
शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को एडभान्स बूकिङ खुलिसकेको छ ।
सौगात मल्ल स्टारर यो फिल्मले फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप बनाएको छ । सौरभ चौधरी निर्देशित फिल्मलाई देशका अधिकांश थिएटरले प्रदर्शनको पहिलो दिन उच्च शोज दिएका छन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाभित्र १५ शोज दिएको छ भने उपत्यकाबाहिर २९ शोज दिएको छ ।
यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शोज, बीग मुभिजले ३ शोज, एफक्यूबले ३ शोज, बीएसआरले ४ शोज, आइएनआई चेनले सबै हलमा गरेर १२ शोज दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शोज दिएका छन् । शोजको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोजहरु उपलब्ध गराएका छन् ।
फिल्मका लागि अभिनेता सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ । यो कुराले पनि फिल्मको चर्चा निकै चुलिएको छ ।
यस्तै अर्का अभिनेता नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।
फिल्ममा सौगात र नाजिरको एक्सन लुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र निश्चल बस्नेतको झलकले पनि फिल्मको महत्व बढाइदिएको छ । टिजर र ट्रेलरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले पनि चर्चा उत्तिकै पाइरहेको छ ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शोज, क्यानडामा १ सय ५० शोज, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्याण्डमा १ सय ५० शोज, अष्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शोज र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोजमा रिलिज हुने निर्माणपक्षले दाबी गरेको छ ।
फिल्मलाई ‘पीजि’ सर्टिफिकेट
फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ । यो सर्टिफिकेट पाएपछि १६ भन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ ।
फिल्मको बुधबार सेन्सर भएको थियो ।