
‘गुरु’को सिकाइ, आदर्शले हो चेलाहरू गन्तव्यमा पुग्ने । गुरुको आदर्श, बुझाइ र प्रेरितबाट चेलाहरू अगाडि बढ्छन् । रोल्पाको जलजला पहाडजस्तो राजनीतिक उचाइ । थबाङजस्तो आस्थाको आदर्श गाउँ । विज्ञान–गणितका नामी शिक्षकसँगै माओवादी आन्दोलनमा नेता कार्यकर्ता उत्पादन गर्न सक्ने ‘अब्बल’ नेता । यस्ता कयौं ‘आदर्श’का पर्यावाची कृष्णबहादुर महरा ‘गुरु’को ओरालो यात्राले माओवादी आन्दोलन रन्थनिएको छ ।
माओवादीको सशस्त्र संघर्षकै बेला वार्ता टोली, शान्ति वार्ताकालसम्म सबैभन्दा बढी मौका पाउने नेतामा पर्छन्, महरा । माओवादी एकै ठाउँमा हुँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्य ‘किरण’ दुवै पक्षको बीचमा बसेर महराले राजनीतिक लाभ लिइरहे । उनलाई माओवादीमा 'किङ कमरेड' (किङ मेकर)को उपमा दिइन्थ्यो । वैद्यले पार्टी छाडेपछि महरा प्रचण्डसँगै रहे । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, अर्थमन्त्री वर्षमान पुन, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जोखबहादुर महरा, कुलबहादुर केसीलगायत रोल्पाली नेताका गुरु हुन्, महरा ।
सुन तस्करीसँग संलग्न रहेको आरोपमा छानबिनका लागि यतिखेर महरा प्रहरी हिरासतमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराको विगत हेर्दा लामै इतिहास बोकेको देखिन्छ, तर पटक–पटक उनले गरेका क्रियाकलापले उनको इतिहासलाई आफैँ मेटाउने काम गरिरहेका छन् । सम्वत् २०१५ असार १५ गते रोल्पाको लिबाङमा जन्मेका महरा २०४८ आम चुनावबाट खुला राजनीतिमा उदाए । १० वर्षे युद्धकालमा भूमिगत हुँदै शान्ति वार्ताकालमा देखा परे । सञ्चार, गृह, अर्थजस्ता महत्त्वपूर्ण मन्त्रालयको कार्य सम्पादन समेत राम्रै गरेका महराले आफ्नो राजनीतिक इतिहास आफैँ समाप्त पारेका छन् ।
रविचन्द्र महराका माइला छोरा कृष्णबहादुरले सानैमा आमा गुमाउनुपर्यो । हजुरबुवालाई कुष्ठरोगले गाँजेपछि बुवा कालापार हिँडे । काकाको संरक्षणमा हुर्केका महरालाई पनि काका र बुवाले भारततिरै लगे । त्यहीँ बागेश्वरी पाठशालाबाट अध्ययन थाले । हिन्दी भाषा त्यति नजाने पनि महराले कक्षा आठ प्रवासमै पढेर पास भए । कक्षा आठदेखि बालकल्याण मा.वि. लिवाङमा भर्ना भए । महराले बालकल्यणबाटै एस.एल.सी. उत्तीर्ण गरे ।
पोखरामा अध्ययनकै क्रममा उनको प्रचण्डसँग भेटघाट भयो, जुनबेला प्रचण्ड अखिल नेपाल युवक संघको अध्यक्ष थिए । त्यही सम्पर्कबाट महरा २०३६ सालमा पार्टी सदस्य बने । पार्टी सदस्य बनेलगत्तै उनी जिल्ला समिति सदस्य बने । २०३७ मा उनले सीतासँग लगनगाँठो कसे, पोखरा क्याम्पस अध्ययनको क्रममा ।
२०४८ को आमचुनावमा संयुक्त जनमोर्चाबाट निर्वाचित हुँदै २०५१ को अन्त्यदेखि पार्टीको भूमिगत राजनीतिमा लागे । उनी २०५३ मा केन्द्रीय सदस्य र चौथो विस्तारित बैठकबाट पोलिटब्यूरो सदस्य बने । त्यसपछि महराले पार्टीमा पछाडि फर्किनुपरेन । स्थायी समिति हुँदै सचिवालय सदस्यसँगै पार्टी प्रवक्तामा पुगे । हाल उपाध्यक्ष छन् ।
चार दशक बढी सक्रिय राजनीतिक जीवनमा महराका जीवनमा धेरै उतारचढाव आए । बाह्र वर्षे शिक्षण पेशासँगै राजनीतिक गतिविधि, १० वर्ष भूमिगत राजनीति, त्यसपछि खुला राजनीतिसँगै उच्च पदहरू सम्हालेका महराले हिजोको दिनमा जति गरे, जे गरे, सबै समाप्त भएको छ । भलै अदालतले सफाइ देला, तर हिजोको ‘आदर्श महरा सर’ भनेर उनका विद्यार्थीहरूले भन्ने ठाउँ कहीँ देखिन्न ।
महराका ती दिन !
नेकपा (माओवादी)को नामबाट निरन्तर हिंसात्मक गतिबिधिबाट जो कोही नागरिक आजित थिए । २०५८ साउन ८ गते माओवादीले ‘युद्धविराम’ घोषणा गर्यो ।
युद्धविरामपछि हत्या हिंसा रोकियो भनेर आमनागरिकमा खुशी छाएको थियो । नागरिक समाजदेखि उद्योगी व्यवसायीहरू समेत खुशी भएका थिए । सरकारले सकारात्मक प्रतिक्रिया दिएपछि माओवादीले साउन १२ गते कृष्णबहादुर महराको नेतृत्वमा अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी रहेको वार्ता टोली गठन गरेको घोषणा गर्यो । संयोगले रायमाझी भुटानी शरणार्थी काण्डमा संलग्न भनेर भद्रगोल सुधारगृह जेलमा छन् ।
वार्ता टोली कहिले सार्वजनिक होला ? भन्ने सबैलाई कौतुहल थियो । खबर आयो वार्ता टोली कीर्तिपुरमा १२ गते नै सार्वजनिक हुने भए । तीन सदस्यीय माओवादी वार्ता टोली कीर्तिपुरमा सार्वजनिक भयो । सञ्चारकर्मीहरू त्यहाँ पुग्दा मल्ल के सुन्दरदेखि उपत्यकाका नेवारहरूको जमघटको बीच भागमा वार्ता टोली देखियो । भूमिगतकालमा काम गर्ने युवा, विद्यार्थीहरूको त्यहाँ लर्को थियो । माओवादी लडाकूलाई शहरमा पहिलोपटक सार्वजनिक रूपमा देखियो । सँगै थिए, बाक्लो दाह्री भएका महरा, सापकोटा र रायमाझी ।
दायाँतिर पेस्तोल भिरेका र कम्ब्याट लगाएका लडाकूले पहरा दिएका थिए उनीहरूलाई । वार्ता टोलीका सदस्यहरूले हात उठाएर ‘लालसलाम’ गर्दैगर्दा ती हतियारसहितका लडाकाले सेनाकै शैलीमा तीनैजनालाई पहरा दिए ।
नेताहरूको अनुहार भन्दा ती कम्ब्याट लगाएका लडाकातिर धेरैको आँखा गयो । वार्ता बस्ने बेला हतियारसहित उपस्थिति हुने कि नहुने बारे छुट्टै बहस समेत भयो । पछि आचारसंहिता बनाए पछि त्यो समाधान भयो । बिहान सबै पत्रपत्रिकामा वार्ता टोली र कम्ब्याट लगाएका लडाकूको फोटोसहित मुख्य समाचारहरू आए ।
साँझ महरा, सापकोटा र रायमाझीको राजनीतिक पृष्ठभूमिसहित समाचार लेखियो । भर्खर मोबाइल आएको थियो बजारमा । सर्वसाधारणको पहुँचमा थिएन मोबाइल । मोबाइलमा कल गर्दा त पैसा लाग्ने नै भयो, उठाउँदा समेत पैसा लाग्थ्यो । त्योबेला मोबाइल बोक्नेलाई देख्दा सबैले ‘वाह !’ भन्थे । महरालाई भेट्ने माध्यम कृष्ण सेन ‘इच्छुक’ र गोविन्द आचार्य (हालका प्रधानमन्त्रीका प्रेस सल्लाहकार) भए । उनीहरूले त्यसबेला जनादेश साप्ताहिकमा काम गर्थे । एउटा पोस्टपेड मोबाइल सेनले पहिलोपटक लिएका थिए । वार्तामा आएका टोली सदस्यहरूको बस्ने, खाने, सुरक्षा व्यवस्था आफ्नै खालको थियो । केही जानकारी लिनु परे सेन दाइलाई फोन गर्थ्यौं । त्यही फोन केही दिन गोविन्द आचार्यले चलाएका थिए ।
महरा ‘पटक–पटक मारिए’
माओवादीले आफ्नो गतिविधि बढाउँदै गएपछि लेख्न र बोल्न गाह्रो भयो । स्रोतहरूसँगको सम्पर्क टुटेन, तर समाचार जे हो त्यो लेख्न निक्कै गाह्रो भएको थियो । २०५८ फागुन ४ गते अछाम सदरमुकाम र साँफेबगर एयरपोर्टमा माओवादीले आक्रमण गरेपछि झन् राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा आलोचना भयो । ५५ जना तत्कालीन शाही सेना र १ सय ५० जना प्रहरी मारिएपछि माओवादीले सुतेको बेला आक्रमण गरेको भनी त्यसको व्यापक आलोचना भयो ।
त्यसपछि लगभग समाचारको स्रोतहरू तत्कालीन शाही नेपाली सेना, रक्षा र गृह मन्त्रालयको विज्ञप्तिबाहेक अरू थिएनन् । हामी राजनीतिक बिटमा समाचार लेख्नेको दिन थिएन । यसो समाचार हेर्यो, नागरिक समाजको कार्यक्रमतिर गयो । सानो एक कलोमको समाचार लेख्यो, बस्यो । त्यही थियो अवस्था । जहाँ भिडन्त हुन्छ, त्यहाँको पुष्टि र माओवादीले यसो भनेको छ भन्ने काम मात्रै भयो । नत्र सारा समाचार रक्षा र गृहबाटै आउँथ्यो ।
विज्ञप्ति अनुसार गोरखापत्रले आतंककारी भन्थ्यो । अरू ठूला दैनिकले आतंककारी त भनेनन्, तर माओवादी मारिनेको संख्या कसले कति राख्ने एक खालको प्रतिस्पर्धा थियो ।
हवाला रक्षा र गृहको हुन्थ्यो । त्यो बेला माओवादी स्रोतबाट आउने संख्याको मान्यता हुँदैन्थ्यो ।
‘गृह मन्त्रालय उच्च स्रोतका अनुसार माओवादी नेता कृष्णबहादुर महरा मारिए’ भनेर दुईपटक समाचार आयो ।
२०५९ साल वैशाख १९ गते रोल्पाको लिस्ने लेकमा शाही नेपाली सेनासँग माओवादीको आम्ने–साम्ने भिडन्त भयो । माओवादीहरूले त्यसलाई ‘अमेरिकी फोर्टिफिकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेस क्याम्प’ को नाम दिएको थियो । तर, त्यसको कुनै स्वतन्त्र रूपले पुष्टि भएन । यता रक्षा र गृहले माओवादी मारिनेको संख्या बढाउँदै लग्यो । ४ सय कि ६ सय भन्नेमा शीर्षक राख्नेमा पत्रिकाहरू पुगे । जिल्लाका रिपोर्टरहरूले एउटा रिपोर्ट पठाए पनि यता सुरक्षासम्बन्धी रिपोर्टिङ गर्नेहरूबाट संख्या ह्वात्तै बढ्थ्यो ।
रक्षा र गृहको उच्च स्रोत भनेपछि धेरैले महरा मारिए कि ? भन्ने आशंका गरे । पार्टी स्रोतहरूले दिएको सूचनालाई आधार मान्ने चलन थिएन । माओवादीका धेरै स्रोतहरू पक्राउ परेपछि भरपर्दो स्रोतको समेत अभाव भयो । एक्कासि एक दिन सीएनएनमा महराको ‘भिज्युल’सहित अन्तर्वार्ता आयो ।
एकान्त जंगलभित्र भएको घरमा महरा हिँड्दै, चिया पिउँदै गरेको अनेक पोजसहितको अन्तर्वार्ता आएको थियो । बल्ल महरा जिउँदै छन् भनेर विश्वास भयो । पत्रकारहरूबीच यो विषय जोक नै बन्यो ।
महराले आधा नेपाली, आधा हिन्दीमा आफ्नो कुरा राख्दै सीएनएनमा अन्तर्वार्ता दिएका थिए । पछि पुनः वार्ता टोलीको घोषणा हुँदा महरा सदस्य बने । २०५९ चैत १४ गते उनी नेपालगञ्जबाट काठमाडौं आइपुगे । वार्तामा बस्नुअघि केही आचारसंहिता बनेका थिए । हतियार लगायतमा । तर, महरा हतियारधारीसहित राजधानी आए भन्ने समाचार लेखेको थिएँ, अघिल्लो दिन ।
महरा राजधानी आएपछि तत्कालै सम्पर्क भयो । ज्याठाको एक घरमा बोलाए, अन्तर्वार्ताका लागि । कान्तिपुर दैनिकका लागि गुणराज दाइ र म मरालाई भेट्न गयौं ।
‘उजिरजी मलाई हतियारसहित महरा काठमाडौंमा भनेर लेख्नुभएको थियो । ऊ मेरो छोरा हो, मेरो जेठो छोरो’, सिकाउँदै महराले मलाई उल्टै प्रश्न गरे । महराका दुई छोरामध्ये कान्छा राहुल महरा सुन काण्डमा पुर्पक्षका लागि जेलमा छन् ।
‘नेपालगञ्जकै सुरक्षा निकाय स्रोतका अनुसार हजुरको निजी सुरक्षाका लागि हतियारसहित आएको भन्ने थाहा भएर हो सर,’ मैले भनें । त्यसपछि अन्तर्वार्ता शुरू गर्यौं । दोस्रो वार्तामा आएका बेला हामीले महराको पहिलो अन्तर्वार्ता लिएका थियौं ।
(नोटः महराका पुराना घट्नाक्रमहरू लेखकको ‘अंश’ पुस्तकमा प्रकाशित सामग्रीलाई पुनरसम्पादन गरिएको हो ।)