२६ असार २०८३, शुक्रबार
नगरकोटी परिवार प्रकरण

जब बाबुले आत्महत्या कसरी गर्ने भनेर छोरालाई सिकाए !

गरिबीका कारण तीन महिनादेखि ट्याक्सीमा बास
जेठ ८, २०८१
काठमाडौं
जब बाबुले आत्महत्या कसरी गर्ने भनेर छोरालाई सिकाए !

प्रहरीलाई कहिलकाहीँ यस्ता घटना आइलाग्छन्, अनुसन्धान गर्दा कति पत्याउने, कति नपत्याउने हुन्छ । यस्तै घटना भयो, मंगलबार बिहान कागेश्वरी मनहरा नगरपालिका– ५ स्थित मिलनचोक ओरालोमा मृत भेटिएका कृष्ण नगरकोटीको शवबारे अनुसन्धान गर्दा । 

मुखमा कपडा कोचिएको र प्लेडले घाँटी रेटिएको अवस्थामा नगरकोटीको शव भेटिएको थियो । शुरूमा प्रहरी अनुसन्धानको सुई नगरकोटीको कसैले हत्या गरिदियो कि भन्ने थियो । बन्दै गरेको सडकको पर्खालनजिकै मृत भेटिएका नगरकोटी को हुन् भन्ने पत्ता लगाउन प्रहरीलाई केही समय लाग्यो । नगरकोटीको खल्तीमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) भेटियो । 

केही ‘क्लू’ मिलेपछि प्रहरी परिसर काठमाडौं र बौद्ध वृत्तले विस्तृत अनुसन्धान थाले । यो घटनाको अनुसन्धान हुँदै गर्दा फर्पिङ प्रहरीले चोभारको चाल्नाखेलमा एउटा युवा आत्महत्याको प्रयास गर्दैगर्दा नियन्त्रणमा लिएको थियो । सोमबार साँझ ५ बजे नियन्त्रणमा लिइएका युवा अरु कोही नभएर कृष्णकै छोरा रिचेन थिए । कृष्णको शवको मुचुल्का तयार पर्दाको रिपोर्ट हेर्दा रिचेनले आत्महत्या प्रयास गर्दाको तरिका उस्तै देखियो । त्यतिबेलासम्म रिचेन कृष्णका छोरा हुन् भन्ने खुलिसकेको थियो । 

मंगलबार बिहान नगरकोटीको शव फेला परेपछि काठमाडौं प्रहरीले आन्तरिक सर्कुलर गर्दा फर्पिङ प्रहरीले उस्तै प्रकृतिको घटनासँग मिल्दो रिचेन उद्धार गरेको खुलेपछि काठमाडौं परिसरमा सोधपुछका लागि ल्याइयो । रिचेनले कृष्ण आफ्ना बाबु भएको बताए । उनले त्यतिमात्रै बताएनन्, बाबुले नै आत्महत्याको तरिका सिकाएर दुईवटा ब्लेड र १२५ रुपैयाँ दिएको खुलाए । बुवाले दक्षिणकालीको जंगलमा गएर ‘आत्महत्या गर्नु म पनि कुनै स्थानमा गएर आत्महत्या गर्छु’ भनेर पठाएको प्रहरीमा रिचेनको बयान छ । 

रिचेनकै सूचनाअनुसार प्रहरीले उनकी दिदी रश्मिलाई सेतोपुलबाट नियन्त्रणमा लियो । रश्मिको हाउभाउ अलि असाधारण देखियो । मानसिक रुपमा साधारण नदेखिएपछि प्रहरीले रश्मिलाई उनका बाबुको मृत्यु भएको कुरा सुनाएनन् । प्रहरीले सोधेको हरेक जवाफ दिँदै आएकी रश्मि आफूले दुई वर्षअघि विवाह गरेको र श्रीमान् साइकोलोजिस्ट डाक्टर रहेको बताउँछिन् । प्रहरीले भनेअनुसार सम्बन्धित अस्पतालमा बुझ्दा उनले भनेको नामको डाक्टर भेटिएनन् । पशुपति क्याम्पसमा कक्षा १२ सम्म पढेको र आफ्नो घर भक्तपुर छालिङ भएको बताउने रश्मिले आफूहरू कुनै गरिब परिवारको होइन भनेर जवाफ दिँदै आएकी छिन् । 

ट्याक्सी चलाउने कृष्णले रविभवनस्थित गणेशस्थान नजिकै डेरा लिएका थिए । विगत तीन महिनादेखि डेरा नगएका उनले छोराछोरीलाई ट्याक्सीमै डुलाउने र रातिसमेत त्यसमै सुत्ने गरेका थिए । रिचेन र रश्मिले प्रहरीमा भनेअनुसार डेराभाडा रकम तिर्न नसकेर उनीहरू बाबुसँग ट्याक्सीमै बस्दै आएका थिए । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार रिचेन र रश्मि दुवैको मानसिक अवस्था साधारण छैन । प्रहरीले सोधेका प्रश्नको जवाफ नअड्किकनै दिँदै आएपनि पत्याइहाल्ने खालको नरहेको एक प्रहरी अधिकृत बताउँछन् । रिचेनले प्रहरी बयानमा खुलाएअनुसार उनका बाबु कृष्णले अब भगवानको घरमा जाने हो भन्दै दुईवटा ब्लेड दिएका थिए । काठमाडौं परिसरमा प्रहरीले बयान लिँदै गर्दा भेटिएकी रश्मिले आफू बाबु आउने आशामै राति मैतिदेवी मन्दिरमा गएर सुतेको र बिहान पख मात्रै बाबु कृष्णले चलाउने बा १ ज ९६५ नम्बरको ट्याक्सीमा आएर बसेको खुलाएकी छिन् । प्रहरीका अनुसार उनी सामान्यजस्ती देखिन्नन् । अनुहारमा कुनै थकान पनि देखिँदैन । उनले हातमा रातो पोलिस, चुरा र नाइलनको घाँगर लगाएकी छिन् । प्रहरीले किन ल्याएर सोधपुछ गरिरहेको छ भन्नेसम्म पनि रश्मिलाई थाहा छैन । रश्मि र रिचेनलाई फरक–फरक कोठामा राखेर प्रहरीले सोधपुछ गरेको थियो ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारी घटना आश्चर्यजनक मात्रै नभएर गरिबीको पीडासँगै असाधारण मानसिक अवस्थाबाट सिर्जित भएको हुनसक्ने बताउँछन् । ‘कृष्ण नगरकोटीको त मृत्यु भइहाल्यो, तर, उनका दुई सन्तान रिचेन र रश्मिको अवस्था पनि सामान्य छैन,’ उनले भने ।  

दुवैलाई मानवसेवा आश्रममा बुझाउने तयारी भइरहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्