
लेखक क्रान्ति पराजुलीको नयाँ उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ बजारमा आएको छ ।
काठमाडौंको मण्डला थिएटरमा मंगलबार आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पराजुलीको दोस्रो उपन्यास संग्रह ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक गरेका हुन् ।
खनालले युवा भावना लक्षित उपन्यासले युवा वर्गमा सकारात्मक उर्जा दिलाउने बताए ।
नेपाली वाङ्मयमा क्रान्तिको कृति नौलो रहेको उनको भनाइ छ । नेपाली समाजले चाहेका, र युवाहरूले भोग्नुपरेको समस्या, सोच, चिन्तन र परिवेश केलाएको उपन्यासले धेरैलाई प्रेरित गर्ने उनले बताए ।
पुस्तकमा आदर्श प्रेम दर्शाउन खोजिए पनि नेपाली समाजले भोग्नुपरेका, बेथिति, अन्याय, अत्याचार, विकृति जस्ता धेरै विषयलाई सतहमा ल्याएको छ ।
लेखक राजकुमार बानियाँले पराजुलीको नवीन कृतिले पाठकलाई निरन्तर बाँधिरहने बताए । उपन्यास युवाको आदर्श प्रेममा आधारित भए पनि यसका सन्देश देशको धेरै परिस्थितिलाई बुझाउने खालका रहेको टिप्पणी गरे ।
कार्यक्रममा उपन्यासकी लेखक पराजुलीले युवालाई देशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा मिल्नेमा आफू आशावादी रहेको बताइन् ।
चौतर्फी निराशाका बीच आशाका गोरेटो निर्माण गर्ने पात्रका रुपमा स्वप्नद्रष्टालाई कृतिमा उतारिएको छ ।
कांग्रेस नेता शोभाकर पराजुलीले ‘प्रिय स्वप्नद्रष्टा’ प्रगतिवादी उपन्यास रहेको बताए । ४७५ रुपैयाँ मूल्य रहेको उपन्यास शिखा बुक्सले प्रकाशित गरेको हो ।
लेखक पराजुलीका यस अघि ‘डिलको डोब’ उपन्यास प्रकाशित भइसकेको छ ।
