०७ साउन २०८३, बिहीबार

लुम्बिनीमा १७ महिनापछि टुंगियो संसदीय समितिको भागबन्डा

बैशाख ५, २०८१
बुटवल
लुम्बिनीमा १७ महिनापछि टुंगियो संसदीय समितिको भागबन्डा

लुम्बिनी प्रदेश सभा संसदीय समितिमा झण्डै डेढ वर्षपछि नेतृत्वको टुंगो लागेको छ । सात वटा संसदीय समितिको प्रमुखमा तीन राजनीतिक दलहरूले भागबन्डा गरेको हुन् ।

जस अन्तर्गत प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई ३, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई २/२ वटा समितिको नेतृत्व गर्नेछन् ।

लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समिति छन् ।

जसअनुसार प्रदेश मामिला तथा कानून समितिको सभापतिमा माओवादीबाट रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा माओवादीकै गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा कांग्रेसका नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) का सांसद विश्वप्रेम पाठक चयन भएका छन् ।

त्यस्तै गरी भौतिक पूर्वाधार विकास समितिको सभापतिमा एमालेका अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ (२) का सांसद रामजीप्रसाद घिमिरे रहेका छन् ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमालेका राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी नेपाली कांग्रेसकी सांसद माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका एमाले सांसद गिरीधारीलाल न्यौपाने रहेका छन् ।

६ वटा विषयगत समिति भए पनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यस पटकदेखि नयाँ व्यवस्था गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

समितिका सदस्यहरू यस अघि नै टुंगो लागिसकेको छ । सभापतिहरूले बुधवार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै विषयगत समितिका सभापतिहरूले अब संसद् र सरकारको कामलाई तीव्र गतिमा अगाडि बढाउने गरी काम गर्ने बताए ।

सभापति चयनसँगै अब प्रदेशसभाले बिजनेस पाउने उनीहरूको विश्वास छ ।

कमेन्ट गर्नुहोस्