
दमौली–नेकपा (माओवादी) केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । सशस्त्र द्वन्द्वका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने शहीद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ पुस्तकको शनिवार विमोचन गरिएको हो ।
जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उक्त पुस्तकको विमोचन गरे । पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी समावेश गरिएको जनाइएको छ ।
माओवादी केन्द्र तमुवान राज्य समितिबाट प्रकाशित वासु सन्देश, स्थानीय शान्ति समितिबाट प्रकाशित शान्ति स्मारिका, सहिद र बेपत्ता योद्धाहरूको सम्भव भएसम्म घरै पुगेर परिवारसँग गरिएको कुराकानी र जानकारीका आधारमा पुस्तक प्रकाशन गरिएको कोइरालाले जानकारी दिए ।
पुस्तकमा सोतीवेशीका होमनाथ अधिकारी र गोमा अधिकारीका दुई छोरा भरतचन्द्र अधिकारी, गजेन्द्र अधिकारी, छोरी इन्दु अधिकारी र बुहारी कलावती अधिकारी गरी चार जनाको बलिदान भएको हृदयविदारक कथासमेत समेटिएको कोइरालाले बताइन् ।
पुस्तकलाई शहीद तथा बेपत्ता योद्धाहरूको जीवनीमात्र नभएर तनहुँ जिल्लाको जनयुद्धकालीन इतिहासका रूपमा लिन सकिने पुस्तकको प्रकाशकीयमा उल्लेख गरिएको छ । प्रकाशकीयमा भनिएको छ, ‘इतिहास आफैँमा एउटा नितान्त जटिल र कष्टसाध्य विधा हो, इतिहास लेख्ने काम सजिलो हुँदैन । यसका लागि निकै सुक्ष्म र गहन अध्ययनका साथमा लामो र कठोर तपस्या जरुरी हुन्छ ।’
तनहुँको जनयुद्धकालीन इतिहासलाई लिपिबद्ध गर्न शुरूआत गरिएको पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कम्युनिस्ट नेता मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतको शुभकामना सन्देश समावेश गरिएको छ ।
पुस्तक विमोचन गर्दै महासचिव गुरुङले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिए । शहीदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो । शहीदको सपना साकार पार्नु मुख्य कार्यभार रहेकाले त्यसतर्फ सरकार र पार्टीको ध्यान गएको उनले बताए ।
शुक्लागण्डकी नगरपालिका–५ निवासी कोइराला विसं २०७० मा संविधानसभा सदस्य बनेकी थिइन । उनी विसं २०७४ मा महिला तथा बालबालिकामन्त्री बनेकी थिइन् भने २०७४ सालमै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । –रासस