
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्रीको संलग्नताको प्रश्न हो ।
हुन त नेपालमा हुँदै आएका ठूला भ्रष्टाचारका घटनामा उच्च तहका राजनीतिक व्यक्तिको संलग्नता देखिए पनि राज्यले कारबाही गरेका दृष्टान्त कमै छन् । अब पनि कसैमाथि छानबिन होला र कारबाही समेत होला भन्नेमा कसैलाई विश्वास छैन ।
यसलाई नेपाली राजनीतिको खासियत मान्नुपर्छ । राजनीतिको मूल चरित्र नै यस्तो भएपछि अहिलेको प्रकरण पनि मौसमी बाजामा परिणत हुने खतरा देखिन्छ । अब यसलाई तार्किक निष्कर्षमा पुर्याउने/नपुर्याउने दलहरूकै हातमा छ ।
नेपाली जनताको स्पष्ट कुरा के छ भनेर राज्यका जिम्मेवार व्यक्तिहरू पनि आफूले गरेको कसुर या अपराध अनुरूप सजायको भागीदार हुनुपर्छ । यस्तो अवस्था सिर्जना नगर्ने हो भने नेपाली समाजले अझ दुरावस्था झेल्नुपर्ने दिन आउनेछ । यसका लागि इतिहासको वर्तमान कालखण्ड जिम्मेवार हुनेछ । वस्तुनिष्ठ छानबिनले नै यस सहकारी प्रकरणमा संलग्न व्यक्तिहरूको पहिचान हुन्छ र यस प्रकरणले पनि निकास पाउँछ ।
गृहमन्त्रीजीले आफ्नो नाम आएपछि उहाँको दृष्टिमा निराधार भएपनि छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ र आफूलाई सही साबित गर्न सक्नुपर्छ । आफैं सरकारको महत्त्वपूर्ण व्यक्ति भएको हुनाले संसद्मा बोलेर मात्र होइन, आजसम्मका भ्रष्टाचार प्रकरणहरूमा छानबिन गराउने हैसियत देखाउन सक्नुपर्छ । अन्यथा आफू मात्र होइन, अरू पनि ठीक छैनन् भनेर दोषबाट उन्मुक्ति लिन खोजेको प्रमाणित हुनेछ ।
नेपाली जनताले यस्ता धेरै घटना र दृश्य व्यहोर्नुपरेको र देख्नुपरेको धेरै भयो । अंग्रेजीमा एउटा भनाइ छ, 'अ बार्किङ डग सेलडम बाइट्स' भुक्ने कुकुरले बिरलै टोक्छ । राणाशाही, पञ्चायत र बहुदल भोगेका जनताको शृंखलाबद्ध अनुभूतिको निष्कर्ष यही हो । जनताको मनमा संशय राखेर जनतालाई नै उपदेश दिन पाइँदैन । आफूलाई सही, सत्य र पारदर्शी प्रमाणित नगरिकन कोही पनि जनताको मसिहा बन्न सकिँदैन ।
मान्छेका आ–आफ्नै दुःख छन्, संस्था र समाजका पनि हुन्छन् । यसका खास कारणहरू पनि छन् । भगवान् बुद्धले भनेजस्तो संसारमा दुःख छन्, दुःखका कारण छन् र यसबाट मुक्तिको उपाय पनि छ । आजका हाम्रा दुःख र यसका कारणहरूका बारेमा चर्चा गर्नु उपयुक्त र सान्दर्भिक हुनेछ ।
कांग्रेस हारको शृंखला
केही समयअघि इलाम र बझाङमा उपचुनाव सम्पन्न भएर दुवै स्थानमा कांग्रेस पराजित भएको घटना ताजै छ र गत संसदीय निर्वाचनपश्चात पराजयको शृंखला निरन्तर जारी छ । विगत आमनिर्वाचनपछिका हरेक निर्वाचनमा कांग्रेसले राष्ट्रपति पदबाहेक कुनै पनि जित र उपलब्धि हासिल गर्न सकेको छैन । यसको कारण के हुनसक्छ ? चितवन र तनहुँ दुवै जिल्ला कांग्रेसका परम्परागत गढ थिए । अझ तनहुँ त पार्टीका वरिष्ठ नेता र हालका राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएको ठाउँ हो । यस क्षेत्रमा गहिरो राजनीतिक/सामाजिक साइनो वा सम्बन्ध नै नभएका उम्मेदवारले फराकिलो मतान्तरले चुनाव जित्नु एक प्रकारले अनपेक्षित र आश्चर्यजनक घटना थियो । यसले नेपालको राजनीतिमा ठूलो तरंग समेत पैदा गर्यो ।
अर्को कुरा, गत संसदीय निर्वाचनमा गठबन्धनमा समेत नरहेको, हाल पनि विपक्षी गठबन्धनमा सामेल भएर सरकारमा गएको र मधेशमा कांग्रेस खुइल्याउन अग्रणी भूमिका खेलेको जसपालाई सरक्कै उम्मेदवारी छाड्नु र चुनाव जिताउन मरिहत्ते गर्नु अझ दुःखद् राजनीतिक घटना थियो । यसको कारण के हो ? देशभरका कांग्रेसजनलाई आजसम्म कसैले पनि चित्त बुझाउन सकेको छैन । त्यसबेला कांग्रेसले जसपालाई चुनाव मात्र जिताएन, उपराष्ट्रपतिको उच्च पद समेत दिलायो । यसको खास बाध्यात्मक र रणनीतिक कारण एवं उद्देश्य के थियो, आजसम्म कसैले बुझ्न र भेउ पाउन सकेको छैन ।
पार्टीका आमसदस्यले बुझेको कुरा त के हो भने यसबाट रणनीतिक रूपमा जसपा सफल भएको थियो र कांग्रेस असफल । अब समयक्रममा विकसित पछिल्लो राजनीतिक घटनाक्रम अनुरूप वर्तमान गठबन्धन भत्किएर कांग्रेस सम्मिलित गठबन्धन निर्माण हुन सकेमा जसपामाथिको आजसम्मको राजनीतिक लगानी असुली होला नत्र कांग्रेसले जसपालाई बोक्नुको औचित्य पुष्टि गर्न सक्ने छैन । अहिले जसपा टुक्रिएर आफ्नो पुरानो हैसियत गुमाइसकेको अवस्थामा उसको साथ सहयोगले कति नै बल पुग्ला र ?
ठोस गृहकार्य
कुनै पनि व्यक्ति वा संस्थाले बारम्बार सामना गर्नुपर्ने सबै प्रकारका चुनौतीहरूबाट पार पाउन त्यति सहज वा सजिलो छैन । संघर्ष, प्रतिस्पर्धा, प्रतिद्वन्द्विता, चुनाव र युद्धजस्ता परीक्षाहरू उत्तीर्ण गर्न ठूलो तयारी आवश्यक पर्छ । यसमा थोरैमात्र हेलचेक्य्राइँ भयो भने नतिजा सोचेजस्तो आउँदैन । मानव जीवन वा संस्थाको जीवनमा यस्ता घटनाहरू दोहोरिइरहन्छन् । आफूलाई अब्बल साबित नगरुञ्जेल अपेक्षित नतिजा ल्याउन सकिँदैन र सधैंभरि तदर्थवादी ढंगले चल्ने हो भने पनि परिणामहरू सुखद हुँदैनन् । महान् उद्देश्य भएका व्यक्ति वा संस्थाले सदैव यसको हेक्का राख्नु पर्दछ । आजसम्म नेपाल तदर्थवादमा चलेको यथार्थ यहाँ दोहोर्याइरहनु पर्दैन ।
अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले एकपटक भनेका रहेछन्, 'यदि तिमी मलाई रूख काट्नका लागि ६ घण्टा समय उपलब्ध गराउँछौ भने म पहिलो चार घण्टा बञ्चरो उध्याउनमा खर्च गर्छु ।' यस भनाइले व्यक्तिको सफलता उसको गम्भीर तयारीमा निर्भर गर्छ भन्ने कुरालाई संकेत गर्दछ र यो अवश्यम्भावी हुन्छ । यसैगरी एकपटक चिनियाँ नेता देङ स्याओ पेङलाई पत्रकारले प्रश्न गरेछन्, 'तपाईं दिनमा कति घण्टा काम गर्नुहुन्छ ?' देङले उत्तर दिएछन्, 'दुई घण्टा' अनि बाँकी २२ घण्टा नि ? जवाफमा उनले भनेछन्, 'केही घण्टा सुत्छु र अरू सम्पूर्ण समय तयारी गर्छु ।' यसले पनि व्यक्तिको लक्ष्यप्रतिको एकाग्रतालाई नै संकेत गर्छ ।
आखिर संस्थाको नेतृत्व पनि व्यक्तिले नै गर्ने हो । सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूले आफ्नो सम्पूर्ण क्षमता र समय आफूले नेतृत्व गरेको संस्थाको उन्नतिमा लगाउनु पर्दछ र यो उसको प्राथमिक दायित्व पनि हो । यसका निम्ति ठोस गृहकार्य आवश्यक पर्दछ । यदि त्यसो भयो भने अपेक्षित परिणाम प्राप्त हुन्छ र व्यक्ति, संस्था, समाज वा राष्ट्र सफल पनि हुन्छ ।
चुकेको समय
यतिबेला नेपाली कांग्रेसका नेता तथा सदस्यहरूले वर्तमान राजनीतिक परिस्थितिको वस्तुनिष्ठ मूल्यांकन गर्दै आफ्नो अवस्था र भोलिका निम्ति आवश्यक तयारीमा जुट्नुपर्ने आजको ऐतिहासिक आवश्यकता देखिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात कांग्रेसलाई प्राप्त अवसरको राम्ररी सदुपयोग हुन सकेको भए सशक्त प्रतिद्वन्द्वीको रूपमा न कम्युनिस्ट पार्टीको उदय हुन्थ्यो, न अहिले आएर नयाँ दलहरूले चुनौती नै दिन सक्थे ।
०४७ सालको संविधान निर्माण गर्दासम्म अत्यन्त जिम्मेवार ढंगले कार्यसम्पादन गरेको कांग्रेस ०४८ को संसदीय निर्वाचनपछि घरझगडामा नराम्ररी फस्न पुग्यो । नेपाली राजनीतिमा यसको बहुआयामिक नकारात्मक प्रभाव पर्यो । अहिले देखिएको भौतिक विकासको जग त्यतिबेलै बसेको भएपनि सरकार र पार्टीबीचको शक्ति संघर्षले तत्कालीन राजनीतिमा प्रवाह गरेको अस्वस्थ प्रभावबाट नेपाली राजनीति नराम्ररी गिजोलिन पुग्यो । त्यतिबेला कांग्रेसले आफू लोकतन्त्रको सच्चा हिमायती र लोकतान्त्रिक संस्कृतिको पाठशाला हो भन्ने कुरा चटक्कै बिर्सियो ।
देशमा भर्खरै पुनःस्थापना भएको लोकतान्त्रिक शासन प्रणालीको जग बसाल्ने गहन अभिभारा बोकेको कांग्रेसले विभिन्नथरिका कम्युनिस्ट पार्टीहरूलाई संसदीय लोकतन्त्रको शान्तिपूर्ण बाटोमा हिँडाउनु पर्ने दायित्व पनि लिएको थियो । भौतिक विकास, विधिको शासन र लोकतान्त्रिक संस्कृति समेत हुर्काएर नेपाललाई प्रगति पथमा हिँडाउनुपर्ने गुरुत्तर जिम्मेवारी कांग्रेसको काँधमा थियो । विडम्बना नै मान्नुपर्छ कि मूल दायित्व छाडेर सिङ्गो पार्टी गृह कलहमा व्यस्त र मस्त भयो । यसका लागि वर्तमानका केही नेताहरू पनि जिम्मेवार छन्, जसले त्यतिबेला नेता भिडाएर आफ्नो दुनो सोझ्याउन खोजे र थोरबहुत सोझ्याए पनि, जसको प्रत्यक्ष साक्षी नयाँ पुस्ता पनि छ । त्यतिबेलाको राजनीतिक परिदृश्य घामजत्तिकै छर्लङ्ग छ ।
अर्कोतिर, कांग्रेसले ०४८ र ०५६ को जनादेशलाई सम्हाल्न नसकेकै हो । अहिले आएर पनि त्यस राजनीतिक दुर्घटनालाई पार्टीले निशंकोच रूपमा स्वीकार्न सकेको देखिँदैन । अब यसमा लाज मान्नुपर्ने वा त्यसलाई ढाकछोप गर्नुपर्ने कुनै कारण छैन । लोकतन्त्रको विकासक्रममा त्यस्ता घटना र कमजोरी देखापर्छन् । विश्व राजनीतिमा नेपाल अपवाद होइन । संसद विघटनको त्यो घटनाले परिवर्तनलाई आत्मसात गर्न नसक्ने, राजनीतिलाई अस्थिर बनाउन चाहने र लोकतन्त्रको दीर्घ जीवन नचाहने शक्ति तथा समूहहरूलाई निकै उत्साहित तुल्याउने स्थिति बन्यो । साथै, राज्यमा सुशासनको अभाव र भ्रष्टाचारको बिगबिगीले लोकतन्त्रविरोधीहरूका लागि उर्बर जमिन तयार भयो ।
यसैको जगमा माओवादी विद्रोह खडा भयो र फैलियो । त्यसले पुर्याएको राजनीतिक, सामाजिक र आर्थिक क्षतिका सन्दर्भमा धेरै पुस्तक नै तयार भएका छन् । यसैको चपेटामा परेर १७ हजारभन्दा बढी नेपालीहरूले आफ्नो अमूल्य जीवन गुमाउनु परेको कहालिलाग्दो तस्वीर हामीसँग छ । यसैगरी आफूले गुमाएको शासनाधिकार फिर्ता गर्ने दाउ हेरेर बसेको राजदरबार समेत उपरोक्त परिस्थितिबाट हौसिएको थियो ।
अन्ततः कांग्रेसकै हातबाट पुनः संसद् विघटन हुन पुग्यो । त्यसले पर्दाभित्रबाट खेल खेलिरहेको राजतन्त्र खुलेआम प्रकट भयो । तत्पश्चातका राजनीतिक घटनाक्रमहरूले लोकतन्त्रका लागि झण्डै ५ बर्ष अनवरत संघर्ष गर्नुपर्ने स्थिति पैदा भयो । यी सबै परिस्थितिका लागि हामी जिम्मेवार छौं कि छैनौं ? निशंकोच भन्न सक्नुपर्छ कि हामी नराम्ररी चुक्यौं र जिम्मेवार छौं, अब सही बाटो हिँड्छौं ।
सत्ताको नशा
अब एउटा प्रश्न उठ्छ, २०६३ सालको युगान्तकारी ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् पनि हामीले १८ वर्ष व्यतीत गरिसकेका छौं ।
यो अवधिका राजनीतिक घटनाक्रमबारे त नेपाली समाजको कान्छो पुस्ता समेत जानकार छ । यस कालखण्डमा कांग्रेसले आफूलाई सुधार्यो वा सुधारेन ? यसबीचमा प्राप्त भएका सरकार चलाउने अवसरहरूलाई सदुपयोग गर्यो वा गरेन ? यसको जवाफ पनि उत्साहजनक छैन । आफ्नाप्रतिको जनगुनासो के छ ? कहाँ–कहाँ चुक भयो ? गल्तीकमजोरी के कति भए ? आजसम्म यसको गम्भीर समीक्षा र सिंहावलोकन हुँदै भएन ।
सत्ताको नशा यति धेरै लाग्यो कि दुःखका साथी र राजकीय पद दिलाउने जनता बिराना भए । जीवनशैली, प्राथमिकता र आचरण फेरियो । सरकारमा पुगेका विभिन्न थरिका कम्युनिस्टहरूसँगको उठबसले त कांग्रेसको मूल चरित्र नै हराएर सबै एकैजस्ता देखिन थाले । बिचौलिया, दलाल र चाकरिबाजहरू प्रिय भए । यस्ताको संगत र सहकार्यले गल्ती तथा सही छुट्याउने विवेक समेत गुम्यो । आफ्नो वैयक्तिक स्वार्थका निम्ति संस्थाको स्वार्थ गौण बन्न पुग्यो ।
बारम्बारको सत्तारोहणले त अहंकार यति बढ्यो कि सँगैको साथी बैरी देखिन थाल्यो । सत्ता उन्मादले लोकतान्त्रिक संस्थाहरू निरीह साबित भए । विधिको शासन कागजमा सीमित हुन लाग्यो, तर पनि होश आएन । निरीह जनताको जीवनमा कुनै सुधार भएन । नयाँ पुस्ता राजनीतिबाट कोशौं टाढा पुग्यो । देशको अर्थतन्त्र सुदृढ हुन सकेन । स्वास्थ, शिक्षा र रोजगार मरुभूमिको पानी भयो । छिमेकी देशहरूसँग सम्बन्ध सुमधुर भएन । समाजमा शान्ति र अमनचयन कायम भएन । राज्य संयन्त्र जिम्मेवार भएन । समाजको आधारभूत तहदेखि केन्द्रसम्म भ्रष्टाचारले गाँज्यो । दुनियाँका अगाडि राष्ट्रको प्रतिष्ठा धुमिल हुन पुग्यो । तैपनि चेत फर्किएन । दलहरूलाई सत्ताको मदिराले लठ्याउनुसम्म लठ्यायो ।
आजसम्मको यही हाल छ, यस्तै ताल छ । सुधारको कुनै लक्षण छैन । यसका लागि पछिल्लो समय कम्युनिस्टहरू बढी जिम्मेवार छन्, तर उनीहरूलाई मात्रै दोष दिएर कांग्रेस उम्किन सक्ने ठाउँ छैन । आफ्नो भागमा परेको दोषको जिम्मा लिनु पर्दछ । र, तत्कालै विगतको सिंहावलोकन गरेर अगाडिको मार्गचित्र तय गर्नुपर्छ ।
इतिहासबाट शिक्षा
भगवान् जस्तो कोही पनि सर्वसम्मत र लोकप्रिय हुँदैन । विभिन्न युगमा भगवानमाथि पनि प्रश्न उठाउने कालपात्रहरू खडा भए । र, विभिन्न धर्म र भगवान् खडा भए । मान्छे वा मान्छेले बनाएका संस्थाबाट त गल्ती कमजोरी हुन्छन् नै । बुद्धिमान मान्छे वा संस्था सधैँभरि विगतको कमजोरी सम्झिएर झोक्राएर बस्दैन । आत्मग्लानि वा अपराधबोधले खुम्चिएर किंकर्तव्यबिमूढ पनि हुँदैन । पुराना गल्ती कमजोरीबाट सिकेर नयाँ कार्ययोजना र उच्च आत्मबलका साथ भविष्यको यात्रा तय गर्छ । आज नेपालको राजनीति र कांग्रेस यस्तै मोडमा उभिएको छ ।
नेपालका हरेक राजनीतिक परिवर्तनमा निभाएको नेतृत्वदायी र अग्रणी भूमिकालाई पुँजीकृत गर्दै नयाँ कार्ययोजनाका साथ अघि बढ्न जति ढिला भएपनि ढोकै बन्द भएको भने छैन । तर यसका लागि नेतृत्वमा उच्च आत्मविश्वास चाहिन्छ । कांग्रेस नेतृत्वमा आत्मविश्वास छ कि छैन स्वयं नेतृत्वले महसुस गर्ने र आवश्यकता अनुरूप प्रदर्शन गर्ने कुरा हो । यसमा छुट्टै बहस गरौंला । पार्टीका आमसदस्यमा अझै आत्मविश्वास र नैतिक बल बाँकी नै छ । कांग्रेसले नेपालका अन्य राजनीतिक दलसामु निरीह भएर खुम्चिनुपर्ने कुनै कारण छैन ।
समयले सबैलाई सधैंभरि मौका दिँदैन । संसद्को सबैभन्दा ठूलो दल भएर पनि यतिबेला कांग्रेसलाई केन्द्रीय सत्ताबाट अवकाश मिलेको छ । यसलाई भाग्यको कुरा पनि मान्नुपर्छ । र, यस अवकाशलाई अवसरमा बदल्न सक्नुपर्छ । यसका निम्ति गल्ती कमजोरी स्वीकार्न लाज र शंकोच मान्नु हुँदैन ।
यो महान् लोकतान्त्रिक गुण हो । यसको अभावमा व्यक्ति वा संस्था लोकतान्त्रिक कहलिन सक्दैन । चरित्र र व्यवहारले सिद्ध नगरी सच्चा लोकतन्त्रवादी बन्न सकिँदैन । त्यसैले विगतबाट शिक्षा लिँदै आगामी यात्रा तय गर्नुपर्छ ।
उपनिर्वाचनको सन्देश
राजनीतिमा कहिलेकाहीँ संख्याको महत्त्व हुन्छ र कहिलेकाहीँ सन्देशको । चुनावमा पराजित भएपनि भर्खरै सम्पन्न निर्वाचनले कांग्रेसजनका लागि एउटा महत्त्वपूर्ण र सकारात्मक सन्देश पनि दिएको छ । ०६३ पछि नेपाली राजनीतिमा देखिएको जात्रा, गञ्जागोल र भद्रगोल अब धेरै दिन रहँदैन कि भन्ने थोरै आश पलाएको छ । एकप्रकारले नेपालका सबैजसो राजनीतिक शक्तिहरूले एकसाथ आक्रमण गर्दा र आन्तरिक अव्यवस्थाका बावजुद पनि कांग्रेस सतिसालजस्तो एक्लै उभिएको छ र भविष्यमा पनि उभिन सक्छ भन्ने सन्देश दिन सफल भएको छ ।
यसपटक सिट गुमाएर पनि कांग्रेसले आर्जन गरेको राजनीतिक साख यही हो र पार्टीले यसलाई पनि पुँजीकरण गर्नुपर्छ । र, पार्टीको आन्तरिक जीवनलाई थप सशक्त तुल्याउन केन्द्रदेखि टोलसम्म पुनर्जागरण अभियान चलाउनुपर्छ । यसले धेरै वर्षदेखि जमेको दुर्गन्ध र फोहोरलाई क्रमिक रूपमा विसर्जन गर्दै नयाँ आशा र सुगन्ध भर्नेछ । अर्को कुरा पार्टीमा हराएको विवेकलाई फर्काउनु पर्छ । विवेकहीनताले ग्रसित भएकाले नै मौजुदा दुःख बेहोर्नुपरेको हो । विवेकको पुनःस्थापनाले पार्टीभित्र न्यायको मुना पलाउनेछ । यसले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नेछ र कांग्रेसले दीर्घ जीवन पाउने छ ।