
पोखरा–९ नयाँबजारका किसान रानाको घरमा पानी नआएको पाँच दिन भयो । धारामा पानी नआएपछि किसानले पानी ट्यांकर मगाएर काम चलाएका छन् । पानी नभएका कारण दैनिकीमा प्रभाव परेको उनी बताउँछन् ।
‘पर्यटकीय राजधानी घोषणा भएको र सुन्दर शहर भनेर चिनिने पोखरामै पानीको हाहाकार हुनु दुखद् हो । दैनिकीमा पानी सबैभन्दा धेरै प्रयोग हुन्छ । त्यही पानी नै नभए गाह्रो हुने भयो,’ किसानले भने ।
यतिबेला पोखराका विभिन्न स्थानमा पानीको अभाव देखिएको छ । पोखरा–२ विन्ध्यवासिनी, धारापानी मार्गका स्थानीयले पनि पानीको अभाव झेलिरहेका छन् । पोखरा नदिपुरकी कविता भण्डारीले अन्य समयमा ट्यांकरको पानी प्रयोग गरेकी हुन्थिन् । केही दिनयता पानीको ट्यांकरमा समेत पालो कुर्न परेको उनले बताइन् ।
‘अरुबेला धारामा पानी आए पनि पुग्थेन । हामीले ट्यांकरको पानी नै चलाउँछम् । अहिले त ट्यांकरले पनि बिजी भएर छिटो पानी ल्याउन सक्दैन भन्छ,’ कविताले भनिन् ।
चन्दा आचार्यको दैनिकी आजकल धेरैजसो खानेपानी संस्था वा वडा कार्यालयमै बित्छ । पानीको समस्या समाधान गर्न वडा २ धारापानी मार्गका स्थानीय र चन्दा गुनासो गर्न कार्यालय पुगिरहन्छन् । चन्दाको घरमा पानी नआएको चार महिना बितिसकेको छ । यसबीच कहिलेकसो उनको घरमा पानी आउँछ । फेरि सुकिहाल्छ । खानेपानी संस्थानका कर्मचारीले खडेरीका कारण पानीको अभाव भएको जानकारी दिन्छन् । त्यसै भनि स्थानीयलाई फर्काउँछन् । चन्दा भने वितरणमा समस्या भएको जिकिर गर्छिन् ।
‘गर्दै छम्, सुख्खा खडेरी छ । यस्तो लामो टाइम खडेरी भयो । फोर्सले नपुगेर हो भन्नुहुन्छ । पोहोर हुने थिएन । अहिले मात्र हो । मेरो घरमा मंसिरबाट हो,’ उनले भनिन्, ‘त्यो धारामा सिस्टम नचलेर हो । आसपास छिमेकीकोमा अल्लोपल्लो गाउँ जान्छ हाम्रोमा सिस्टम नभएर हो । वितरण नै खराब हो भन्छौँ पटकपटक ।’

महिना दिनदेखि पानी नआएपछि उनले वितरणमा नै समस्या रहेको देखेकी छिन् । सम्बन्धित निकायलाई पटकपटक गुनासो गरे पनि उनको समस्या समाधान भएको छैन । ‘आज बिहान हाकिम सरकोमा गइयो । हामी आफैँ तातेर यति धाएको छौँ । एकछिन कराइयो हाकिम सा'ब नभएपछि आइयो । वडाध्यक्षलाई कराइयो । यो सिस्टम नभएको हो । पानी नभएको होइन,’ उनले भनिन् ।
खडेरीका कारण पोखरामा भएको नेपाल खानेपानी संस्थान पोखरा प्रमुख आशिष कार्कीले बताए । पानी नपरेको र मुहान सुकेकाले पोखरामा पानी आपूर्तिमा समस्या भएको उनको भनाइ छ । यसबाहेक केही वितरणका पुरानो पाइप लाइनमा समस्या भएका कारण पनि पानी नपुगेको उनले स्वीकार गरे । चन्दाले पानी वितरणमा समस्या रहेको गुनासो गरिरहँदा कार्कीले पनि यो समस्या रहेको स्वीकार गरेको छन् ।
‘कुनैकुनै लाइन पुरानो र पाइप ठुलो छ । कतै–कतै उहाँहरूले भनेको पनि ठिक हो । कतै एरियामा सानो पाइप छ । अर्को ठाउँमा ठुलो । यसले गर्दा पनि हो,’ कार्कीले भने ।
तर, यतिबेला पोखराले खडेरीको झेलेको भने सत्य हो । खडेरीका कारण मुहानमा पानीको सतह घट्दा पानी पुर्याउन कठिनाइ भएको छ । उसै त खानेपानी संस्थानले माग भएको पानी पोखरामा वितरण गर्न सकिरहेको छैन । त्यसमा मुहान सुक्दा थप समस्या झेल्नुपरेको हो । पोखरामा दैनिक ७ करोड लिटर खानेपानी माग छ । संस्थानले ४ करोड ७० लाख हाराहारीमा पानी दिइरहेको छ । चाहिएको माग पुर्याउन नसकिरहेको समयमा वर्षा नहुँदा समस्या भोग्नुपरेको प्रमुख कार्कीले बताए ।
‘यो वर्ष अलि लामै खडेरी भइदियो । अलि अलि समस्या नहुने होइन । हुन्थ्यो यस्तो चाहिँ हुन्थेन । ठ्याक्कै भन्न सकिन्न । भोटेखोला मुहान, कालीमुढा मुहान, बालधारा मुहानहरूको आधा पानी घटेको छ अहिले,’ उनले भने ।
यी मुहान पोखराको पानीका लागि सानो स्रोत हो । मुख्य भनेको मद्री खोला योजना हो । यसको पानीको सतह भने घटेको छैन । अझै पानी नपर्ने हो भने सानो मुहानको स्रोत घट्ने उनले सुनाए । ‘विभिन्न ठाउँमा भएको मुहान आधा नै घटेको छ । १०–१५ दिन आकाशबाट पानी परेन भने त्यो पनि पूरै सुक्छ,’ उनले भने ।
खडेरीको समयमा पोखराले भोग्नुपरेको पानीको अभावले दीर्घकालीन समस्या समाधान आवश्यक रहेको देखाउँछ । साद्रीखोलाबाट पाइप ल्याउन सके पानीको समस्या समाधान हुने प्रमुख कार्की सुनाउँछन् । ‘पहिल्यैदेखि माग पनि गरेको हो । वैकल्पिक दीर्घकालीन समस्या समाधानको लागि साद्री खोला छ यो भुजुङभन्दा माथि त्यहाँबाट पानी ल्याउने हाम्रो सोच छ । अबको वर्षमा थोरै बजेट छुट्याउँछ कि भन्ने थोरै आशा गरेको छौँ हामीले,’ उनले भने ।
पोखरामा यसवर्ष पर्नुपर्ने जति पानी परेको छैन । जल तथा मौसम पूर्वानुमान शाखा पोखराले दिएको जानकारी अनुसार प्रि–मनसुन शुरू भएयता पोखरामा जम्मा ८३.८ मिलिमिटर पानी परेको छ । मार्चदेखि आजसम्मको मितिमा पोखरामा जम्मा ८३.८ मीमी वर्षा भएको छ । यो वर्षा अघिल्लो वर्षको तुलनामा १८७.८ मीमीले कम हो ।
सन् २०२३ मा यो समयमा मार्चदेखि आजको मितिसम्म २७१.६ मीमी पानी परेको थियो । त्यस्तै प्रि–मनसुनको अवधिमा ५ सय ८.३ मीमी पानी परेको थियो । २०२२ मा प्रि–मनसुनको समयमा कम वर्षा भएको रेकर्ड थियो, जसलाई २०२४ ले पछाडि पारेको छ । सन् २०२२ मा अप्रिलको समयसम्म ११७.८ मीमी पानी परेको थियो । प्रि–मनसुनको अवधिभर ४०४.३ मीमी वर्षा भएको थियो ।