
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी ।
माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक गरियो । किनभने बितेको वर्षले नेपाली समाजलाई ठूलो तनाव र अशान्ति दियो । तर, नयाँ वर्ष २०८१ को स्वागत भने उल्लासमय बन्न सकेन । यो जनताको मनोविज्ञानमा आएको ठूलो परिवर्तन हो । सायद एकथरि जनतालाई लाग्यो होला, कति स्वागत गर्नु, केही हुने होइन ! नयाँ सालको शुभकामनाका दुई शब्दबाहेक वर्षौंदेखि राज्यको उपेक्षा झेलिरहेका जनताको मनमा हौसला र उत्साह पैदा होस् पनि कसरी ? कुन आशाले रमाउने ? कोबाट आश गर्ने ? मातृभूमिले पूर्ण उपेक्षा गरेपछि मुग्लान भासिएका सन्तानको पसिनाले जीवन गुजार्नु परेको छ । आफ्ना प्राणभन्दा प्यारा सन्तानले अरबको प्रचण्ड धूपमा ज्यान हत्केलामा राखेर श्रम बगाएका बगायैं छन् । त्यस्तै कलिलो उमेरमा आफ्नो परिवार र देश छोडेर विदेशिएका सन्तानको पीडा अर्कै छ । छातिमा तस्बिर टाँसेर, देवी देउराली भाकेर दिन बिताउनु परेको छ र तत्काल यसको विकल्प पनि देखिँदैन । अनि कसरी चलोस् जाँगर नयाँ वर्ष मनाउन ? हो, अधिकांश नेपालीले यसपटक नयाँ वर्षलाई स्वागत गर्न अल्छी मानेको देखियो । राजधानी मात्र सम्पूर्ण देश होइन । सीमित जनसंख्याबाहेक यसपटक अधिकांश नेपालीलाई नयाँ वर्षका दिन पनि उदासी र चिन्ताले छाडेन । नेपालको भविष्यका लागि यो शुभसंकेत होइन । त्यसैले फगत औपचारिकताको शुभकामना साटासाटबाहेक नयाँ वर्षको रौनक कतै पनि देखिँदैन । अब यसको गुह्य कारण खोज्न राज्यका जिम्मेवार अधिकारीहरूमा कुनैं कर्तव्यबोध र उत्साह देखिँदैन किन ? के गान्धीले भनेजस्तो सिमान्तको गरीब नेपालीले यसको अनुभूति गर्ने पाएको छ त ? यसका केही दुःखद् आयामहरूबारे संक्षेपमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
यसपटक नयाँ वर्षको अघिल्लो दिन पूर्वी तराईंको प्रतिष्ठित जिल्लाको सार्वजनिक जमघटमा ओनसरी राजवंशी भेटिइन् । उनी ग्रामीण भेगमा बसोबास गर्ने गरीब नेपाली महिला हुन् । उनको सम्पत्तिको नाममा सार्वजनिक जग्गामा एउटा टहरो छ । श्रीमान बेरोजगार छन्, अर्कैको खेतमा बनिबुतो गर्छन् । पहिले कार्टुन फ्याक्ट्रीमा काम गर्थे । तीनवटी छोरी छन्, पढ्नमा साह्रै जेहनदार । पोहोर साल उनले छोरीलाई नेपाल प्रहरीको परिचर पदमा फर्म भर्न लगाइन् । छोरीले सबै तहका परीक्षण उत्तीर्ण गरिन् तर, अन्तिममा काठमाडौं पुगेर अन्तर्वार्तामा फालिइन् । ओनसरी अमुक राजनीतिक दल विशेष कि सक्रिय कार्यकर्ता हुन् । उनले छोरीलाई जागिर लगाउन धेरै नेतालाई हारगुहार गरिन् । चुनावमा पनि धेरै खटिइन् । घरमा पालेको हाँस, कुखुरा खुवाइन् । तर, कसैले उनको कुरा सुनेन । एकाध नेताले त पैसाबिना जागिर खान गाह्रो छ पनि भनेछन् । जागिर खान पैसा चाहिने कुराको हल्ला यस पङ्तिकारले पनि सुनेको छ । यसपल्ट उनले तरक्क आँशु झारेर भनिन्, 'यहाँ गरीबको कुरा सुनिदिने कोही छैन, यसपालि पनि फर्म त भराएको छु, खुला, आरक्षण र कार्यालय सहयोगीमा, जागिर त के मिल्ला र !' उनको कुरा मर्म भेदी थियो, पङ्तिकार उनले दिएको कागज बोकेर हिँड्यो । उनका लागि समाज पनि छैन, राजनीतिक दल पनि छैनन् र राज्य पनि छैन । अनि कसरी आउँछ, नयाँ वर्ष ? यिनी हाम्रो समाजकी प्रतिनिधि पात्र हुन्, जसले समग्र समाजको अभाव र गरीबी चित्रण गर्छ । समाजको साधन श्रोत सम्पन्न पक्षमा समवेदना मरिसकेको छ, जसले आफ्नो स्वार्थ र लाभबाहेक अर्थोक देख्दैन ।
दुई विषयमा स्नातकोत्तर गरेका र एउटा राजनीतिक दलको भ्रातृ संगठनमा लागेका सल्यानका रमेश केसीले ६ महिनाअघि एउटा राजनीतिक दलको भेलामा भनेका थिए, 'मसँग दुइटा डिग्री छन्, मैले राज्यमा भूमिका र काम खोजेको केही वर्ष भयो, तर पाएको छैन, दलको भ्रातृ संस्थाका लागि पनि योग्य भइनँ । अब त दिक्क भैसकेँ । विस्तारै विदेशको सपना देख्न थालेको छु, हामीलाई नेपाल मैं रोक्ने तपाईंहरूसँग कुनै कार्यक्रम छ ? कार्यक्रम छैन भने दशथरि कुरा किन गर्नुहुन्छ ?' यसको जवाफ कसले दिने ? देशका भरभराउँदा युवाहरूको निराशाको मलहम पट्टी के ? विदेश पलायन वा विद्रोह ? विद्रोह पनि कहिलेसम्म र केका लागि ? विद्रोहमा साथ दियो, मालिक हुन्छ अर्कै । युवा जनशक्ति विदेश भासिएपछि देशका लागि काम गर्ने कसले ? आखिर देश बनाउने त ऊर्जावान मानव संसाधनले नै त हो । यस विषयमा देशको राजनीतिक नेतृत्वमा चिन्ता र गम्भीरता पटक्कै देखिँदैन । अनि कसरी आउँछ युवाहरूलाई नयाँ वर्ष ?
पूर्वी पहाडी जिल्ला खोटाङको दिक्तेल र हलेसीको बीचतिर नुनथला भन्ने ठाउँ छ, मीठो चियाका लागि प्रसिद्ध । केही दिनअघि त्यो बाटो हिँड्दा एकजना ८१ वर्षीय भट्टराई थरका वृद्ध बिरामी भेटिए, लामीडाँडा हुँदै जहाजबाट काठमाडौं लाँदै गरेका । उनी सिकिस्त थिए, छोरा र भतिजासँगै थिए । काठमाडौं त लाने, तर कुन अस्पताल, ठेगान थिएन । एकजना नातेदारको भरमा ठूलो अस्पताल लैजाँदै रहेछन् । छोराको चिन्ता थियो, पैसा कति लाग्ने हो ? नेपालमा ८० वर्ष नाघेका गरीब वृद्ध वृद्धालाई सहज र सुलभ उपचारको व्यवस्था छैन, न सरकारी, न निजी अस्पताल कतै पनि । एक त ढल्केको उमेर, त्यसमाथि लाग्ने खर्च र निको हुने कुराको अनिश्चितता । यो त एउटा प्रतिनिधि घटना मात्र हो । देशभरि यस्ता व्यक्ति र परिवार कति छन् कति ? अनि त्यस्तो परिवारलाई कसरी आउँछ नयाँ वर्ष ? आखिर यत्रा बग्रेल्ती सरकारहरूको औचित्य के? राज्य र सरकार भनेको के ? किन बनाएको सरकार ? न रोजगारी न उपचार, न राहत ?
विराटनगर महानगर कै वडा नम्बर १९ मा ठूल्ठूला मुसहर (ऋषिदेव) बस्ती छन् । त्यसै बस्तीका बासिन्दा हुन् विष्णु ऋषिदेव । उनका बाबुआमा कोभिडमा बिते । नजिकै ठूल्ठूला अस्पताल थिए । उपचार गराउने पैसा थिएन, कसैले अस्पताल लगि दिएन । उनी ५२ वर्षका भए, ७२ जस्ता देखिन्छन् । एउटी छोरीले दुई कक्षासम्म पढी र तीन वर्षअघि बिहे भयो । विष्णुका अरु चार छोरा छन् । एउटाले जसोतसो ९ सम्म पढ्यो र छोड्यो । उमेर २२ को भयो, लक्का जवान भए पनि अनुहारमा गरीबीका रेखा प्रशस्तै छन् । पाएको ठाउँमा मजदुरी गर्छ, भरपर्दो रोजगारी छैन । अर्को छोरो १९ वर्षको छ, ७ पढेर छोड्यो । दाजुसँगै मजदुरी गर्न जान्छ । विष्णुलाई दुइटै छोरा काममा जाँदा आनन्द लाग्छ । साना छोराहरू १६ र १४ का छन्, स्कुल जाँदैछन् । दाजुहरूले काम गरेर पढाउँछौं, स्कुल नछाड्नु भनेका छन् । सानाले पढ्छन् कि भन्ने विष्णुलाई थोरै आश छ । महानगरको एउटा वडाको दारुण चित्र हो यो । यहाँ कागज र नाममा सरकारै सरकार छन् तर, वास्तविक जीवनमा केही पनि छैन, विष्णुजस्ता नेपालीका लागि कोही छैन । उसका साना छोराहरूको पढ्ने ईच्छा पूरा गरिदिने न सरकार छ, न समाज ! अनि विष्णुलाई नयाँ वर्ष कसरी आउँछ ? उसका लागि नयाँ वर्षको उत्सव दन्त्य कथा मात्र हो ।
हामीले जनताको जीवनमा सुख ल्याउने कथा हालेको धेरै भयो । अहिले पनि दोहोर्याएको दोहोर्याइ छौं । तर, तदनुरूप काम गर्दैनौं । हामीलाई लाग्छ, हाम्रो काम त बोल्ने हो । समाजमा चमत्कार आफैं हुन्छ । युगले एउटा जादुगर अवश्य पैदा गर्नेछ र देशको उन्नति जादुगरबाट हुनेछ । हामीले त आ-आफ्नो जीवन बनाउने हो । अनि यस्तो समाज विकसित कसरी हुन्छ ? अझ हामी त समृद्धिको पो नारा दिन थालेका छौं । समृद्धि भनेको चरम प्रगति हो । यसका लागि तीव्र गतिमा उन्नति गर्दा पनि कम्तिमा ५० वर्ष लाग्छ । हाम्रो बकवासले त १० वर्ष काफी छ। अनि हामीलाई पत्याउने जनता महान् हुन् कि बुद्धु ? तर, हामी जनतालाई बारम्बार झुक्याउँदै छौं । तर, कतिञ्जेल ? यस्तो नौटङ्की कहिलेसम्म चल्ला ? हामीलाई थाहा छ, राज्यको परिकल्पना र गठन जनताको जीवनलाई सहज बनाउन र सुरक्षा दिनका लागि जनताद्वारा नैं भएको थियो । नत्र हाम्रोजस्तो निर्मोही राज्य अस्तित्वमा आउने नै थिएन । राज्यको अवधारणा आएका/बनेका राष्ट्रहरू कहाँ पुगे र हामी कहाँ छौँ ? नयाँ वर्ष शुरू भइसक्दा पनि यो प्रश्न अनुत्तरित नै छ । सावा अक्षर मात्र छिचोलेको नेपालीले पनि भन्न सक्छ कि देशले कुन बाटो समातेको छ । अनि ऊ केवल सम्वत् फेरिँदैमा कसरी रमाउन सक्छ ?
लोकतान्त्रिक शासन व्यवस्था जनभावनाअनुसार चल्ने राजनीतिक व्यवस्था हो । अरु राजनीतिक प्रणालीमा जनभावनाको स्थान हुँदैन । त्यसैले यसलाई उत्तम मानिन्छ । तर, हाम्रो लोकतन्त्रमा जनताको स्थान कहाँ छ ? आज सोचनीय अवस्था छ । गान्धीले भनेजस्तो सिमान्तमा रहेको नागरिकको अवस्था कस्तो छ ? भोकै पर्दा, बिरामी हुँदा, स्कुल पढ्न नपाउँदा, बेरोजगार हुँदा को सोध्न आउँछ ? एक प्रकारले भन्ने हो भने हामीले जनतालाई कीरा फट्याङ्ग्रा ठानेका छौं, मरे बाँचे हामीलाई मतलब छैन । जनता कहाँ र कस्तो ठाउँमा बस्छन्, शिक्षा, स्वास्थ, रोजगारीको अवस्था के छ, सुरक्षा छ/छैन, खाएका छन्/छैनन्, यी कुनैं कुराको हामीलाई चासो छैन । अनि राज्यको दायित्व कसरी पूरा हुन्छ र सरकार हुनु र नहुनुको के अर्थ छ ? सरकार हाम्रानिम्ति, अवसर हाम्रा लागि, सुविधा र फाइदा पनि हाम्रै निम्ति भएपछि जनताले राज्यका बारेमा कस्तो धारणा बनाउने ? सिंहदरबारदेखि वडा कार्यालयसम्मको मानसिकता, चरित्र र व्यवहार एकनास भएपछि समाज कहाँबाट उँभो लाग्छ ? नेपालका जिम्मेवार अधिकारीहरूलाई जनता चुस्ने विद्या मात्र आउँछ भन्ने कुरामा दुई मत छैन । जसको परिणाम आजको नेपाल हो ।
सरकारमा पुगेका राजनीतिक दलहरूसँग विकासको 'टार्गेट' हुनुपर्छ । त्यसनिम्ति गुरुयोजना, रणनीति र पर्याप्त श्रोतको सुनिश्चितता हुनुपर्छ । यसका लागि आन्तरिक र बाह्य दुवै श्रोत जुटाउन सक्ने विश्वसनीय नेतृत्व हुनुपर्छ । छलबलले जिम्मेवारीमा पुगेका प्राविधिक व्यक्तिहरूलाई दुनियाँले पत्याई हाल्दैन । नेपालको वास्तविक समस्या यही हो । हरेक राजनीतिक दलको नेतृत्व तहमा यस्तै व्यक्तिहरूको प्रभुत्व छ । यो जमात साच्चै संवेदनहीन छ । यसको दुष्प्रभाव सर्वत्र फैलिएको छ । अपवादका कतिपय ठाउँहरूमा जिम्मेवारीमा पुगेका असल नियत भएका राम्रा व्यक्तिहरूका कारण त्यहाँको जनजीवन फेरिएको छ । तर, दृष्टान्तहरू धेरै कम छन् । एउटै मात्र उदाहरण दिनुपर्दा मोरङ जिल्लाको रंगेली नगरपालिकालाई लिन सकिन्छ । त्यहाँका बाटाघाटा, कृषि प्रणाली, धार्मिक स्थल, विद्यालय र स्थानीय सरकारले नागरिकलाई दिने सेवाको गुणस्तर उदाहरणीय र अनुकरणीय बन्दै गएको देखिन्छ । यो सबै परिवर्तन नेतृत्वमा बसेको व्यक्तिको दृढ इच्छा शक्ति र इमानदार प्रयासका कारण सम्भव भएको हो, उसले प्रतिनिधित्व गर्ने दलका कारण होइन ।
स्वामी विवेकानन्दले एकपटक भनेका रहेछन्, 'हामीसँग सयजना असल र योग्य मानिस भए भने भारत बन्छ ।' नेपालमा त त्यसको ठिकविपरीत सयजना खराब मानिसहरू भए, जसका कारण आजको दुर्दशा छ । अनि संवत फेरिँदैमा हर्षोल्लास कसरी मनाउन सकिन्छ र ? जबसम्म खराब मानिसहरूको चंगुलबाट राजनीतिलाई मुक्त गर्न सकिँदैन, तबसम्म देश यसरी नै छटपटाइरहन्छ, जनताले दुःख पाइरहन्छन् र हामीले जतिसुकै उत्तम राजनीतिक प्रणाली स्थापना गरे पनि त्यसले आफ्नो धर्म अनुसार काम गर्न सक्दैन । सम्वत्हरू फेरिइरहन्छन् तर, जनताको हालत ज्यूँका त्यूँ रहन्छ । त्यसैले जनताको हालत नसुध्रिएसम्म नयाँ वर्ष आउँछ/जान्छ । कुनै उत्सव र हर्षोल्लास सम्भव हुँदैन ।