
नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर कार्गोको आयात/निर्यात शुल्क १० प्रतिशतले बढाएको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीद्वारा सञ्चालित एयर कार्गो बिल्डिङका अनुसार एयर कार्गो आयात/निर्यातको शुल्क बढाइएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रत्येक दुई/दुई वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि गर्ने विमानस्थल नियमावली अनुसार एयर कार्गो आयात/निर्यात शुल्क बढाइएको हो । वृद्धि भएको शुल्क यही चैत ४ गतेदेखि लागु हुने उनले बताए ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका अनुसार वृद्धि भएको शुल्क अनुसार साधारण मालसामान आयात गर्दा प्रतिकेजी सात रुपियाँ १२ पैसाका दरले न्यूनतम शुल्क १३३ रुपियाँ १० पैसा तोकिएको छ । त्यस्तै साधारण मालसामान निर्यातमा गर्दा प्रतिकेजी एक रुपियाँ ३३ पैसाका दरले न्यूनतम २६६ रुपियाँ २० पैसा शुल्क तोकिएको छ ।
त्यसै गरी बहुमूल्य मालसामानतर्फ आयात गर्दा प्रतिकेजी १० रुपियाँ ६५ पैसाका दरले न्यूनतम २६६ रुपियाँ २० पैसा लाग्ने छ । साथै निर्यातमा प्रतिकेजी तीन रुपियाँ ३३ पैसाका दरले न्यूनतम ३३२ रुपियाँ ७५ पैसा कायम हुने छ । नाशवान् मालसामानतर्फ आयात गर्दा प्रतिकेजी दुई रुपियाँ ६६ पैसा कायम गर्दै न्यूनतम २६६ रुपियाँ २० पैसा शुल्क लाग्ने छ । गोरखापत्रमा खबर छ ।