
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेशहरूमा सत्ता साझेदारीको सहमति भएको छ ।
शनिबार अपरान्ह भएको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने उल्लेख छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमतिपत्रमा उल्लेख छ ।
यसअघि प्रदेशहरूमा एमाले-कांग्रेसको सत्ता साझेदारी थियो । तर पछिल्लो समय यी दुई दलबीच सत्ता सञ्चालनमा दरार आएको थियो । त्यसकै असरस्वरूप शनिबार मात्र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका थिए ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए। उक्त राजीनामा प्रदेश प्रमुख यज्ञराज जोशीले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेका छन्।
००००
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित 'औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेशसभाबाट पारित तथा सभामुखबाट प्रमाणित भई प्राप्त भएको उक्त विधेयक सन्देशसहित प्रदेशसभामा फिर्ता पठाइएको हो।
००००
खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो ।
००००
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्था जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
००००
नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गर्दै प्राधिकरणले मासिक रूपमा विद्युत् खपतको रिडिङका आधारमा बिलिङ गर्दै आएको उल्लेख गरेका छन्। उनले असार १ देखि ३२ गतेसम्मको खपतको बिलिङ २०८३ साउन १ गतेदेखि भएको अवस्थामा त्यसमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषय स्पष्ट पारिदिन अनुरोध गरेका छन्।
००००
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (डीनको कार्यालय) ले एमबीएस प्रथम सेमेस्टरको परीक्षासँग सम्बन्धित प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको विषयमा आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरेको छ।
व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईले शनिबार साइबर ब्युरोलाई पत्राचार गर्दै एमबीएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behavior विषयको प्रश्नपत्रसम्बन्धी सामग्री विभिन्न ह्वाट्सएप समूहमा पोस्ट गरिएको जानकारी साउन ८ गते राति करिब १० बजे 'टीयू स्टुटेन्ट' नामक फेसबुक आईडीमार्फत प्राप्त भएको उल्लेख गरेका छन्।
००००
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी आज धनगढी पुगेका थिए ।
सचिव पौडेलले आजै उपचाररत डा. केसीलाई सेती प्रादेशिक अस्पताल पुगेर भेटेका थिए । त्यस क्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए ।
००००
काठमाडौंको तारकेश्वरमा कारभित्रै जलेको अवस्थामा महिलाको शव भेटिएको छ ।
तारकेश्वर नगरपालिका १ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै तारकेश्वर नगरपालिका ९ शुभकामना चोक बस्ने ४५ वर्षीय रश्मि रिजाल मृत भेटिएकी प्रहरीले जनाएको छ ।
००००
रौतहट-४ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि भएको कालो मसी प्रहार र दुर्व्यवहारको घटनाप्रति रास्वपा संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विज्ञप्तिमार्फत पार्टीले यस किसिमको हिंसात्मक तथा अमर्यादित गतिविधिको घोर भर्त्सना गरेका हुन् ।