३२ असार २०८३, बिहीबार
स्वास्थ्यकर्मबाट मिलेको सन्तुष्टि

बाबुको बिँडो थाम्दै डाक्टर बनेकी अञ्जुः प्रसूतिसँगै प्रशासनमा पनि अब्बल

चैत ३, २०८०
विराटनगर
बाबुको बिँडो थाम्दै डाक्टर बनेकी अञ्जुः प्रसूतिसँगै प्रशासनमा पनि अब्बल

विराटनगरस्थित कोशी अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा दैनिक सयौँको संख्यामा बच्चा जन्मिन्छन् । त्यही विभागमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् डा अञ्जु देव । सधैँ व्यस्त रहने उक्त विभागमा उनी विभागीय प्रमुखका रुपमा विगत तीन वर्षदेखि कार्यरत छिन् । डा अञ्जुले हालसम्म हजारौं महिलाको प्रसूति गराइसकेकी छिन् । आफूले २५ हजारभन्दा बढी गर्भवतीको शल्यक्रियामार्फत बच्चा जन्माएको उनी बताउँछिन् ।

‘डेलिभरी कति गराएँ भन्ने यकिन तथ्यांक त मसँग छैन,’ उनले भनिन्, ‘तर मलाई लाग्छ मैले २० हजारभन्दा बढीलाई गराइसकेँ हुँदा । प्रसव वेदनाबाट बच्चा जन्माएपछि डा अञ्जुले जब आमाको मुहारमा खुसी देख्छिन्, तब उनको अनुहारमा पनि उस्तै खुसी छाउँछ । ‘बच्चालाई जन्म दिएपछि जब गर्भवती आमा खुसी हुन्छिन्, त्यो देख्दा सबैभन्दा बढी आनन्दित म नै हुन्छु,’ अनुभूति सुनाउँदै उनले भनिन् । 

कोशी अस्पतालको ७० शय्याको स्त्री तथा प्रसूति विभागका बिरामीको उपचारसँगै जनशक्ति व्यवस्थापन लगायतका काममा डा अञ्जुको कुशलता देखिन्छ । विभाग सम्हालेको तीन वर्षको अवधिमा उनले थुप्रै सुधारका काम अगाडि बढाएको सरोकारवालाहरूको विश्लेषण छ । सदैव केही नयाँ गर्ने हुटहुटी बोक्ने डा अन्जु आम मानिससम्म सहज रुपमा स्वास्थ्य सेवा पुगोस् भन्ने चाहन्छिन् । ‘आम मानिसको स्वास्थ्य सेवासँग सहज पहुँचलाई मैले केन्द्रमा राखेकी छु,’ उनी थप्छिन् । त्यही सहज पहुँचलाई ध्यान दिँदै उनले कोशीको गाइनो वार्डलाई थप स्तरोन्नति गरेको बताइन् ।

अण्डासयको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरमा क्यान्सरको कोशीमा उपचार भइरहेको डा अञ्जुले बताइन् । ‘क्यान्सरका चारवटा स्टेज हुन्छन् । पहिलो र दोस्रोको शल्यक्रिया गर्न मिल्छ । रेडियोथेरापी त यहाँ छैन । किमोथेरापी भने छ,’ ’ उनी भन्छिन्, ‘यहाँका क्यान्सरका चिकित्सकसँग समन्वय र सहकार्य गरेर हामीले उपचार गर्दै आएका छौं ।’ क्यान्सर अस्पतालमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई मात्र आफूहरूले रिफर गर्ने गरेको उनले बताइन् ।

पूर्वी नेपालका पहाड र तराई क्षेत्रमात्र नभएर छिमेकी देश भारतबाट आएका बिरामीको समेत उपचार गरेर डा अञ्जुले ख्याती कमाएकी छिन् । यसले उनको परिचय कोशी प्रदेशकै चर्चित स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा स्थापित गराएको छ । उनी बिरामीसँग सामिप्यको सम्बन्ध राख्न रुचाउँछिन् ।  

बुवाको डा अञ्जु ६ भदौ २०३३ मा काठमाडौंको वीर अस्पतालमा जन्मिएकी हुन् । उनका बुवा पनि डाक्टर नै थिए ।  बुवा डा योगेन्द्रप्रसाद देव र आमा उषा देवका तीन सन्तानमध्ये जेठी हुन् अञ्जु । उनको परिवारका प्रायः सबै सदस्य चिकित्सा पेशामा आबद्ध छन् । बुवा डा योगेन्द्र प्याथोलोजिस्ट हुन् । भाइ डा आलोक देव न्युरो सर्जन हुन्, जो अहिले काठमाडौंमा कार्यरत छन् । बहिनी डा पूजा देव बालरोग विशेषज्ञ हुन् । उनी बेलायतमा छिन् । बुवा चिकित्सकीय पेशामा भएपछि आफूलाई पनि उनको बिँडो थाम्दै डाक्टर नै बन्ने सानैदेखिको इच्छा रहेको उनले सुनाइन् । 

‘बुवाले बिरामीको सेवाबाट पाएको माया र सम्मानले मलाई पनि चिकित्सक बन्ने तीव्र इच्छा जागेको हो,’ डा अन्जु भन्छिन् । उनको बाल्यकाल काठमाडौंमै बितेको हो ।  विसं २०४८ मा सिद्धार्थ वनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेकी उनले  साइन्स (विज्ञान) विषयमा प्लस टूको अध्ययन काठमाडौंबाटै पूरा गरिन् । त्यसपछि एमबीबीएस पढन बंगलादेश गइन् । सन् २००१ मा उनी बंगलादेशबाट एमबीबीएस सकेर नेपालमै फर्किएकी थिइन् । 

डा अञ्जुले काठमाडौंको वीर हस्पिटलमा इन्टर्नसिप गरिन् । इन्टर्नका बेला धेरै काम सिक्ने मौका पाएको उनको अनुभव छ । ‘एक दिन डेलीभरी लिनुपर्ने थियो । गर्भवतीको पानीको फोका फुट्यो । त्यो पानीले मेरो टाउकोदेखि जीउसम्म भिज्यो,’ उनले प्रसूति गृहमा इन्टर्न गर्दाको एउटा घटना सम्झिइन्, ‘त्यो पानी घुटुक्क निलेँ पनि । फुटेर निस्किएको पानी नुनिलो थियो । त्यसबेला एकदमै गाह्रो भएको थियो ।’ त्यही बेला उनले जिन्दगीमा अरु सबै विषय पढ्ने तर गाइनो नपढ्ने सोचेकी थिइन् । इन्टर्न सकिएपछि डा अञ्जुले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिइन् । सन् २००२ मा एनएमसीको लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि ‘वास्तविक डाक्टरी करिअर’ शुरू भएको उनले बताइन् । 

डा अञ्जुको पहिलो पोस्टिङ काठमाडौंको वीर अस्पतालमा भयो । उनले एक वर्ष त्यहाँको आकस्मिक कक्षमा काम गरिन् । ‘त्यहाँ धेरै कुरा सिक्ने मौका मिलेको उनले बताइन् । वीरपछि जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजमा उनले सेवा शुरू गरिन् । त्यहाँको ऐनेस्थेसिया विभागमा उनले ६ महिना काम गरिन् । 

डा अञ्जुको विवाहपछिको घर विराटनगर थियो । जसका कारण उनलाई काठमाडौं आउने–जाने गरिरहन पर्न पर्न थाल्यो । ‘यसले गर्दा काठमाडौंको जागिर समस्यामा पर्यो,’ उनी भन्छिन् । 

एमबीबीएस बंगलादेशबाट गरेकाले एमडी नेपालीकै शिक्षण अस्पतालमा गर्ने अञ्जुको धोको थियो । उनलाई बालबालिकाको डाक्टर हुन मन थियो । शुरूमा ईएनटी (नाक, कान, घाँटी)मा नाम निस्कियो । ईएनटी पढ्दिन भनेर उनी त्यतिकै बसिन् । त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आवेदन दिइन् । त्यहाँ उनको वेटिङ लिस्टमा नाम आएको थियो । ‘पहिलेका केही घटनाले गाइनो पढ्न मलाई एकदमै गाह्रो भयो,’ उनी भन्छिन्, ‘त्यसपछि पेडियाट्रिक र गाइनोमा दुवै पढ्ने योजना बनाकी हुँ ।’

सन् २००८ मा अञ्जुको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा नाम निस्कियो । त्यसपछि उनले सन् २०११ म आईओएमबाट गाइनोमा विशेषज्ञता हासिल गरिन् । एमडी गरेपछि विराटनगरस्थित नोबेल हस्पिटलमा काम पाइन् । त्यहाँ ६ महिना काम गरेपछि डा अञ्जुले सरकारी हस्पिटलबाट बिरामीको सेवा गर्ने योजना बनाइन् । उनका बुवाको पनि सरकारी अस्पतालमा छोरीले सेवा गरेको हेर्ने धोको थियो । विसं २०६८ मा उनी कोशी हस्पिटलमा आबद्ध भइन् । त्यसबेला कोशीको गाइनो विभागमा डा योगेन्द्र मिश्र हेड आफ डिपार्टमेन्ट (विभाग प्रमुख) थिए । 

कोशीमा एक वर्ष काम गरेपछि डा अञ्जुले ६ महिनाजति विराट नर्सिङ होममा गएर काम गरिन् । ‘त्यहाँ ६ महिना मात्र काम गरेपछि फेरि कोशीमै फर्किएँ । विकास समितिबाट करारमा नियुक्त भएँ,’ उनले भनिन् । लोकसेवा आयोगबाट स्थायीमा नाम निकालेपछि उनले कोशीमा एक वर्ष काम गरिन् । अनि लेखा शाखामा पारिश्रमिक लिन गएकी थिइन् । त्यसबेला करारका चिकित्सकलाई हेर्ने दृष्टिकोण फरक पाइन् । त्यही इखका कारणले लोकसेवा भिड्ने योजना बनाएको उनले बताइन् । ‘विसं २०७३ मा लोकसेवा दिए । नवौँं तहमा नाम पनि निस्किएको हो,’ उनले पुराना दिन सम्झिइन् ।

त्यसबेला डा अञ्जुलाई राजविराज वा मेची अस्पतालमध्ये एउटा रोज्नुपर्ने अवस्था आइलागेको थियो । तर, उनले आफूले कोशीमा काम गर्दै आएको र दरबन्दी पनि खाली रहेकाले यहीँ नै रोजिन् । उनले लोकसेवाबाट स्थायी भएर कोशीमा जागिर गर्न थालेको नौ वर्ष भइसकेको छ । अहिले उनी १० औं तहकी चिकित्सक हुन् । 

विसं २०७७ देखि डा अञ्जुले कोशी अस्पतालको स्त्री तथा प्रसूति विभागको प्रमुखको काम गर्दै आएकी छिन् । सरकारी अस्पतालमा हुने राजनीति हस्तक्षेप भने उनलाई मन परेको छैन । यद्यपि, यसका बीच पनि उनले आफ्नो कर्तव्य पूरापूर निभाइरहकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्