
देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ ।
यसले दीर्घकालीन असर पर्ने देखिएको छ । एक साता बितिसक्दा पनि डढेलोको प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ्दै जाँदा सगरमाथालगायतका हिमालमा त्यसबाट सिर्जित धुवाँ अर्थात् कार्बन थुप्रिन थालेको विज्ञहरूको भनाइ छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका जल तथा मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठका अनुसार जलवायु परिवर्तनले ल्याएको तातो र डढेलोको धुवाँले हिमालमा तराईको भन्दा बढी गर्मी तुल्याएको छ ।
उनले भने, “यस्तै तातो र डढेलो बढेमा हिमनदी विलीन भएको देख्न पाइने छ ।” कालोपनले सूर्यको किरण अत्यधिक शोषण गर्छ । जसले गर्दा हिमाल तातिने प्रक्रिया छिटो हुन्छ । उनले मानव निर्मित डढेलो नियन्त्रण गर्न केन्द्रीय सरकारले हस्तक्षेप गरेर अघि बढ्नुपर्ने बताए । गोरखापत्रमा खबर छ ।