
यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरू प्रस्तुत छन् । रेखा थापा, मुकुन भुषाल, समर्पणजंग कार्की, पूजा शर्मा, तेज गिरी, बेनिशा हमाललाई भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेत्री रेखालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । भिडियोमा उनको जोडीका रुपमा मुकुन भुसाल छन् ।
यो गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर छ । अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द इन्दिरा अधिकारीले कोरेकी हुन् । यस गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको ‘उपहार’मा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्याय लगायतका अन्य कलाकारको पनि अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
फिल्मको वितरण उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।