
विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी वीक २०२४)को अवसरमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको विजेताको घोषणा गरिएको छ ।
२०८० फागन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो ।
प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत ७ गते साँझ ५ बजे भित्र देशभरिबाट निबन्ध पठाई सहभागी भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगीहरूबाट विजेता छनोट गरिएको डिब्यानले जनाएका छ ।
‘नेपालको पुँजी बजारमा वित्तीय साक्षरता प्रवर्द्धनको पहल’ विषयमा आयोजित निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट कीर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम बनेकी छिन् ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वलविक्रम थापा द्वितीय बनेका छन् ।
यस्तै, मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदीप घर्ती क्षेत्री तेस्रो बनेका डिब्यानले जनाएको छ ।
प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीयले क्रमशः ५०, २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
विजेताहरूलाई एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गरिने डिब्यानले जनाएको छ ।
धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरूको अध्ययन तथा विजेता छनोट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्णुकुमार गिरी र सन्दीप राणासहितको ३ सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो ।
ग्लोबल मनी वीक किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्वव्यापी रुपमा बर्सेनि मनाइने अभियान हो ।