
स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर गरेको महत्वपूर्ण गोलको मद्दतले नर्वे सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
डालस स्टेडियममा बुधबार बिहान सम्पन्न रोमाञ्चक अन्तिम ३२ को खेलमा आइभोरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले नकआउट चरणको अर्को यात्रा तय गरेको हो।
उक्त प्रतिस्पर्धात्मक खेलको ३९ औं मिनेटमा नर्वेले सुरुवाती अग्रता लिएको थियो। कप्तान मार्टिन ओडेगार्डको पासमा एन्टोनियो नुसाले उत्कृष्ट कर्लिङ प्रहारमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को स्थितिमा पुर्याएका थिए।
दोस्रो हाफमा आइभोरी कोस्टले खेलमा फर्कन निकै संघर्ष गर्यो। खेलको ७४ औं मिनेटमा आमाद डियालोले व्यक्तिगत कौशल देखाउँदै एक उत्कृष्ट गोल गरेर खेललाई १–१ को बराबरीमा ल्याए। निकोलस पेपेको पासमा डियालोले विपक्षी रक्षापंक्तिलाई छिचोल्दै गरेको उक्त गोललाई प्रतियोगिताकै उत्कृष्ट गोलमध्ये एक मानिएको छ।
खेल बराबरीको दिशामा अघि बढिरहेका बेला ८६ औं मिनेटमा नर्वेका लागि एर्लिङ हालान्ड नायक सावित भए। ओस्कार बब र प्याट्रिक बर्गको राम्रो तालमेलमा सिर्जना भएको अवसरलाई सदुपयोग गर्दै हालान्डले बललाई जाली चुमाएका थिए।
खेलको अन्तिम समयमा आइभोरी कोस्टले बराबरीका लागि निकै प्रयास गरेको थियो। इन्जुरी समयमा आमाद डियालोले ३० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहारलाई नर्वेका गोलकिपर ओर्यान निल्यान्डले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे। सात मिनेटको थप समयमा आइभोरी कोस्टका गोलकिपर समेत कर्नर प्रहारका लागि अगाडि बढे पनि नर्वेको रक्षापंक्ति तोड्न सकेनन्।
यस जितसँगै नर्वेले अब आगामी सोमबार न्युयोर्कमा हुने अन्तिम १६ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलको सामना गर्नेछ। आइभोरी कोस्ट भने प्रतियोगिताबाट बाहिरिएको छ।