२२ असार २०८३, सोमबार

‘मोदीबेनी’मा नव अभिनेतासँग देखिँदै वर्षा शिवाकोटी

फागुन १५, २०८०
काठमाडौं
‘मोदीबेनी’मा नव अभिनेतासँग देखिँदै वर्षा शिवाकोटी

चलचित्र ‘मोदीबेनी’को शीर्ष भूमिकामा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गर्ने भएका छन् । फिल्मको छायांकनका लागि उनीहरू यसैसाता पर्वतको चित्रेतर्फ जाँदैछन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ । 

चलचित्रमा रहने हालको कथामा अमर र वर्षा प्रमुख भूमिकामा छन् । छायांकनमा नव–अभिनेतासँग जोडिन लागेकी वर्षाले अमरमा एक कलाकारमा हुनुपर्ने सबै गुण देखेको बताउँछिन् । ‘कार्यशालामा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु । एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु’, वर्षाले भनिन् । 

अमरको पहिलो चलचित्र भएता पनि यसको कार्यशालामा बोण्डिङ भइसकेको बताउँदै उनले छायांकनको समयमा नयाँजस्तो महसुस नहुने विश्वास लिइन् । वर्षाले नयाँ मेकर र नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर पाइने अनुभव राखिन् । 

नव अभिनेता अमरले आफ्नो मनपर्ने अभिनेत्री नै आफ्नो को–एक्टर बनेकोमा खुसी छन् । ‘वर्षाजी मलाई एकदमै मनपर्ने अभिनेत्री हुनुहुन्छ । आफ्नो फेवरेटसँगको कामबाट डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को–एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षा र मेरो अन–स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ’, उत्साहित मुद्रामा अमरले भने, ‘सँगै थोरै डर पनि लागिरहेको छ । यस चलचित्रका सबै कलाकारहरू प्रोफेसनल हुनुहुन्छ । उहाँहरूसँग काम गर्न पाउँदाको खुसी त छँदै छ, मैले अभिनय गर्ने पात्रबाट निर्देशकको सोचलाई पुरा गर्ने चुनौती रहेको छ । मेरो तर्फबाट भरपूर कोसिसमा छु । कहीँ कतै कमजोरी नहोस् भनेर चलचित्रको सबै कार्यशाला र तालिममा सहभागी भएको छु ।’ 

झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा अभिनयको लागि छायाङ्कनमा जान लागेकी अभिनेत्री वर्षाले यो चलचित्रको विषय उत्साहपूर्ण र नयाँ रहेकोले पर्वतमा पुगेर अभिनय गर्न उत्साहित रहेको बताइन् । 

शङ्कर कोइरालाले निर्देशन गर्ने यस चलचित्रमा अमर र वर्षासँगै सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई लगायतको अभिनय रहनेछ । 

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका हुन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माताका रुपमा छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्