२९ जेठ २०८३, शुक्रबार
जीवनदर्शन

प्रकृतिको गीत

जेठ ५, २०८१
काठमाडौं
प्रकृतिको गीत

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदीहरू मात्र होइन समुद्रहरूसमेत सकिन्छन् । यहाँसम्म कि चन्द्रसूर्यको समेत अस्तित्व समाप्त हुन्छ ।  

रामले अतिभित्र हुँदा समुद्रमा पुल बाँधेका थिए । अति पार गर्नासाथ सरयू नदीले नै डुबाइदियो । कृष्णले अतिभित्र हुँदा कंश, जरासन्ध आदि ठूल–ठूला पहलवानसित मुकाबिला गरेका थिए । अति पार गरेपछि एउटा सामान्य व्यधाको समेत सामना गर्न सकेनन् । तिनै अर्जुन हुन् एक जमानामा उनको गण्डीवको टङ्कार सुन्नेबित्तिकै सबै थर्कमान् हुन्थे । कर्णलाई लतारे । भीष्मलाई घुँडा टेकाए तर अति पार गर्नेबित्तिकै एउटा सामान्य भिल्लकै सामु निरीह बन्न पुगे ।  

के भन्ने खोइ, अति पार गरेपछि बाघलाई स्यालले लान्छ । हात्तीलाई कमिलाले खान्छ । तिनै माछाहरू हुन् अतिभित्र हुँदा कमिला खाँदै हिँड्थे । अति पार गर्नासाथ उनीहरूलाई खान तिनै कमिलाहरू आइपुगेका हुन्छन् । वर्षातको समयमा खहरेहरू बौलाउँछन् । आसपास भेटिएका सबैलाई बढारेर लैजान्छन् । ढुङ्गा बगाउँछन्, वृक्ष बगाउँछन् । यहाँसम्म कि ठूल–ठूला चट्टानलाई समेत बाँकी राख्दैनन् तर के गर्ने, हिउँद लाग्नासाथ सामान्य कीरा–कमिलाको समेत सामना गर्न सक्दैनन् । कहिले घाम कहिले छायाँ । ‘कभी खुसी, कभी गम’ । यही नै संसारको रीत हो, अनि यही नै प्रकृतिको गीत हो ।  

उठ्ने उठ्छन् सुत्ने सुत्छन् । आउने आउँछन् जाने जान्छन् । एउटा जान भ्याएको हुन्न अर्को आइसकेको हुन्छ । कति आए कति गए, तर आउने र जाने क्रम कहिल्यै रोकिन्न, रोकिने छैन । भलै रुप परिवर्तन होला, आकृति परिवर्तन होला, वर्ण परिवर्तन होला तर एउटा गएपछि त्यस स्थानमा अर्को आउँछ, आउँछ । हिजो एउटा थियो । आज अर्को आएको छ । भोलि पक्कै अर्को आउने छ । दिउँसो घामको साम्राज्य हुन्छ । रात पर्नासाथ उसको स्थान लिन ताराहरू आइपुग्छन्, आइपुगेका हुन्छन् । कसलाई के भन्ने ? को आफ्नो को पराइ । ‘माने गङ्गा नमाने बगेको पानी’ । 

एउटा अतिभित्र सबै मेरो अति पार गर्यो कसको, कसको । सबै अर्काको । अर्काको पनि त्यति बेलासम्म, जति बेलासम्म उसले पनि अर्को अति पार गरेको छैन । अति पार गर्ने बित्तिकै पुनः मेरो भन्न अर्को आइसकेको हुन्छ, अर्कोले चमत्कार देखाउन थालिसकेको हुन्छ । 

हिजो अर्कोले चमत्कार देखाएको थियो । आज अर्को चमत्कार  देखाउन आएको छ । भोलि पुनः अर्को आउने छ । आगोलाई निभाउन पानी आउँछ । पानीलाई सुकाउन आगो आउँछ । यो तानातानी, यो खिचातानी त्यतिबेलासम्म जारी नै रहन्छ, जतिबेलासम्म सृष्टिको क्रम चलिरहेको हुन्छ । दिनलाई हटाउन रात आउँछ रातलाई हटाउन दिन आउँछ । हिजो पनि यस्तै । आज पनि यस्तै । सायद भोलि पनि यस्तै । 

आकाशमा कालो बादल मडारिँदै छ, तर त्यो कति बेलासम्म ? त्यति बेलासम्म जति बेलासम्म वायुको झोक्का देखा परेको छैन । जब वायुको झोक्का देखिन्छ तब कालो बादलको साम्राज्य पनि समाप्त हुन्छ । सायद यति बेला आकाशले ठान्छ होला मलाई कसैले छुन सक्दैन तर उसले पनि घमन्ड नपाले हुन्छ । किनकि उसलाई छेक्न कति बेला अर्को बादल आइपुग्छ पत्तै हुँदैन । बादल छ, आकाश पनि छ । आकाश छ, बादल पनि छ । 

एउटा अतिमा एउटाको अस्तित्व । अर्को अतिमा अर्काको अस्तित्व । ठोस, तरल, ग्यास । यही नै सृष्टिको नियम हो । ठोस तरल बन्छ तरल ग्यास बन्छ । ग्यास पुनः ठोस बन्न पुग्छ ।  छेउको माझमा माझको छेउमा । तलको माथि माथिको तल । भित्रको बाहिर बाहिरको भित्र । यही नै जीवन हो, यही नै जगत् हो । अनि यही नै जीवनदर्शन हो । जब सृष्टिको नियम नै यही छ भने फुर्ति किन ? राम्रो म किन ? ‘सबैले खाने भातै हो जाने घाटै हो ।’ 

वास्तविकता के हो भने जसले प्रकृतिको यस गीतलाई सुनेको हुन्छ ऊ सुखी हुन्छ जसले सुनेको छैन वा सुन्ने प्रयास गरेको छैन ऊ दुःखी हुन्छ । जहाँसम्म प्रकृतिको गीत सुनेर सुखी हुने कि बेवास्ता गरेर दुःखी हुने त्यो भने आफ्नै हातमा हुन्छ ।

कमेन्ट गर्नुहोस्