१२ साउन २०८३, मंगलबार
एमालेको जिल्ला अधिवेशन

एमाले पश्चिम नवलपरासीमा नेतृत्वका लागि रस्साकस्सीः गुटगत प्रतिस्पर्धाको तयारी

महासचिव पोखरेलनिकट अधिकारी र उपाध्यक्ष पौडेलनिकट बस्याल दौडधुपमा
बैशाख २०, २०८१
बुटवल
एमाले पश्चिम नवलपरासीमा नेतृत्वका लागि रस्साकस्सीः गुटगत प्रतिस्पर्धाको तयारी
अध्यक्षका मुख्य प्रतिस्पर्धी दीपेन्द्र अधिकारी र धीरज बस्याल ।

नेकपा (एमाले) पश्चिम नवलपरासीको नयाँ नेतृत्वका लागि चुनावी रस्साकस्सी शुरू भएको छ । पार्टीको ९ औं जिल्ला अधिवेशन शुक्रबारदेखि शुरू हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

अधिवेशनको मिति नजिकिएसँगै जिल्ला नेतृत्व हत्याउन नेताहरूको गुटगत प्रतिस्पर्धा शुरू भएको छ । जिल्लामा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलनिकट नेताहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । जिल्ला नेतृत्वका अध्यक्ष दीपेन्द्र अधिकारी दोहोरिने दाउमा छन् । त्यस्तै सचिव धीरज बस्याल कुनै हालतमा अध्यक्ष नछाड्ने बताउँदै आएका छन् । अधिकारी महासचिव पोखरेल र बस्याल उपाध्यक्ष पौडेलनिकट नेता हुन् ।  अध्यक्षका लागि उपाध्यक्ष डोलराज भण्डारी, राष्ट्रियसभाका पूर्वसदस्य रामलखन हरिजन र श्याम बस्यालले पनि दाबी गर्दै आएका छन् । तर अन्तिममा अधिकारी र बस्यालबीच प्रतिस्पर्धा हुने देखिएको पार्टीका उपसचिव राजनकुमार आचार्यले बताए ।

अधिकारी समूहबाट उपाध्यक्ष डोलराज भण्डारी, सचिवमा लेखनाथ खरेल उपसचिवमा हरिदेव पाण्डेको चर्चा छ । त्यस्तै बस्याल समूहबाट उपाध्यक्षमा सिन्धु जलेसा, सचिवमा राजनकुमार आचार्य उम्मेदवार बन्ने दाबेदारी प्रस्तुत गर्दै आएका छन । उपसचिवमा बस्याल समूहले अझै उम्मेदवार टुंगाएको छैन भने अधिकारी समूहले पनि एकजना उपसचिवको उम्मेदवार नाम अघि सारेको छैन । 

गुटकै कारण अधिकारी र बस्यालबीच अन्तिममा प्रतिस्पर्धा हुने कार्यकर्ताहरूले आकलन गरेका छन् । अधिवेशनका लागि जिल्लाका ७४ वटै वडाबाट ४२६ प्रतिनिधि चयन भएका छन । अधिकारी र बस्यालले छनोट भएर आएका प्रतिनिधि ५० प्रतिशतभन्दा बढी आफू निकटका आएको दाबेदारी प्रस्तुत गर्दै आएका छन् । 

बस्याल बर्दघाट नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन भने अधिकारी निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुन् । एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले सर्वसम्मत हुन नसके निर्वाचनबाट नेतृत्व चयन हुनसक्ने बताए । नेता चौधरी पनि उपाध्यक्ष पौडेल नजिकका नेता हुन् । पार्टीको जिल्ला इन्चार्ज मन्त्री बलराम अधिकारी हुन् । अधिकारीले सर्वसम्मत बनाउने बताउँदै आएपनि त्यो सम्भावना कम रहेको कार्यकर्ताहरू बताउँछन् । अध्यक्ष ओलीले शुक्रबार बिहानै पश्चिम नवलपरासी आएर रामग्राम घुम्ने पनि तयारी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्