२६ असार २०८३, शुक्रबार
सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

सुन तस्करसँग महराको कनेक्सन : लजिस्टिक सपोर्टदेखि डस्टर गाडी उपलब्ध गराउनेसम्म

चैत ३, २०८०
काठमाडौं
सुन तस्करसँग महराको कनेक्सन : लजिस्टिक सपोर्टदेखि डस्टर गाडी उपलब्ध गराउनेसम्म
फाइल फोटो

​​सुन तस्करी गर्ने गिरोहसँग नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बलियो कनेक्सन देखिएको छ । सुन तस्करहरूसँग उनको पटक-पटक सम्पर्क भएको, लजिस्टिक सपोर्टदेखि विभिन्न ग्यादरिङमा समेत सामेल भएको पाइएको हो ।

सुन तस्करका नाइके दावा छिरिङलाई लजिस्टिक सपोर्ट गर्न जीवन गुरुङलाई महराले नै दबाब दिएको प्रतिवेदनमा उल्लेख गरिएको गृह स्रोतले बतायो ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । तस्करहरूलाई तस्करी गर्नका लागि पूर्वसभामुखसमेत रहेका महराले डस्टर गाडी नै तस्करहरूलाई प्रयोग गर्न दिएको खुलेको हो ।

महराको कल डिटेल रिपोर्ट (सीडीआर)बाट तस्करहरूसँग परस्पर लिंक देखिएको, डिजिटल फरेन्सिक ल्याब परीक्षण (डीएफएल)बाट पनि केही प्रमाणहरू फेला परेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक उनले तस्करहरूलाई लजिस्टिक सपोर्ट गरेको पाइएको छ ।

दावासँग पैसा लिएर जीवन गुरुङको नाममा डस्टर गाडी दर्ता गरी महराले उपलब्ध गराएको स्रोतको दाबी छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ ​प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनी पक्राउ परिसकेका छन् ।

गएको मङ्सिरमा फ्लाइ दुबईबाट आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा अनुसन्धानपछि गुरुङको संलग्नता देखिएको थियो ।

सुन तस्करीमा संलग्न यो गिरोहले तस्करी गर्ने सुन विमानस्थलको अध्यागमन क्षेत्रको शौचालयमा लुकाएर कर्मचारीको संलग्नतामा बाहिर ल्याउने गरेको थियो ।

यस प्रकरणमा चन्द्र घले र घलेले नाम लिएका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिसकेको छ । काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दा अझै पनि विचाराधीन छ ।

चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ भने सुन तस्करीका नाइके हुन् । विदेशी नागरिक भएपनि उनले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नेपाली नागरिकता लिएका थिए ।

धेरै पटक दावा सँगसँगै सीतापाइलाको घरमा, बाहिर होटल, रेस्टुरेन्टमा तस्करको समूहसँग बसेर महराले खानपिनसमेत गरेका प्रतिवेदनमा उल्लेख छ । महराले आफ्नो मोबाइलबाट भन्दा पनि छोरा निर्मल महराको मोबाइलबाट तस्करहरूसँग पटक पटक सम्पर्क गरेको विषय प्रतिवेदनमा उल्लेख गरिएको गृह स्रोतले लोकान्तरलाई बतायो ।

स्रोतका अनुसार महरालाई राज्यले निगरानीमा राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्