![नियो चाइल्ड सेन्टरको वार्षिकोत्सव: फरक क्षमता भएका बालबालिकाको प्रस्तुति, माहोल बन्यो भावुक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/neo_child_main_RBNK94GH1j.jpg)
फरक क्षमता भएका बालबालिकालाई लक्षित गरेर खोलिएको नियो चाइल्ड केयर सेन्टरले आफ्नो वार्षिकोत्सव मनाएको छ । सेन्टरले शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कलाकार दीपकराज गिरीले फरक क्षमता भएका बालबालिकालाई हेरचाह र माया दिने अभिभावकप्रति सम्मान व्यक्त गरे ।
‘कतिपय ठाउँमा मैले फरक क्षमता भएका बालबालिकाका अभिभावक दिक्क भएको पनि देखेको छु । तर आज यहाँ बुवा-आमाले आफ्ना बच्चाको धेरै केयर गरेको पाएँ, त्यसैले तपाईँहरूलाई मेरो तर्फबाट सलाम छ,’ उनले भने ।

त्यस्तै सञ्चालक तथा कार्यकारी निर्देशक समिद कतिला श्रेष्ठले नियो चाइल्ट सेन्टरमा पठाएका आफ्ना बालबालिकाप्रति थप जिम्मेवार हुन अभिभावकलाई आग्रह गरे ।
‘छोराछारीलाई थेरापी गराएको छु, फरक क्षमता भएकालाई पढाउने विद्यालयमा पठाएको छु भनेर ढुक्क नहुनुहोस्, आमा-बुवाले घरमा पनि उनीहरूको हेरचाह गर्नु पर्नेछ । नत्र कुनै किसिमको सुधार बच्चामा नहुन पनि सक्छ,’ उनले भने ।
३५ जनालाई भर्ना लिएर शुरू भएको यस संस्थामा अहिले ८० जना बालबालिका रहेको उनले जानकारी दिए । उक्त चाइल्ड सेन्टर ३ देखि १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर ‘थेरापिस्ट’हरूले खोलेका हुन् ।
कार्यक्रममा राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुबिना क्षेत्रीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अथितिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा फरक क्षमता भएका बालबालिका र तिनका अभिभावकले गीत, नृत्य र नाटकजस्ता विविध प्रस्तुति दिएका थिए । कतिपय अवस्थामा यसले कार्यक्रमको माहोल भावुकसमेत बनाएको थियो ।

थप तस्वीरः



हेरौं भिडियोः