०७ असार २०८३, आइतबार

राममणि क्याम्पसको ‘२५ वर्षे सेवा अवधि’ विवादमा, बदनियतका साथ नियमावली ल्याइएको आरोप

चैत १८, २०८०
बुटवल
राममणि क्याम्पसको ‘२५ वर्षे सेवा अवधि’ विवादमा, बदनियतका साथ नियमावली ल्याइएको आरोप

रुपन्देहीको राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिले ल्याएको ‘उमेरहद र सेवा अवधि’सम्बन्धी नियमावली विवादित बनेको छ । सरोकारवाला प्राध्यापक, कर्मचारी र विद्यार्थीसँग कुनै सल्लाह, सुझाव र परामर्शविना एकलौटी ढंगले नियमावली ल्याएकाले कार्यान्वयनमा नआउँदै विवादमा परेको हो । 

क्याम्पस सञ्चालक समितिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको २५ वर्षे सेवा अवधि राखेपछि प्राध्यापक र कर्मचारीले चर्को विरोध जनाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, पूर्वअध्यक्ष तथा संरक्षक रोमणीप्रसाद पाठक र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले बदनियतका साथ यो नियमावली जारी गराएको प्राध्यापक र कर्मचारीहरुको आरोप छ । सामाजिक न्याय र प्रचलित श्रम कानूनविपरीत ल्याइएको यो कार्यविधि खारेज नगरेमा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी प्राध्यापक तथा कर्मचारीहरूले दिएका छन् । 

पूर्वक्याम्पस प्रमुख तथा सहप्राध्यापक खगराज शर्माले क्याम्पस सञ्चालक समितिले गरेको निर्णय गैरकानूनी, अदुरदर्शी हुनुका साथै क्याम्पस प्रमुखको असक्षमताको उपज भएको टिप्पणी गरे । शर्माले शिक्षकहरूलाई गुमराहमा राखेर ल्याएको २५ वर्षे सेवा अवधिले प्राध्यापन पेशामा जीवन बिताएकाहरूलाई गलत्याउने भएकोले त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । जीवनको ऊर्जाशील समय क्याम्पसमा बिताउँदै गर्दा श्रमयोग्य समय बाँकी रहेकै अवस्थामा बीचमै कुनै पनि प्राध्यापक र कर्मचारीलाई गलत्याउने कार्य सामाजिक न्यायविपरीत हुने उनको भनाइ छ । 

‘क्याम्पसको आर्थिक अवस्था केही संकुचित भएको भए तलब घटाउने, उपदान, सञ्चयकोषका बारेमा सोच्न सकिएता पनि सेवा अवधि राखेर हटाउने कार्य अपराध हो, यो स्वीकार्य छैन,’ शर्माले भने । 

क्याम्पसले ल्याएकोको कार्यविधि अनुभवी, दक्ष, सक्षम प्राध्यापक र कर्मचारीलाई पाखा लगाएर नयाँलाई भित्र्याउने मनसायबाट अभिप्रेरित रहेको कतिपयको बुझाइ छ । यही कुरालाई बुझेका विद्यार्थी संगठनहरूले समेत क्याम्पस सञ्चालक समितिले ल्याएको कार्यविधिको विरोध गरेका छन् । प्राध्यापक र कर्मचारीसँग कुनै छलफल नगरिएकोले कार्यविधि बदनियतका साथ ल्याइएको हुने उनीहरूको आरोप छ । 

कार्यविधिअनुसार तीन प्राध्यापक र दुई कर्मचारीलाई हुलाकमार्फत घरमा अवकाश पत्र पठाइएबाट पनि सञ्चालक समितिको बदनियत स्पष्ट हुन्छ । क्याम्पसका सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले नियमावलीको नबुझेर विरोध भएको दाबी गरे । ‘हामीले सुविधासहित बिदा गर्ने गरी २५ वर्षे सेवा अवधिको प्रावधान ल्याएका हौँ,’ अध्यक्ष धितालले भने, ‘धेरै प्राध्यापक र कर्मचारीले यसलाई स्वागत गर्नुभएको छ । केहीले नबुझेर विरोध गर्नुभएको हो । यसबाट कोही तर्सिनुपर्ने छैन । सबैलाई लागू भएको हो ।’  

क्याम्पसका उपप्रध्यापक मुक्तिनाथ गैरेले सञ्चालक समितिले ल्याएको कार्यविधिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको करियरमा ठेस पुर्याउने देखिएको बताए । यसलाई प्राध्यापकहरूले धोकाको रुपमा लिएको उनको भनाइ छ । क्याम्पस प्रमुख तथा सञ्चालक समितिको पदेन सदस्य ताराप्रसाद पराजुलीले सञ्चालक समितिले गरेको निर्णयबारे आफूले बोल्न नमिल्ने बताए । ‘अहिलेको परिस्थिति विद्यार्थी अभावले जन्मिएको हो,’ पराजुलीले भने, ‘यो नियमावलीले म पनि चार वर्षअघि नै निस्कनुपर्ने भएको छ । कोही व्यक्ति विशेषलाई हेरेर यो भएको होइन ।’ 

राममणि २०४५ सालमा स्थापित सामुदायिक क्याम्पस हो । क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ हुन्छ । २०७५ मा विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरेको छ । पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति राजेन्द्र थापाले विज्ञप्ति जारी गर्दै आयातित शैलीमा एकाएक नियमावली ल्याएर ​अवकास दिने निर्णय गरिनु खेदजनक भएको बताएका छन् । दुई हजार ६०० विद्यार्थी अध्ययन गर्ने क्याम्पस जिल्लामा सम्भावना बोकेको क्याम्पसमा पर्छ ।

कमेन्ट गर्नुहोस्