३१ जेठ २०८३, आइतबार

शिख नमूना आवासीय विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

चैत १७, २०८०
म्याग्दी
शिख नमूना आवासीय विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख रुपैयाँ सहयोग जुटाएका छन् ।

आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्ने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो । 

विद्यालयका प्रधानाध्यापक केदार कार्कीले प्रवासमा रहेकाहरू मिलेर २० थान डेस्कटप कम्प्युटर सहयोग गरेको बताए । 'ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्न कम्प्युटर विज्ञान विषय पढाउने तयारी गरेका छौं', उनले भने, 'विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकले सहयोग रकम जुटाउनु भएको छ ।'

घनश्याम तिलिजा र लालबहादुर पाइजाका परिवारले शुक्रवार ४ थान कम्प्युटर विद्यालयलाई हस्तान्तरण गरेका छन् । १६ थान कम्प्युटर केही दिनमै विद्यालयमा ल्याउने तयारी छ ।​

शिख उपल्लोस्वारा घर भई हाल बेलायत निवासी घनश्याम तिलिजाको परिवारले तीन थान डेस्कटप कम्प्युटरका लागि रु एक लाख ९५ हजार, विद्यालयको अतिरिक्त क्रियाकलाप कोषलाई रु दुई लाख नगदसहित चार थान भलिबल, बास्केटबल र एक थान भलिबलको नेट गरी कुल रु. दुई लाख ३६ हजार सहयोग गरेका हुन् ।​

शिख मूलपानी घर भई हाल बेल्जियम निवासी लालबहादुर पाइजाको परिवारबाट एक थान डेस्कटप कम्प्युटर, आमा समूहलाई रु २० हजार, छात्रावासका लागि रु दश हजार गरी रु ९५ हजार सहयोग गरेका विद्यालयले जनाएको छ । 

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा छात्रावास सुविधा प्रदान गरेको छ ।

हाल ३० जना विद्यार्थीले छात्रावासको सुविधा लिएका छन् ।

प्रदेश सरकारले प्रतिविद्यार्थी दैनिक रु ६५ का दरले आवासीय विद्यार्थीलाई सहयोग गरेको छ ।

अपुग रकम दाताहरूको सहयोगमा जुटाइएको छ । विद्यालयमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् ।

salt training

कमेन्ट गर्नुहोस्