
काठमाडौंको लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
कलेजले सामाजिक दायित्वअन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धतिको खोजी गर्ने अभिप्रायले शनिबार जनकपुरधाममा एकदिने कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठीमा जनकपुरधामका विभिन्न कलेज, स्कूल तथा विश्वविद्यालयका शिक्षकहरूलाई राखेर शिक्षण सिकाइको उत्कृष्ट पद्धतिको विषयमा गोष्ठीकै माध्यमले छलफल गरिएको थियो ।
जहाँ शिक्षण सिकाइमा देखिएका चुनौती, विश्वमै रहेको उत्कृष्ट शिक्षण सिकाइका पद्धतिहरूको विषयमा चर्चा गरिएको लिटल एन्सजल्स कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक मित्रबन्धु पौडेलले बताए ।
उनले कुनै क्षेत्रको विकासका लागि त्यहाँको मौलिकताका विषयमा विद्यालय स्तरबाटै विद्यार्थीमा ज्ञान हुनु आवश्यक रहेको उल्लेख गरे ।
यसका साथै जनकपुरधाममा शिक्षण सिकाइको क्षेत्रमा थुप्रै काम गर्न बाँकी रहेको पौडेलले बताए ।
अहिले पनि यहाँका विद्यालय विद्यार्थीको सर्वांगीण विकासको दिशामा काम गर्नुको साटो परीक्षाकेन्द्रित शिक्षामै लागेकोमा उनले गुनासो गरे ।
डा. मित्रबन्धु पौडेल र डा. स्मृतीकला पन्तले कार्यशालाको सञ्चालन गरेका थिए ।
लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो ।