ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार रविनाको घरमा परिवारका सबै सदस्यहरू एकसाथ बस्ने गरेका छन् ।
सबैभन्दा माथिल्लो तल्ला अर्थात चौथो तल्लामा मृतकका सासूससुरा बस्दै आएका छन् ।
३ जना दाजुभाइ भएका उनीहरू जेठोको परिवार भएकाले तेस्रो तल्लामा, माइलाको परिवार दोस्रो तल्लामा र कान्छोका परिवार भुइँतल्लामा बस्दै आएका छन् ।
‘उनीहरूको परिवारका ३ जना दाजुभाइ क्रमशः माथिल्लो तल्लाबाट तल बस्दै आएको देखियो । सबैभन्दा माथिको २ वटा कोठामा बुवाआमा बस्दै आउनुभएको रहेछ,’ एसपी कार्कीले भने ।
उनका अनुसार रविनामा पहिला त्यस्तो कुनै मानसिक समस्या पहिचान भएको थिएन ।
‘उनले कुनै खालको औषधि सेवन गर्ने गरेको देखिएन,’ एसपी कार्कीले लोकान्तरसँग भने ।
उनका श्रीमान्ले ललितपुरमा साउन्ड सिस्टमको व्यापार गर्दै आएका छन् ।
रविनाले माघ २७ गते आफ्नो घरको पाँचौं तल्लाबाट हामफालेर आत्महत्या गरेकी थिइन् ।
उनले आफ्ना दुई सन्तान ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया छोरी रिवा महर्जनको हत्या गरेकी थिइन् । प्रहरीका अनुसार उनले तकियाले मुख छोपेर हत्या गरेको देखिएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा रविनाले सास फेर्न अप्ठ्यारो हुने गरी हत्या गरेको देखिएको छ । तर थप पुष्टि हुने गरी पोस्टमार्टम रिपोर्टमा आउला,’ एसपी कार्कीले लोकान्तरसँग भने ।