
पहिरोका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्ड तथा कालिगण्डकी करिडोरमा यान्त्रिक उपकरण तयारी अवस्थामा राखेको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाई सवारी आवागमनलाई तत्काल सुचारु गर्न विभिन्न स्थानमा अपरेटरसहितका हेभी उपकरण तैनाथ गरिएको हो।
मुग्लिन क्याम्पमा एक लोडर राखिएको छ भने सेती दोभान क्याम्पमा एक एक्साभेटर, एक लोडर र एक ब्याक–हो लोडर तयारी अवस्थामा छन्।
त्यस्तै सडक डिभिजन भरतपुर परिसरमा एक ब्याक–हो लोडर तथा कालिगण्डकी करिडोर क्षेत्रमा एक लोडर तैनाथ गरिएको छ।
सडक डिभिजनले वर्षायाममा हुने सम्भावित पहिरो व्यवस्थापन गरी मुख्य सडकहरूमा सवारी आवागमन चुस्त र दुरुस्त राख्ने उद्देश्यले पूर्वतयारी गरिएको जनाएको छ।