२४ असार २०८३, बुधबार

‘मजदुर मार्ग’ले देखाएको रामबहादुरहरूको नियति

बैशाख २१, २०८१
कास्की
‘मजदुर मार्ग’ले देखाएको रामबहादुरहरूको नियति

‘जब टेक्छु 
यो लमतन्न राजमार्ग 
टेकेँ जस्तो लाग्छ – आपाको आङ

चालिस बसन्तअघि लक्का जवान हुँदा 
गिट्टि सपनाको अलकत्रा घोलेर 
बनाएका थिए रे आपाले यो मार्ग’

बीस बसन्तअघि मजदुर हुन पाएको खुशीमा ‘ठुले’का आपा रामबहादुर घरबाट हिँडेका हुन्छन् । मजदुरी उसको बाध्यता हुन्छ । ‘बाध्यता’ गर्न पाएको खुशीमा ऊ सपना बुनेर हिँड्छ । ‘राजा’ले राजमार्ग बनाउन खोजेका हुन्छन् । छोरालाई पढाउने र मास्टर बनाउने सपना बोकेर रामबहादुर घरमा सुत्केरी श्रीमती र भर्खरै जन्मिएकी छोरी छोडेर हिँड्छ । 

रामबहादुर राजमार्ग बनाउन पूर्वदेखि पश्चिमसम्म पुग्छ । चर्को गर्मीमा तातो अलकत्राको राप सहेर जब उसको पसिनाले मूल्य पाउँदैन । तब उसले तुहिएका आफ्ना सपना सुनाउन घरमा चिठी लेख्छ । मास्टर बन्ने ठुलेको सपना थाती रहे पनि उसले आपाको चिठीमा अक्षर फुटाएको हुन्छ । 

null

चिठीमा उल्लेख भएको ठेगानमा खोज्दै हिँड्छ ठुले आपालाई । निजगढ, चन्द्रनिगाहपुर उसले देख्छ आपाले बनाएको महेन्द्र राजमार्ग । राजमार्गमा आपा खोज्दै हिँड्दा ठुलेले थाहा पाउँछ आपा आफैँले बनाएको राजमार्गमा लास बनेर लडे । 

आपा खोज्न हिँडेको ठुलेलाई गाउँमा पर्खिएकी हुन्छे बहिनी । उसले पनि थाहा पाउँछे आपा आफैँले बनाएको राजमार्गमा ट्याक्टरले किचेर मरेछन् । 

रामबहादुरको नियति भोग्नुपर्छ ठुलेले । तर, समयसँगै पीडा परिष्कृत बनेर । रामबहादुरले आफ्नै देशमा मजदुरीको नियति भोग्छन् ठुलेले परदेशमा । यी सबै दृश्य हुन् पोखरा थिएटरमा चलिरहेको नाटक ‘मजदुर मार्ग’को । जहाँ आपा खोज्न हिँडेको ठुले आफैँ हराउँछ विरानो शहरमा ।

‘राज्यको सूचीबाट 
हराएकै थियौँ हामी 
यो विपत्मा तिमी झन हरायौँ 

मेरो दाइ !
तिमी कहाँ छौ ?’

ठुले पर्खिएर बसेकी उसकी बहिनी खोज्छे । उसलाई मृतक र घाइतेको सूचीमा । उसले बागमती र विष्णुमतिको किनारमा भेटिएको लासदेखि मन्दिर र गुम्बामा देखिने ख्याउटे माग्ने अनुहारमा खोज्छे दाइको चित्र । तर भेट्दिन उसले ठुलेको अनुहार कहिँकतै । हराएको ठुले एकदिन घर फर्खिएर आउँछ । 

null

‘आमा 
म आइपुगेँ.........’ 

तर, कसरी त्यो कविताको अर्थात् नाटकको अन्तिममा थाहा हुन्छ । राज स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे !’मा आधारित रहेर निर्माण भएको नाटकले रामबहादुरहरूको नियति देखाएको छ । मजदुरको कथा बोलेको छ । नारायण न्यौपानेले निर्देशन गरेको नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, सनिता थापा, कुमार तामाङ, रोशनी रामदाम, रमेश तिमिल्सना, राजकुमारी गहतराज, रोहित पौडेल, परिवर्तन, आकाश परियार, समीक्षा पौडेल र नारायण न्यौपानेले अभिनय गरेका छन् । पोखरा थ्रिएटरमा मन्चन भएको नाटक वैशाख २९ गतेसम्म चल्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्