१६ असार २०८३, मंगलबार
गाउँले भाकामा विद्यावारिधि

लोक संस्कृतिमा पीएचडी गरेका तुलसीराम : ११० जातजातिको अध्ययन, ३७ वटा अनुसन्धान

जेठ ५, २०८१
कास्की
लोक संस्कृतिमा पीएचडी गरेका तुलसीराम : ११० जातजातिको अध्ययन, ३७ वटा अनुसन्धान

सेनामा भर्ती हुने चलन स्याङ्जाका अधिकांश क्षेत्रमा छ । गीतमा रम्ने गाउँले त्यसैमार्फत विरह पोख्थे । लाहुर गएको खसम वा छोरालाई गीतमार्फत् सम्झिन्थे । 

‘गल्लै लाउरेले रल्लै पार्यो दाइ मलाई ’

‘झम्टिन रुन आको 
सम्झिन रुन हुन्थ्यो’

यही भाका सुनेर हुर्किए स्याङ्जाको भीरकोटका डा तुलसीराम खनाल । बूढापाकाबाट यी भाका सुन्दै हुर्किए । आँधीखोला क्षेत्रमा हुर्किएका उनलाई सानैदेखि संगीतमा रस बस्यो । आमाले खेत गोड्दा सुनेका गीतले उनलाई आनन्द मिल्थ्यो ।  

‘बाल्यअवस्थाबाट नै एक खालको प्रभाव मलाई परिरह्यो । मेरै आमा पनि गीत गाउनुहुन्थ्यो । खेतमा काम गर्दा, कोदो गोड्दा वा गाँस काट्दा होस् । उहाँहरूले गाएको गीत सुनेपछि मलाई प्रभाव परिहाल्थ्यो,’ उनले सम्झिए । 

संगीतप्रतिको रस यसरी बस्यो कि तुलसीरामले आफ्नो विद्यावारिधि (पीएचडी) लोकसंस्कृतिमा गरे । स्याङ्जा क्षेत्रमा मात्र सुनिने भाका उनले अध्ययन गरे । संगीतप्रतिको मोह भए पनि उनी लामोसमयसम्म योबाट अलग नै बसे । विसं २०४९ सालमा एसएलसी दिए । अध्ययनकै शिलशिलामा उनी व्यस्त बने । यसबीच उनको जीवनबाट संगीतको मोह भंग भएको थियो । तर, २०६० सालमा स्नातकोत्तरको थेसिसका लागि विषय रोजाइले तुलसीलाई आफ्नो रुचिमा फर्कायो । 

‘एकजना सरले मलाई आँधीखोला क्षेत्रको मान्छे हुनुहुँदो रहेछ, त्यही क्षेत्रका गीतमा गर्नुहोस् न भन्नुभयो । यसपछि मैले यो क्षेत्रका गीतको बारेमा स्नताकोत्तर तहको थेसिस गरेँ,’ उनले भने । 

त्यसपछि तुलसीरामको जिन्दगीको मोड बदलियो । संगीतको रस यसरी बस्यो कि, उनलाई त्यसैले तान्यो । यसपछि पीचडी नै लोक संस्कृतिमै गरेका हुन् । ९ जिल्ला पुगेर आफूले संगीतको रस बुझेको उनी बताउँछन् । ‘नेपाली खेली गीतमा रस विधान’मा उनले पीएचडी गरे । प्रयोग गर्ने भाषाका कारण जुन थोरै विवादित पनि बन्यो । ‘रोइला’ भनेर प्रचलनमा रहेको गीतलाई उनले रैला भएको निष्कर्ष निकाले । 

‘रोइला भन्ने शब्द अलिकति हेपेर भन्न खोजेको हो खास । जून क्षेत्र आँधीखोला र पर्वतको पैयूँमा यी गीतहरू प्रचलनमा छन् । त्यहाँका बूढापाका यी गीत रोइला होइन खेली हुन् भन्छन् । त्यही  निष्कर्षमा पुगेर मैले पीएचडी पूरा गरेको छु,’ उनले प्रष्ट्याए ।

विद्यालय र उच्च माध्यमिक तहको पढाइ सकेर तुलसीरा स्नातक तहको पढ्न वालिङ पुगे । त्यसपछि उनी पढ्नकै लागि भनेर काठमाडौं पुगे । पढाइलाई निरन्तरता दिए । शिक्षा र नेपाली दुवै विषयमा स्नातकोत्तर गरे । पीएचडीका लागि लोकसंस्कृृति रोजे । पीएचडी गर्न हिँड्नुअघि तुलसीरामले गण्डकी भेगका अरु थुप्रै नयाँ गीत र भाका सुने । जसले उनलाई थप यसैमा अध्ययन गर्न डोर्यायो । यसपछि उनी ‘जातीय, सामाजिक र सांस्कृतिक अनुसन्धान’ पनि काम गर्न थाले । 

‘मगरको आफ्नै र गुरुङको आफ्नै गीत हुन्छ । नामै नसुनेका कैयौं गीत भेटिइसकेपछि मलाई यो खेली गीतमात्र खोजेर हुन्न भन्ने लाग्यो । यसर्थ यसमा भिन्नै काम गरेँ,’ उनले भने । 

tulsiram photo

स्याङ्जा र पर्वतको सेरोफेरोमा गाइने गल्लै लाउरे गीत प्रथम र दोस्रो विश्वयुद्धदेखि गाउन शुरू भएको सुनाउँछन् उनी । त्यसभेगबाट विशेषत भर्ती हुन जाने चलन थियो । भर्तीमा जनजाति समुदायले प्राथमिकता पाउँथे । तर, गल्लै लाउरेका गीत यी बाहेकका समुदायमा प्रचलनमा थियो । उनी आफैँ यसमा केही विवाद रहेको सुनाउँछन् । 

‘यसमा एउटा कन्ट्याडिक्सन छ । यो गीत गुरुङ–मगरमा भन्दा बाहुन–क्षेत्रीमा बढी प्रचलनमा छ । हाम्रो समाज मिश्रित समाज भएकाले यसलाई धेरै अनौठो मान्न मिल्दैन । जे होस् विरहमा परेको आवाज यो गीतले भनेको छ,’ उनको बुझाइ छ । 

त्यसो त तुलसीरामले गरेको अध्ययनले नै उनलाई अध्ययनमा अझ तान्यो । अहिले उनले ११० जातजातिको अध्ययन गरिसकेका छन् । गण्डकी प्रदेशका जातिका गीत, नाँचगान र बाजागाजाबारे उनले स्थलगत रुपमै अध्ययन गर्न भ्याएका छन् । संस्कृतिले पनि चिनाउने यसको अध्ययन हुनुपर्ने उनी बताउँछन् । 

‘नेपाललाई संसारमा केही कुरा चिनाउने भनेको कि प्रकृतिले हो, कि संस्कृतिले हो । यहाँको संस्कृतिमा जुन जातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता छ । यहाँ हरेक जातिको आ–आफ्ना संस्कृति छन् । नेपालमा संस्कृतिको क्षेत्रमा राम्रो अनुसन्धान भएको छैन । मलाई यही कुराले यो क्षेत्रमा आकर्षित गर्यो,’ उनी भन्छन् ।

पढाइ पूरा गर्न भारतमा भाँडा माँझे 

तुलसीरामको गाउँ आँधीखोलामा बसेर आम्दानी गर्नलाई स्रोत कमै थियो । उनलाई आमाले दुःख गरेर पढाएकी थिइन् । त्यो कुरा उनले एसएलसी दिएपछि बुझे । घरको पारिवारिक स्थिति थाहा पाएपछि आमालाई नभनी उनी घरबाट भागे । भारत पुगे । अन्य जागिर नपाएपछि भाँडा माझ्ने काम गरे । 

तुलसीराम तीन महिना काम गरेर नेपाल फर्किए । हातमा अलिअलि पैसा थियो । यसपछि आइए पढ्न लागे । पुगनपुग भयो । ऋण लिएर भएपनि पढाइ पूरा गरे । परीक्षा दिएर काम गर्न फेरि भारततर्फ नै लागे । केही समय काम गरेर उनी नेपाल फर्किए । यसपछि स्नातक तह पढ्न थाले । सो तह उतीर्ण गरेपछि हातमा परेको शैक्षिक प्रमाण प्रत्रले उनलाई आफ्ना दिन फेरिन थालेको महसुस भयो । 

‘ब्याचलर पढ्न थालेसँगै मैले शिक्षण पेशा पनि गरेँ । त्यसपछि अलि राम्रो हुन थाल्यो,’ उनले विगत सम्झिए, ‘यसबीचका धेरै दिन चिउरा र पानी मात्र खाएर बसेको अनुभव पनि मसँग छ ।’

कमाउँदै पढ्दै गरेपछि तुलसीरामको पढाइ अघि बढ्दै गयो । पीएचडी सकेपछि उनी पोखरा आए । पोखरा आएर आर्मी विद्यालयमा पढाउन थाले । ‘आगोको रापमा सुन खार्नुपर्छ, मान्छे संघर्षले खारिएपछि बन्छ । त्यो मान्छे म हुँ,’ उनी सगर्व भन्छन् ।

उतारचढाव अघि बढेका उनको मानसपटलमा आउने सबैभन्दा प्यारो याद हो– आमाको संघर्ष । आमाले दुःख गरेर आफूलाई पढाएको क्षण । 

आफूले दुःखले आर्जेको ज्ञान तुलसीराम अहिले अरुलाई सिकाउने काममा लागिरहेका छन् । संस्कृतिको पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने स्पष्ट विचार उनी राख्दै आएका छन् । उनको सोचमा नयाँ पुस्ता संस्कृतिसँग विमुख हुँदै गइरहेको छ । उनीहरूलाई समाजको संस्कृतिसँग परिचय गराउने सोचका साथ उनले पाठ्यपुस्तकको काम पनि गरिरहेका छन् । स्थानीय तहले आफ्नै पाठ्यपुस्तक समावेश गर्न पाउने भएपछि उनी यसमा पनि लागेका हुन् । उनले थुप्रै स्थानीय पालिकाका विद्यालयका लागि पाठ्यपुस्तक लेखेका छन् ।

‘हामीले नयाँ पुस्तामा पनि हाम्रो संस्कृति चिनाउनुपर्छ । परम्परा चिनाउनुपर्छ । हाम्रो ठाउँ चिनाउनुपर्छ । किताबमा हामीले त्यस स्थानका पर्यटकीय स्थान, मठमन्दिर, जडिबुटी र संस्कृति पढाउँछौँ,’ उनले थपे, ‘शिक्षा पहिलो प्राथमिकता हो । सँगै पढाइमार्फत संस्कृति पनि बचाउने हो ।’

करिब ३७ वटा अनुसन्धान गरेका उनी हाल गण्डकी प्रज्ञा प्रतिष्ठानमा अनुसन्धान विज्ञका रूपमा कार्यरत छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनारमा नेपालको प्रतिनिधित्व गर्दै लोकसंस्कृतिबारे उनले प्रतिनिधित्व गरेका छन् । उनको यस योगदानका लागि विभिन्न संस्थाले सम्मानसमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्