
केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दुईवटा कारण थिए । एक त आफ्नै स्वास्थ्यका लागि दैनिक बिहान हिँड्नुपर्ने हुन्थ्यो । चिकित्सकले यस्तै सल्लाह दिएका थिए । दोस्रो समाचारको खोजी पनि पथ्र्यो । सञ्चारकर्मीहरू छिद्रान्वेशी हुन्छन्, हुनुपर्छ । यो उनीहरूको पेशागत धर्म पनि हो कर्म पनि हो ।
यसो त हिजोआज यस शब्दको अर्थ अन्यत्रै रूढ भएको छ । प्रायः नराम्रो काम अर्थात् अर्काको चियोचर्चो गरेर स्वार्थ पूरा गर्ने प्रवृत्तिलाई यस्तो भन्ने गरिन्छ तर जसले जसरी अथ्र्याए पनि सञ्चारकर्मीलाई छिद्रान्वेसी हुनैपर्छ । नत्र समाचारको ‘सोर्स’ पत्ता लगाउनै सकिन्न । यसका लागि यताउति घुमघाम गर्न पनि पर्छ र यस्ता काममा अल्छी गर्नु पनि हुँदैन । जसले अल्छी गर्छ ऊ चुक्छ, जसले गर्दैन उसैले समाचार पाउन सक्छ । जे होस् गोपालको दैनिकी यसैगरी चल्दै आएको थियो ।
एक दिनको कुरा हो उसलाई नजिकैको छिमेकी गाउँतिर जान मन लाग्यो । त्यतातिर त्यस अघि गएको थिएन । त्यसैले पनि उसलाई त्यताको अवस्था जान्न मन लागेको थियो तर भइदियो के भने पहिलो दिनमै त्यताको दृष्य अलि कस्तोकस्तो आँखा बिजाउने खालको पायो । आँखाको स्वाभाव पनि कस्तो । सँधै देखिएको दृष्यलाई जस्तो भए पनि सजिलै पचाइदिन्छ । नदेखिएको दृष्यलाई सामान्य नै भए पनि सहजै पचाउन गाह्रो मान्छ । गोपाललाई पनि त्यस्तै भयो । कारण के थियो भने त्यतातिर एउटा सिङ्गै गाउँ नै आमाहरूको रहेछ । आमाहरू पनि कस्ता, देख्दै अनौठा र अनेपालीजस्ता लाग्ने । श्यामश्वेत वर्णका थसुल्ली आमाहरू । यता हेरे पनि उस्तै उता हेरे पनि उस्तै । उस्तै वर्णका, उस्तै आकृतिका । थिए होलान् त्यस्तै सय सवासय जतिका ।
त्यसपछि उसलाई पक्कै यहाँ केही रहस्य छ भन्ने लाग्यो र त्यतैतिर ध्यान दिन थाल्यो । हरेक दिन बिहान त्यतैतिर जान्थ्यो र त्यतैको दृश्य नियाल्ने गर्थ्यो । यसबाट उसलाई घुम्ने काम पनि पूरा हुन्थ्यो र त्यसबारे थप जान्ने अवसर पनि मिल्थ्यो । गुप्त तवरले बुझ्दै जाँदा थाहा पायो उनीहरूका हेरबिचारका लागि एक जना नर्स नानी खटिएकी रहिछिन्, जो नियमित आउँथिन् र प्रेसर आदिको चेकजाँच गरी फर्कने गर्थिन् । एकान्त स्थानको बस्ती भएकाले नजिक हुँदो सामान्य चिया चुरोटका एकाध पसलबाहेक केही थिएनन् । फलफूल तथा तरकारी र दूध, दही लिनका लागि बाहिरै जानुपर्ने हुन्थ्यो । यस कामका लागि एकजना भाइ खटाइएको रहेछ । उनी कहिले मोटरसाइकलमा आएर फलफूल, तरकारी तथा दूध, दही दिएर जान्थे कहिले कुनै भ्यानमा आएर चामल तथा आँटाको बोहोरा झारेर फर्कन्थे ।
यस्तो दृष्य देखेपछि गोपाललाई थप शङ्का लाग्न थाल्यो । आखिर के हो यो ? कहाँबाट कुन कामका लागि आएका हुन् यी मोटा आमाहरू ? कसले कुन प्रयोजनका लागि यसको प्रबन्ध गरेको छ ? यी र यस्तैयस्तै जिज्ञासा बढ्दै गएकाले त्यसैको निगरानी राख्न थाल्यो र बिस्तारै त्यसको रहस्य पनि खुल्दै गयो । ती आमाहरूलाई शहरको कुनै नाम चलेको अस्पतालले ल्याएर राखेको रहेछ । अस्पतालले नै उनीहरूका खान, बस्नलगायत सबै व्यवस्था मिलाएको रहेछ ।
आमाहरूलाई भने बङ्गालतिरबाट ल्याइएको रहेछ । हुन सक्छ कोही बङ्गलादेशतिरबाट पनि आएका होलान् । कारण के रहेछ भने त्यतिबेला विदेशतिर कसैको कोख भाडामा लिएर बच्चा जन्माउने चलन रहेछ । आफैँले बच्चा जन्माउने झन्डट मोल्न नचाहने धनीमानीहरू अरूको कोख भाडामा लिएर बच्चा जन्माउने गर्दा रहेछन् । सायद विदेशतिर महङ्गो पर्ने भएर होला उनीहरूले नेपाललाई गन्तव्य बनाएका रहेछन् तर यस्तो काम गर्ने नेपाली आमाहरू नपाएर हो कि सस्तो खोज्नका लागि हो यताका अस्पतालहरू भने विदेशी बेरोजगार महिलाहरू खोज्दा रहेछन् । यसमा अस्पतालको काम सशुल्क सहजीकरण गर्नु हुँदो रहेछ, लाग्ने खर्च सबै विदेशीले गर्दा रहेछन् ।
वस्तुस्थिति प्रष्ट भएपछि उसले त्यसको समाचार बनाउने निधो गर्यो तर गर्ने कसरी । सोझै होमिने आँट गर्न सकेन । परिवारवाला थियो, बालबच्चा सानै । उता रस्तीबस्ती त्यही गाउँमा । त्यस्तै परे जीवनबाटै हात धुनुपर्ने अवस्था आउन सक्थ्यो । यसो त संवाददाताको नामबाट समाचार पनि दिन सकिन्थ्यो, तर त्यसो गर्न उसको मनले मानेन । किनकि यस्ता खोजमूलक समाचार रिपोर्टरको नाममा वाइलाइन दिनुपर्ने हुन्थ्यो । अन्यथा समाचारको ओज घट्न पुग्थ्यो । त्यसैले एकदिन सहकर्मी साथीहरूसँग कुरा राख्यो, तर कहाँ के भयो कुन्नि समाचार चुहिएर अर्कै एक छापामा पुगेछ । त्यहाँका प्रधानसम्पादकसहित एउटा टोली नै लागेर तीनवटा धारावाहिक समाचार छापे, प्रत्येक दिन एकएक गरेर । पछि यसैको कारण सम्पादक महोदयले कुनै संस्थाको तर्फबाट मोटो रकमको पुरस्कारसहित सम्मान प्राप्त गरे ।
समाचारले सनसनी मच्चाउन थालेपछि मुद्दा न्यायालयसम्म पुग्यो । गरमागरम बहसपछि न्यायालयले परमादेश जारी भन्यो– ‘यस्तो गैह्रसामाजिक काममा तुरुन्तै प्रतिबन्ध लगाउनू ।’ त्यसपछि त्यहाँ त्यस्तो दृष्य देखिएन ।
गोपालले जीवनमा कहिले पनि पछुतो मान्नुपर्ने काम गरेन । थाहा छैन अरूलाई कस्तो लाग्यो तर उसलाई भने आफ्नो कामबाट असन्तुष्ट हुुनुपर्ने अवस्था रहेन तर यो एउटा कामले भने पछिसम्म पनि थकथक गराई नै रह्यो । भनिन्छ, समय आउँछ फर्कँदैन । गोपाललाई पनि यस्तै भयो । समयमै सानो आँट गर्न नसक्दा आफ्नो हातमा आएको समाचार ‘क्याच’ सकेन । सायद ‘जस्तो करनी त्यस्तै भरनी’ भनेको यही हुनुपर्छ । उसलाई अहिलेसम्म पनि त्यही पछुताको भारले थिचिरहेको छ ।