
माध्यामिक शिक्षा परीक्षा (एसईई)मा मर्यादाविपरीत गतिविधि गरेको भन्दै विराटनगरमा परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारबाहीमा परेका छन् । विराटनगरका विभिन्न तीन वटा परीक्षा केन्द्रमा खटिएका उनीहरूमाथि कारबाही भएको हो ।
अनुगमनका क्रममा मर्यादाविपरीत परीक्षा सञ्चालन गरेको पाइएपछि विराटनगर ६ मा रहेको शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारलाई केन्द्राअध्यक्षको जिम्मेवारीबाट बर्खास्त गरिएको छ । रौनियारलाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाएर गोग्राहा स्कुलका बेदु खतिवडालाई केन्द्राध्यक्षको जिम्मेवारीमा ल्याइएको छ ।
अन्य पाँच जना निरीक्षकहरू पनि कारबाहीमा परेको शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमलले जानकारी दिए । यसैगरी विराटनगर–११ जनपथ माध्यामिक विद्यालयमा खटिएका दुई जना निरीक्षकलाई कारबाही गरिएको उनले बताए । जनपथका विजय महतो र योगेन्द्र यादव कारबाहीमा परेका हुन् । उनीहरूको ठाउँमा ज्ञान निकुन्ज स्कुलका राजु चौधरी र जनचेतना आधारभूत विद्यालयका विनारानी दाहाललाई निरीक्षक राखिएको छ ।
तोकिएको मापदण्ड पालना गरेको नपाइएपछि केन्द्राध्यक्ष र निरीक्षकहरूमाथि कारबाही गरिएको उनले बताए । एसईई परीक्षा सञ्चालन हुने सामुदायिक विद्यालय भएको खण्डमा सोही विद्यालयमा अध्यापनरत आधारभूत तहका शिक्षकलाई निरीक्षक राख्नु पर्ने व्यवस्था छ । तर, जनपथ स्कुलमा जारी परीक्षामा निजी विद्यालयमा अध्यापन गराउने दुई जना निरीक्षक फेला परेका थिए । उनीहरू दुवैजना माध्यामिक तहमा अध्यापन गराउने शिक्षक भएको पाइएपछि कारबाही गरिएको हो ।
जनपथ स्कुलको परीक्षा केन्द्रमा चार वटा विद्यालयका ३६६ जनाले परीक्षा दिँदैछन् । उक्त केन्द्रमा बाल कल्याण विद्या मन्दिर(बिकेभिएम), जेसी बाल सदन, शिक्षा सदन र लक्ष्मीनारयण वेद विद्या आश्रमका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।
सबैभन्दा बढी बिकेभिएमका २६२ जना विद्यार्थी छन् । लक्ष्मीनारायणका २६, शिक्षा सदनका २२, जेसी बाल सदनका ५० जना विद्यार्थी परीक्षामा भाग लिइरहेका छन् ।
ग्रेड वृद्धिमा ६ जनाले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रमा दुई जना सहायक परीक्षा केन्द्राध्यक्ष र १४ जना निरीक्षक रहेका छन् । २५ जना विद्यार्थी बराबर एक जना निरीक्षक राख्न पाइने मापदण्ड रहेको छ ।
कारबाहीमा परेका शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारले आफूमाथि अन्याय भएको बताएका छन् । निष्पक्ष र भयरहित वावतरणमा परीक्षा संचालन गर्दा आफूलाई जिम्मवारीबाट हटाएको उनको गुनासो रहेको छ । तीन वटा परीक्षा सम्पन्न गराएपछि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले परीक्षा अवधिभर बिदा बस्नु भनेर निर्देशन दिएपछि आफू बिदामा बसेको उनले सुनाए ।
शिक्षा सदनको परीक्षा केन्द्रमा १० वटा विद्यालयका १७२ जना विद्यार्थी रहेका छन् । उक्त परीक्षा केन्द्रमा मेरीगोल्ड, जानकी, मनितारा, देवकोटा, सहभागिया, ग्रिन टी, होलील्याण्ड, गोदावरी, ग्रिन नर्थ पोइन्टका विद्यार्थीले परीक्षा दिँदैछन् ।
सो परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष एक जना, निरीक्षक नौं जना रहेका छन् । कारबाहीपछि सात जनाले परीक्षा सञ्चालन गरिरहेका छन् । उक्त केन्द्रबाट केन्द्राध्यक्ष र एक जना निरीक्षक हटाएका हुन् ।
केन्द्राध्यक्ष रौनियारले पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपालीको परीक्षा सञ्चालन गरेका थिए । आइतबार तेस्रो दिन गणितको परीक्षामा गडबडी भएको पाइएपछि उनी जिम्मेवारीबाट हटाइएको जनाइएको छ । राजनितिक कारणले आफुलाई हटाइएको उनले आरोप लगाएका छन् ।
मोरङमा ७० वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ । विराटनगरका ठूला निजी विद्यालयहरूले चलखेल गर्ने गरेको खुलेको सुरक्षा निकायका अधिकृतहरू बताउँछन् ।