
इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।
“कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ”, वडाध्यक्ष भूपाल योङहाङले भने, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ ।”
पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको छ । उनका अनुसार वडाभित्रका २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ ।
उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ ।