
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आजका लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार सर्वोच्चमा दर्ता भएको थियो ।
रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
रिटमा रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको मागसमेत गरिएको छ ।
शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो ।
सोही आदेशबमोजिम सोमबार रिट दर्ता भएको हो । लामिछाने पदमा रहिरहँदा सहकारी ठगी प्रकरणको छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ ।
सुप्रिमसहित विभिन्न सहकारीका बचतकर्ताको रकम रविसमेतको संलग्नतामा गोरखा मिडियामा ल्याएर दुरुपयोग गरेको आरोप छ । यसबारे छानबिन गर्न संसदीय समिति समेत बनिसकेको छ ।